नेकपा एमालेका एकजना नेता माधवकुमार नेपाल अब केपी शर्मा ओलीलाई हटाएर केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन्।
पोखरामा बिहीबार आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी शर्मा ओलीलाई हटाएर नयाँ कमिटी गठन गर्ने घोषणा गरेका हुन् ।
नेता नेपालले जिल्ला जिल्लामा संगठित हुन पनि कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले कमिटीका बैठकहरू नियमित गर्न पनि निर्देशन दिएका छन्। उनलाई र नेता भीम रावललाई नेकपा एमालेले स्पष्टीकरण सोधेर ६ महिनाका लागि निलम्बन गरिसकेको छ।
‘अब चाँडै केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौँ, जिल्लामा सबै संगठित हुनुहोस्', उनले भने, 'कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं।’
जिल्ला कमिटी गठन
नेकपा एमालेबाट निलम्बित नेता नेपालले पोखरामा पनि कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएका छन्। उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको पनि बताए।
नेपाल र नेता सुरेन्द्र पाण्डे पोखरा पुगेर कास्की जिल्लास्तरीय समानान्तर कमिटी घोषणा गरेका हुन्। उक्त समानान्तर कमिटी अध्यक्षमा धनराज आचार्य र सचिव होमबहादुर नेपाली तोकिएका छन्।
७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्यसहित समानान्तर टिम घोषणा गरिएको हो। उता एमालेको कास्की जिल्ला अध्यक्ष कृष्ण थापा रहेका छन्। कास्कीका जनप्रतिनिधि र जिल्ला कमिटीका नेताहरु एमालेमै रहेका छन्।
यसअघि नेपाल समूहले गोरखा, अर्घाखाँची र भोजपुरमा समानान्तर कमिटी बनाइसकेको छ। माधव नेपालले युवा संघ, महिला संघ र अनेरास्ववियुको पनि समानान्तर कमिटी बनाइसकेका छन्। युवा संघ काठमाडौंको बुद्धनगरमा समानान्तर कार्यालय पनि खोलिसकेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।