प्रदेश २ ले स्वास्थ्य क्षेत्रमा चाँडै फड्को मार्छ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका छन् ।

प्रादेशिक अस्पताल भित्रै मुख्यमन्त्री राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रतिष्ठानको कार्यालयको उद्घाटन सँगै प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुडकिलो पार गरेको भन्दै खुसी व्यक्त गरे । उनले प्रदेश २ स्वास्थ्यको सूचकांकमा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने वर्षौं पुरानो आकांक्षा अब पूरा हुनेछ । यो हाम्रो सुरुवात मात्रै हो, विस्तारै यहीँ पनि एमबिबिएस, एमडी लगायतको पढाइ हुनेछ ।’

राउतले एमडी र एमएसको अध्ययन गर्न ३५/४० वर्ष उमेर कटे पनि यहाँ आउँदा काम गर्ने वातावरण नरहेको बताए । दरबन्दी नरहेको र रहे पनि राख्ने प्रक्रिया, स्थायी गर्नुपर्ने प्रक्रिया झन्झटिलो रहेको उनले बताए ।

मुख्यमन्त्री राउतले चिकित्सकको काम गर्ने वातावरण बनाउनका लागि कम्तीमा डेढ लाख तलब दिने वातावरण तयार गर्नुपर्ने बताए । उनले भने, ‘चिकित्सकलाई व्यवस्थित गर्न कानुन नै बनाउनुपर्छ । चिकित्सकको कम्तीमा डेढ लाख ज्याला र तिनीहरूको सन्तानका लागि शिक्षाको व्यवस्था गर्नुपर्छ ।’



कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशवासीका लागि ठूलो सपना पूरा भएको बताए । उनले यस प्रतिष्ठानको स्थापनाले प्रदेशका अस्पतालहरूमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगहरूको उपचार नहुनु लगायतका समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले अस्पतालहरूमा आवश्यक चिकित्सकको नियुक्ति आफैं गर्न सक्नेगरी ऐन निर्माण भइरहेको जानकारी समेत दिए । मन्त्री साहले यस प्रतिष्ठानको स्थापनाले रोजगारीको ठूलो अवसर समेत प्रदान गर्ने बताए ।



कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले प्रदेश २ मा स्वास्थ्य क्षेत्रको अवस्था दयनीय भएको बताउँदै सेवाको स्तर सुधारका लागि हरसम्भव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.रामकेवल साहलाई मुख्यमन्त्री राउतले शपथ ग्रहण गराएका थिए भने रेक्टर डा. अंकुर साह र रजिस्टार डा. विनोद यादवलाई सहकुलपति सामाजिक विकास मन्त्री साहले शपथ गराए ।

प्रदेश सरकारले माघ १८ गते मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा.रामकेवल साह, रजिस्टारमा डा.विनोद यादव र रेक्टरमा डा.अंकुर साहलाई नियुक्त गरेको थियो ।

प्रदेश २ को प्रदेशसभाबाट कात्तिक २ गते पारित भई आएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख तिलक परियारले गत कात्तिक २५ गते प्रमाणीकरण गरेका थिए ।

  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १९:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया