व्यवस्था परिवर्तन भए पनि राजनीतिक नेतृत्वमा निरंकुश संस्कार कायमै : ऊर्जामन्त्री

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भएअनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । 

अखिल (छैटौँ)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भए पनि राजनीतिक नेतृत्वमा निरंकुश व्यवस्थाको चिन्तन, प्रवृत्ति, संस्कार र संस्कृति कायमै रहेको बताएका हुन् । त्यसको विरुद्धमा अझै लड्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । 

एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । परिवर्तित समाजमा मार्क्सवाद, लेनिनवाद र माओवादका दर्शन विचार महत्वपूर्ण भए पनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो हुने पनि उनले बताए । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरीकन समाजवादी क्रान्ति सम्भव नभएको बताए । अहिले समाजवादको राजनीतिक प्रवृति विस्थापन भएको, तर आर्थिक सामाजिक र सांस्कृतिक जरा विस्थापन नभएको उनले बताए । संसद विघटनदेखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्तिकेन्द्रबाट भएको पनि उनले बताए । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गरे । ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि उनले बताए । यसलाई संस्थागत गर्न चुनौती रहेको भन्दै उनले नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी–विदेशी शक्ति राजतन्त्र स्थापित गर्न लागिपरेको बताए ।  

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले अझै पनि क्रान्ति सफल नभएको बताए । क्रान्ति पूरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नुपर्ने, तर अहिले सार्वभौमिकता नै धरापमा परेको बताए ।



कार्यक्रममा अखिल (छैटौँ)ले आफ्ना पूर्वअध्यक्षलाई सम्मान गरेको थियो । यस्तै, नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैटाैँ)को इतिहास नामको पुस्तक विमोचन पनि गरिएको थियो । 



  • प्रकाशित मिति : वैशाख १, २०७८ बुधबार १९:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया