राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी छन् । भण्डारी आज सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान बंगलादेश प्रस्थान गरेकी हुन् । 

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी ए ३२० जहाजमार्फत ढाका प्रस्थान गरेकी छन् ।

भण्डारी ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । त्यहाँ पुग्दा उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले स्वागत गर्नेछन् । 

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ । सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा सहिदप्रति श्रद्धाञ्जलीका लागि पुग्नेछिन् । उनले सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण दलमा को–को ?



राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा.हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा.भेषराज अधिकारी रहेका छन् । 

यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञ बहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा. कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा रहेका छन् । भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी रहेका छन् ।



  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार ८:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया