फुजेल हत्याकाण्डका १३ अभियुक्तलाई उच्च अदालतले दियाे सफाइ

फुजेल हत्याकाण्डका १३ अभियुक्तले उच्च अदालत पाटन हेटौँडाबाट सफाइ पाएका छन् । न्यायाधीशहरु चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई आइतबार सफाइ दिएको हो । 

कृष्णप्रसाद अधिकारीको ०६१ साल जेठमा अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या भएको थियो । मृतकको परिवारले तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसादको हत्या गरेको बताउँदै आएको छ । 

अधिकारीका पिता नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले जिल्ला अदालत चितवनमा गोरखा फुजेलका १३ जना गाउँलेविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गराएका थिए । चितवन अदालतले सो मुद्दाका प्रतिवादी १३ जनालाई नै सफाइ दिएको थियो । 

जिल्ला अदालत चितवनको फैसला चित्त नबुझेको भन्दै मृतक कृष्णप्रसाद अधिकारीका पिता नन्दप्रसाद र दाजु नुरप्रसादले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका थिए । 

सो मुद्दामा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू रमण श्रेष्ठ, चण्डीराज श्रेष्ठ, दीनमणि पोखरेल, मुक्ति प्रधान र केशव गौतमले बहस गरेका थिए ।

छोराको हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेका बेला मृतक कृष्णप्रसादका पिता नन्दप्रसादको पनि मृत्यु भइसकेको छ । मृतककी आमा गंगामाया अहिले पनि आन्दोलनरत छिन् ।  





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १९:३१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया