कोरोनाको दोस्रो लहरको असर वित्तीय प्रणालीमा : बैंकमा अधिक तरलता

पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर तिब्र रूपमा फैलिँदै जाँदा त्यसको असर वित्तीय प्रणालीमा देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह नघटे पनि नयाँ कर्जाको माग भने प्रभावित हुन थालेको बैंक तथा वित्तीय संस्थाहरूले बताएका छन् । 

लगानीकर्ताहरू दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव आँकलन गरेर बसेकाले उत्साहित रूपमा नयाँ कर्जा माग नआएको उनीहरूको भनाइ छ । ‘पछिल्ला दिनमा वित्तीय प्रणालीमा रहेको अधिक तरलता स्थिर देखिनु यसकै संकेत हो,’ एक बैंकरले भने, ‘दुई-चार महिना अघिकै स्तरमा कर्जा माग भएको भए, अहिले तरलता अभाव भइसकेको हुन्थ्यो ।’

पछिल्ला दिनमा अन्तर बैंकदर बढे पनि ५ प्रतिशतभन्दा कम नै रहेकाले तरलता स्थिर भएको बुझ्नुपर्ने राष्ट्र बैंकअन्तर्गतको अनुसन्धान विभाग प्रमुख एवम अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘अन्तर बैंक ब्याजदर १ देखि ५ प्रतिशतसम्म रहनु तरलता सामान्य भएको अवस्था हो,’ उनले भने, ‘त्योभन्दा माथि गयो भने तरलता अभाव भएको संकेत हो ।’ यसअघि तरलता अधिक हुँदा लामो समयसम्म अल्पकालीन ब्याजदर ९, अन्तर बैंकदर ०.१ प्रतिशतभन्दा कम थियो । 

त्यस्तै, पहिलो लहरको कोरोना संक्रमणको असर कम हुँदै गएपछि कर्जा प्रवाह ह्वात्तै बढेको थियो । त्यसपछि अन्तर बैंक दर पनि बढेर ५ प्रतिशत नजिक पुगेको थियो । यसअघि वित्तीय प्रणालीमा सवा २ खर्ब रुपैयाँसम्म अधिक तरलता थुप्रिएको थियो । त्यतिबेला भारित औसत अन्तर बैंक दर ०.२ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । तरलता घट्दै गएपछि अन्तर बैंक दर पनि बढ्न थालेको उक्त प्रतिवेदनले जनाएको हो ।

राष्ट्र बैंकका अनुसार गत वैशाख २ मा अन्तर बैंक दर यो वर्षकै उच्च ४.६० प्रतिशत पुगेको थियो । चैत मसान्तमा राजस्व बापत ठूलो रकम सरकारी खातामा गएकाले बैंकमा तरलता कमी भई अन्तर बैंक दर बढेको हो । बुधबार अन्तर बैंक दर घटेर ३.७८ प्रतिशत कायम भएको छ ।

गत आइतबार र सोमबार एक्कासि सरकारी खर्च बढेकाले अन्तर बैंक दर घटेको राष्ट्र बैंकको भनाइ छ । अघिल्ला दिनमा दैनिक १ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म सरकारी खर्च (चालु खर्च) हुँदै आएकामा आइतबार ६ अर्ब ७९ करोड र सोमबार ८ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ । 



यसै साता मात्र राष्ट्र बैंकले बजारबाट ३ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खरिद गरेको छ । उल्लेखित माध्यमबाट बजारमा मुद्र आपूर्ति भएपछि  तरलता सामान्य भएकाले अन्तर बैंक दर पनि घटेको जानकारहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा ४४ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।



  • प्रकाशित मिति : वैशाख १०, २०७८ शुक्रबार १४:२२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया