अख्तियारलाई प्रधानमन्त्रीको आग्रह : टाउकोको माया छैन भनेर धम्की दिनेसँग नडराउनू
अख्तियार सरकारको लाचार छाया नभएको जिकिर

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको ढुकुटी रित्याएर आफ्नो गोजी भर्न नदिने गरी सक्रिय हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन्। अख्तियार दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

'राज्यको ढुकुटी रित्याएर आफ्नो गोजी भर्न दिनु भएन, मानिसहरुको  मनोवृत्ति भ्रष्टाचारी नहोस्', उनले भने, 'भ्रष्टाचार गर्ने अवसर नै मान्छेलाई दिनु भएन। त्यति गर्दा पनि भ्रष्टाचार गरेमा कानुनी कारवाही गर्ने निकाय छन।'

उनले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतका ३० वर्षमा भ्रष्टाचार घटाउन धेरै काम गरेको पनि बताए। 'कहिले कहिले भ्रष्टाचार नियन्त्रण गर्नेभन्दा अनुचित रुपमा प्रस्तुत भएको पनि देखियो', उनले भने, 'कानुनको नजरमा सबै बराबर  छन्। अख्तियारले आफूले कदम चाल्नुअघि अत्यन्तै निष्पक्ष मनका साथ काम गर्नुपर्छ। अख्तियार कुनै पनि हिसाबले  पक्षपाती हुनु भएन। जससँग दोषी र अपराधी त्रसित हुन्, भ्रष्टाचार नगरेकाले  डराउने अवस्था नहोस्। अख्तियार त्रासको होइन, संरक्षणको थलो हुनुपर्छ।'

भ्रष्टाचार घटाउने अभियान अरुलाई देखाउन नभइ आफ्नो समाज स्वच्छ बनाउन चालिनुपर्ने उनले बताए। 'भ्रष्टाचार अरुलाई देखाउन होइन समाजलाई स्वच्छ बनाउन घटाउने हो। हामीलाई यो बीचमा काम गर्न निकै कठिन भयो', उनले भने, 'भ्रष्टाचार घटाउन जागरण र जनचेतनाका कयौँ प्रयास सरकारले गरेको छ।'

उनले  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाललाई पनि सहयोगी हुन आग्रह गरे। 'आफ्नो बडप्पन देखाउन यसलाई प्रयोग गर्ने होइन। सबैलाई हिलो छ्याप्न खोजिनु पनि गलत छ', उनले भने, 'भ्रष्टबाहेक यो देशमा कोही जन्मिँदैन भन्न खोजिएको छ। स्वच्छ मानिस पनि जन्मिन्छन् यो देशमा।'
 
ओलीले सबै कर्मचारी र सबै राजनीतिकर्मी भ्रष्ट नरहेको पनि जिकिर गरे। 'भ्रष्टाचार रोक्न अख्तियारको सक्रियता बढिरहेको छ। कतिपय मानिसहरुलाई परेको छ, भ्रम छ तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाचार छायाँ होइन', उनले भने, 'कुनै पनि निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन्छ यो सरकार।'

उनले कसैको धम्कीबाट नडराइ काम गर्न पनि अख्तियारका अधिकारी र कर्मचारीलाई आग्रह गरे। 'कसै कसैले टाउकोको माया छ कि छैन भनेर धम्की दिनुको कुनै अर्थ छैन', उनले भने, 'तपाईंहरु त्रासबाट मुक्त भएर काम गर्नुस्। समाजमा आपराधिक तत्व पनि हुन्छन्। उनीहरुलाई सरकारले कानुनी दायरामा ल्याउनेछ।'





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १३:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया