ओलीजीको ३ वर्षे शासनमा सिंहदरबारबाट पिना मात्रै निस्कियो : विश्वप्रकाश शर्मा
फाइल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदाको जस्तो भएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उनले कोदो र तोरी उस्तै देखिए पनि भिन्ना-भिन्नै विशेषता बोकेकाले एकैठाउँमा राखेर पेल्दा पिना मात्रै निस्कने बताए । ३ वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको टिप्पणी उनको थियो । त्यही सरकारका मन्त्रीले पनि मौरी र झिँगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई सुझाव दिए । 

उनले भने,  ‘दुईवटैले मुठ्ठी बटारेका छन् । दुईवटैले लालसलाम भनेका छन् । उस्तै उस्तै लाग्यो । उहाँहरुले एकता गर्नुभयो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्दा ओलीजीको शासनबाट पिना मात्रै निस्कियो । त्यसैगरी उहाँको मन्त्री जीले पनि मौरी र झिँगाको भेद देख्नुभएन । म तपाईहरुलाई आग्रह गर्दछु । चित्त दुखाएर बस्ने काम छैन । बरु जसको दृष्टि दोष छ, तिनलाई बदल्ने छौ र मौरी भएर यो मुलुकको निर्माण गर्नलाई कर्मचारीतन्त्रले काम गर्नेछौ भनेर संकल्प लिनुपर्छ ।’

सिंहदरबारमा नेपाल सरकारका सचिवहरु बीचको एक कार्यक्रममा बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टँसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका थिए । 

सांसद अपहरणको आरोप लागेका सांसदलाई राज्य व्यवस्था तथा सुशासन समितिमा र सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको टेप काण्डका बारेमा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेका पूर्व मन्त्रीलाई सोही समितिको सदस्य बनाइएको भन्दै उनले सुशासन कायम गर्ने सम्बन्धमा प्रभावकारी ढंगले काम गर्न कर्मचारीहरुलाई आह्वान गरे ।

उनले भने, ‘केपी ओलीको सरकार निरन्तर रहिरह्यो भने, सार्वजनिक लेखा समितिमा लगेर त्यसैको दोषीलाई राखे जस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा लगेर अपहरणको मुद्दा लागेकालाई राखे जस्तै अपराध अनुसन्धानको नेतृत्व गर्ने ठाउँमा जेलबाट छुटाएर चार्ल्स शोभराजलाई राखेको दिन पनि यो देशले सुन्नुपर्ने हुनसक्छ ।’



उनले कर्मचारीतन्त्र भनेको स्थायी सरकार भएको र सुशासनको क्षेत्रमा स्थायी सरकारले गर्ने कामबारे सधैं सचेत भई प्रशासनतन्त्रलाई लोकतान्त्रीकरण गर्दै अघि बढ्न सबैलाई आग्रह गरे । 



  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १७:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया