काठमाडौं : देशमा पछिल्लो समय महिलामाथि भइरहेका बलात्कारसहितका हिंसाका घटनाविरुद्ध वसन्तपुरदेखि भद्रकालीसम्म मार्चपास गरिएको छ। महिलामाथिका हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतीकात्मक शवसहित वसन्तपुरदेखि भद्रकालीसम्म मार्चपास गरेको हो।
महिलामाथि निरन्तर हिंसा बढिरहँदा पनि सरकारले दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै मार्च पासमा सहभागीहरुले आक्रोश पोखेका छन्। उनीहरुले न्याय चाहियो, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाएका थिए। सेतो धोती लगाएर टाउकोमा पनि सेतो कपडा बेरेका युवाहरुले प्रतीकात्मक शव बोकेर शव यात्रामा निस्किएका थिए।
यो मार्च पासमा अधिकांश सहभागी महिला र किशोरीहरु थिए। हिंसा र बलात्कारविरुद्ध आवाज उठाउँदै प्रतीकात्मक शव र मलामीसहित उनीहरुले मार्च पास गरेका हुन्। कालो कपडा लगाएर मार्चमा सहभागी महिलाले सरकारले हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटना बढ्दै गएको भन्दै आक्रोश पोखेका छन्।
उनीहरुले प्रतीकात्मक रुपमा शवयात्राका क्रममा एकोहोरो शंख बजाउँदै प्रतिनिधिसभा विघटनको पनि विरोध गरेका थिए। वसन्तपुरदेखि अघि बढेको यो जुलुस न्युरोड गेट, रत्नपार्क, भृकुटीमण्डप हुँदै भद्रकालीमा आएर निषेधाज्ञा क्षेत्र नजिकै कोणसभामा परिणत भएको थियो।
यो मार्चपासमा सहभागीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायत न्याय मागेका थिए। यस कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी र राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी पनि सहभागी थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।