माधव नेपालले ओलीविरुद्ध देशव्यापी प्रतिकार थाल्ने (संयुक्त विज्ञप्तिसहित)
आफूपक्षीय नेता कार्यकर्तालाई सक्रिय हुन अपील

नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशव्यापी प्रतिकारमा उत्रिने निर्णय लिएको छ। ओलीले माधवकुमार नेपालसहित चार नेतालाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेपछि नेपाल पक्ष देशव्यापी प्रतिकार उत्रिने तयारीमा जुटेको हो।

माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका ११ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध देशभरी सक्रिय हुन नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई अपिल गर्दै प्रतिकार तयारी थालेका हुन्। 

शुक्रवार साँझ जारी गरिएको संयुक्त विज्ञप्तिमार्फत उनीहरूले कार्यकर्तालाई देशव्यापी सक्रिय हुन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेपछि यस्तो अपिल गरेका ११ जनाले तीन दिनपछि फेरि दबाब बढाएका हुन्। 

नेताहरूले प्रधानमन्त्री ओलीले बाह्य शक्तिको आडमा देश, जनता र पार्टीप्रति घात गरेको आरोप लगाएका छन्। 'एमाले एकीकरण पूर्वको स्थितिमा पुनःस्थापित भएपछि हामीले यसका केन्द्रदेखि स्थानीय तहसम्मका सबै सङ्गठनात्मक संरचनाहरू तथा जनसङ्गठनहरूलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरेका थियौँ', उनीहरूले जारी गरेको अपीलमा भनिएको छ, 'विधि र पद्धतिसम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमी कमजोरीको यथासमयमा समीक्षा गर्नुका साथै कम्युनिस्ट पार्टीहरूको एकता र सहकार्यलाई आत्मसात् गर्न आह्वान गर्छौँ।'

पार्टी अध्यक्ष पदमा ओलीले त्यो कुरा स्वीकार नगरेको उनीहरुले बताएका छन्। 'उल्टै गत फागुन २८ गते हामीहरूलाई कुनै जानकारी नै नदिई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो गुटको भेला गरी पार्टी विधानको ठाडो उल्लङ्घन गर्दै नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरियो', उनीहरुले भनेका छन्। 

नेताहरुले विज्ञप्तिमा एकपक्षीय रुपमा कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइएको पनि आरोप लगाएका छन्। 'यसका साथै केन्द्रीय कमिटीको सदस्य पद रिक्त नै नरहेको अवस्थामा पार्टीको विधान मिचेर नेकपा (एमाले) को सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गरेको भनी सार्वजनिक गरियो', अगाडि भनिएको छ, 'अवैध निर्णय रद्द गरी नेकपा (एमाले) लाई पूर्ववत् स्थितिमा क्रियाशील बनाई अगाडि बढ्न केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय कार्यकालमा भएको वार्ता लगायत विभिन्न किसिमले भएका कुराकानीमा आग्रह गर्‍यौँ।'



तर आफूहरुको आग्रहलाई नसुनेको पनि उनीहरुले बताएका छन्। 'तर, पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीहरुको षड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहङ्कार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य भएन', विज्ञप्तिमा भनिएको छ, 'नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति, विधान र सङ्गठनात्मक प्रणालीको रक्षाका लागि  यही चैत्र ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्न बाध्य भयौँ।'

उनीहरुले राष्ट्रिय कार्यकर्ता भेलाले नेकपा एमालेको सबै संरचना सर्वोच्च अदालतको फैसला अनुरूप पूर्ववत् क्रियाशील तुल्याई पार्टी एकतालाई जोगाउन गरेको आग्रहलाई  ओलीबाट स्वीकार नगरिएको भन्दै आपत्ति जनाएका छन्। 



नेताहरुले प्रधानमन्त्री भएपछि ओलीले निरन्तर देश र जनताको हितविरुद्ध काम गरेको आरोप पनि लगाएका छन्। 'प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्‍याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्‍याउने विभिन्न कामहरू भए,' विज्ञप्तिमा भनिएको छ, 'भ्रष्टाचार र अनियमित कार्यहरुको चाङ लाग्न थाल्यो। देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरू भत्किन थाले। त्यसो नगर्न पार्टीका बैठकहरूमा उहाँलाई  पटक–पटक सचेत गराइयो। तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी बाह्य शक्तिसँग साँठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो।'

ओलीको गलत कार्यविरुद्ध सबै नेता कार्यकर्ताले आवाज उठाउनु जायज भएको पनि उनीहरुको तर्क छ। 'यस्तो कार्यका विरुद्ध आवाज उठाउनु २००६ सालदेखि नै देशभक्तिको झण्डा उठाउँदै आएको कम्युनिस्ट पार्टीका सबै इमानदार सदस्यहरूको कर्तव्य हुन्थ्यो', विज्ञप्तिमा भनिएको छ, 'हामी त्यही कर्तव्य पूरा गर्न अग्रसर भयौँ। तर ओली निरन्तर उल्टो बाटोतिर हिँडिरहे।’

विज्ञप्ति

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार २१:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया