ओली समूहका नेताको गाडी तोडफोड, माधव-प्रचण्डका कार्यकर्ताले दिएका थिए धम्की

 काभ्रेको को चौँरीदेउराली गाउँपालिका–५ मा नेकपा ओली समूहका केन्द्रीय नेता चढेको गाडी गएराति तोडफोड गरी आगजनी प्रयास गरिएको छ । वडा कमिटी विस्तार गर्न सोमबारको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड गरिएको हो।

करिब दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०:३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो। 

गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए । 'पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै त्यही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रिएपछि उक्त समूह भागेको थियो', उनले भने। केन्द्रीय सदस्यहरू आइतबार चौंरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेका थिए ।

उक्त घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रिता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायत १६ जनाको टोली बास बसेको थियो। 

उक्त आक्रमणकारी समूहले अर्को स्थान बिरुवामा समेत नेता बास बसेको तिलक गौतमको घरअगाडि राति पटक पटक आएर धम्की दिएको उनीहरुले बताएका छन्।  यसअघि नै उनीहरुले चौंरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल-नेपाल समूहका नेताले धम्की दिइरहेका थिए ।

‘हाम्रो रगत बगेको ठाउँमा अरु कसैले कार्यक्रम गर्न पाउँदैन’ भन्दै धम्कीपूर्ण भाषामा दाहाल-नेपाल समूहका स्थानीय जनप्रतिनिधि एवम् नेताले आफूहरुलाई धम्क्याउँदै आएको नेता गौतमले बताए। उनका अनुसार गाउँपालिका अध्यक्ष दीनानाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका छन्।



पूर्वमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल प्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। 'छापामार शैलीमा आक्रमण भएको छ, जनमत घटेपछि गरिएको यस्तो जङ्गली हर्कत सफल हुने छैन, विरोध गर्न पाइन्छ तर विरोधका नाममा आक्रमण होइन', बाँस्कोटाले भने। उनले सामाजिक सञ्जालमार्फत नेकपाकै अर्को समूहलाई ‘नाङ्लो नठटाउन भन्छु, हामी सामना गर्छौँ भाग्दैनौँ,’ भने ।

कोशीपूर्वस्थित उक्त गाउँपालिकामा ओली समूहले संगठन विस्तार गरिरहेको अवस्थामा कार्यक्रम नगर्न धम्की आइरहेको चौँरीदेउराली गाउँपालिका निवासी एवम् युवा संघका जिल्ला संयोजक विक्रम चौलागाईंले बताए। 



उनका अनुसार गाउँपालिकाको कात्तिके देउराली र विर्तादेउरालीमा कार्यक्रम नगर्न र गरे आक्रमण हुने धम्की दिएका थिए। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवनकुमार झाले घटनाबारे अनुसन्धान भइरहेको बताए।

  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार ११:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया