ओलीको टिप्पणी : सभामुख सरकार विरोधी झगडिया, उपराष्ट्रपति भाषण गर्दै हिँडे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई सरकार विरोधी झगडियाको संज्ञा दिएका छन्। विराटनगरमा शनिबार आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

'सभामुखलाई आफ्नो संवैधानिक मर्यादा र जिम्मेवारीको मतलब छैन। सभामुख त सरकार विरोधी झगडिया हुन्', उनले भने, 'सभामुख सरकारसँगका झगडिया भएका छन्। जसले किर्ते हस्ताक्षर र सनाखत गरेका छन्, उनै संविधान मासियो भन्दै हिँडेका छन्।'

सभामुखमाथि प्रधानमन्त्रीको आक्रोशको मुख्य कारण थियो अविश्वास प्रस्तावको समय। ओलीले एउटा समयमा दर्ता अविश्वास प्रस्ताव अर्को समयमा भनेर सभामुखले किर्ते सनाखत गरेको आरोप लगाए।

'पुस ५ गते दिउँसो साढे ३ बजे प्रधानमन्त्रीमाथि संसदमा दर्ता गर्न लगेको अविश्वासलाई बिहान १० बजेर ४० मिनेटमा भनेर किर्ते सनाखत गरेका छन् सभामुखले', उनले भने, 'किर्ते सनाखत गर्नेहरु नै अहिले सरकार विरोधी झगडिया बनेर निस्किएका छन्, संवैधानिक मर्यादा भुलेर।'

उपराष्ट्रपतिमाथि कटाक्ष

ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि कटाक्ष गर्न भुलेनन्। उपराष्ट्रपतिलाई संवैधानिक मर्यादा भुलेर भाषण गर्दै हिँडेको आरोप ओलीले लगाए।



'उपराष्ट्रपति सरकारविरुद्ध भाषण गरेर हिँडेका छन्। उहाँको पदले भाषण गरेर हिँड्न दिन्छ?', ओलीले सोधे, 'संविधान मासियो भन्दै हिँडिरहनु भएको छ। उहाँ त चुनाव नगराउने पृष्ठभूमिबाटै आउनु भएको हो। उहाँलाई यो कुरा त थाहा हुनुपर्ने हो। सरकार त चुनाव गराउन लागिरहेको छ। तर पनि हाम झगडिया होइनौँ।'



  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १६:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया