मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ७० कविका कविता

अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ मा छानोटमा परेका ७० कविका कविता वाचन गरिएको छ । नेपालभित्र बोलिने विभिन्न ५६ राष्ट्रिय भाषाका कविता वाचन गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषाहरूको संरक्षण र संवर्धनमा राज्य र सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताए । ‘हाम्रो मौलिक भाषामा भएको अतिक्रमणलाई स्वीकार्न गाह्रो हुन्छ’, उनले भने, ‘बिस्तारै विभिन्न जातजातिमा मौलिक भाषा बोल्नेको सङ्ख्यामा कमी आइरहेको छ, कतिपय भाषा लोप भइसकेका छन् भने कतिपय लोप हुने अवस्थामा छन्, तिनको संरक्षण गर्नु राज्यको दायित्व हो ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बुहभाषा, बहुसंस्कृति र बहुलता मुलुकको विशिष्ट पहिचान भएको उल्लेख गर्दै मातृभाषा र मातृभाषा साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठान गम्भीरतापूर्वक लागिपरेको बताए । उनले आगामी वर्षमा अझै भव्य र सार्थक रुपमा महोत्सव आयोजना गरिने प्रतिबद्धता प्रकट गरे । 
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको सम्पत्ति भनेकै जातजातिका विविध संस्कार, संस्कृति र मातृभाषा भएको धारणा व्यक्त गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्यायले कविता वाचन सत्रको अन्त्यमा सांस्कृतिक झाँकी प्रस्तुत गर्ने समूहहरू र मातृभाषामा कविता वाचन गर्ने कविहरूलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।

युनेस्को काठमाडौँसँगको सहकार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७ को आयोजना गरेको हो ।



कार्यक्रममा अतिथि कवि रामनारायण देवले मैथिली भाषामा ‘मिथिला महान्’ शीर्षकको कविता वाचन गरी कविता महोत्सवको आरम्भ गरेका थिए ।

उक्त कविता महोत्सवमा अवधीमा आरती पटेल र राकेशकुमार यादव, अठार मगर खाममा राकेश बिएम ‘चिन्तन’, आठपहरियामा विमला आठपहरिया, उर्दुमा अब्दुल करिम मुसलमान, उराँवमा संगीता उराँव, कुमालमा पशुपति कुमाल र रमा कुमालले कविता वाचन गरेका थिए । 



यसै गरी कुलुङमा मनुहाङ किराँती, केवरतमा रमेश केवरत, खस जुम्लीमा जगत वाशिष्ठ, खस हुम्लीमा लक्ष्मी ऐडी, गुरुङमा तेजबहादुर गुरुङ, गोपालीमा रूपचन्द्र गोपाली, घलेमा चन्द्र घले, चाम्लिङ राईमा जीवनजित चाम्लिङ, बुङातङ राईले आफ्ना रचना वाचन गरे । 

चेपाङमा नेपोलियन चेपाङ, छन्त्यालमा अरुणा छन्तयाल, छलङ राईमा नरेन्द्र कश्चित्, जिरेलमा डिवी जिरेल, जेरुङमानैनसटाल्चु जेरुङ,डगौरा थारूमा उर्मिला गम्वा थारू र भीमेशकुमार चौधरीले कविता सुनाए । 

ढुट मगरमा अमृता थापा मगर, ताजपुरियामा    तीर्थकुमार ताजपुरिया, तामाङमा कविराज तामाङ र जीवन लामा यात्राले कविता गाए । 

तीन गाउँले थकालीमा रामबहादुर थकाली, थामीमा कुन्ती थामी, दुङमाली राईमा करुणा राई, दुमीमा  तेजमाया दुमी राई, दुरामा नन्दकुमारी दुरा, देवास राईमा विष्णु देवास राई, धिमालमा निशा धिमाल, नाछिरिङमा प्रतापसिंह नाछिरिङ, नेपाल भाषामा आर मानन्धर, लक्ष्मीलोचना वैद्य र नरेश अमात्यले रचना वाचन गरे । 

पूर्वी थारूमा सन्दीपकुमार चौधरी, बज्जिकामा रामचन्द्र महतो कुशवाहा, बान्तावा राईमा दीपक बान्तावा र दिलु राई, बायुङ राईमा कर्ण बायुङ राई, भोजपुरीमा चन्दनकुमार साह, पञ्चराम मौर्य, मौसमी कुशवाहाले कविता वाचन गरे ।

मगहीमा भुवनेश्वर महतो कोइरी, माझीमा अनिता माझी, मारवाडीमा निर्मला जोशी शर्मा, मुगालमा आङ्ग्याल लामा, मैथिलीमा स्वतन्त्रकुमार कर्ण र कञ्चना झा, याक्खामा    हेन्सेन याक्खा, राजवंशीमा अञ्जु राजवंशी, राना थारूमा वासमती रानाले कविता पढे । 

लिम्बूमा लक्ष्मीप्रसाद मादेन ‘मुक्सुम’ र पुष्पहाङ लोवा, लोहोरुङमा दिवस राई, ल्होमीमा छिन्चिप्पा ल्होमी, वाम्बुले राईमा मुना वाम्बुले राई र सोनाम सज्जन किराती, शेर्पामा लाक्पा शेर्पा, सन्थालमा शिवु मुर्मु, सुनुवारमा शोभा सुनुवार, संस्कृतमा डा. महानन्द तिमिल्सिनाले आआफ्ना रचना सुनाए । 

हायुमा गुना हायु र ह्योल्मो भाषातर्फ टासी दोङ्वा ह्योल्मोका कविता वाचन गरिएका थिए । महोत्सवमा केही कवि भने जुममार्फत सहभागी भएका थिए ।

महोत्सवमा धिमे बाजा– बज्रकला कुञ्ज, च्याबु्रङ– याक्थुम केलाङ सयङ, सखिया– चम्पन सांस्कृतिक समूह, शेर्पा– हिमालयन शेर्पा सांस्कृतिक कला केन्द्र, सेमुना साकेन्वा–सेमुना साकेन्वा सांस्कृतिक समाज (बान्तावा राई), धिमाल–धिमाल जाति विकास केन्द्र, नेपाल, घले– लिल फङ, देउडा– सैपाल सांस्कृतिक कला केन्द्र, हुर्रा– मगर हुर्रा तथा संस्कृति संरक्षण केन्द्र, साकेला– किरात राई यायोक्खा, काठमाडौं (किरात राई), गुरुङ– अठार सय तमु समाज, गोरखा, होरी– भोजपुरी प्रज्ञा प्रतिष्ठान, केइ लाक्मा– किरात याक्खा छुम्मा, काठमाडौँ, तामाङ– ताम्बा सङ्घ, नेपाल, सुनुवार– सुनुवार सेवा समाज र दुरा– दुरा सेवा समाजले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । 

कार्यक्रममा मुलुकभरिको प्रतिनिधित्व गरी आएका जातजाति एवम् मातृभाषी समूहको पहिचानसहितको वेषभूषा र सांस्कृतिक विशेषता झल्कने १६ ओटा समुदायका बाजागाजासहितको सांस्कृतिक झाँकी प्रदर्शन गरिएका थिए ।

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १९:४५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया