एलपिएल प्रतियोगिता : न्यू एकेडेमी र हिमालयन ह्वाइट हाउस विजयी

धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत सोमबार भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् । 

आज भएको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७० रन बनायो ।

उसका लागि अंकित बिएमले ३३, सन्दीप विष्टले ३१ र सुवास थापाले ३० रन बनाए । बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले ३, विजय विश्वकर्मा र यकुव मियाले २-२ विकेट लिए । १७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्डसले १७ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो ।

उसका लागि खुम चौधरीले अविजित रहँदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । रोजी बर्ड्सलाई सस्तैमा समेट्ने क्रममा न्यू एकेडेमीका सन्दीप विष्टले ३, सुरेश रावल र अनिल थापाले २-२ विकेट लिए । खेलका म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दीप विष्ट भए ।

प्रतियोगिता अन्तर्गत सोमबार नै भएको दोस्रो खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ राेजेको लिटल बुद्धले १७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो । उसका लागि रोयल बम र राजेश ऐरले १५-१५ रन बनाए ।

हिमालयन ह्वाइट हाउसका लागि गजेन्द्र बोहराले ५ र सन्दीप शाहीले ३ विकेट लिए । ७३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हिमालयन ह्वाइट हाउसले ११ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि दीपक बोहराले अविजित ५० र निश्चल थापाले १९ रनको योगदान दिए । बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले १-१ विकेट लिए । खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा भए ।



लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भइरहेको पाँचौँ संस्करणको प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।



  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १८:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया