के लचक हुँदै गएका हुन् ओली ? किन बढाएनन् माधव पक्षमाथि कारबाही ?

नेकपा एमाले पुनःस्थापित भएपछि समानान्तर गतिविधि सञ्चालन गर्दै आएको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षलाई कारबाही गर्न स्पष्टीकरण सोधेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय लचकता अपनाउँदै आएका छन्। 

एमालेको १२औँ महाधिवेशन आयोजक कमिटीको वैशाख ६, १० र १२ गते सम्पन्न बैठकको निर्णय सर्कुलर गर्न शुक्रबार अध्यक्ष ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१० लाई हेर्ने हो भने पनि ओली नेपाल–खनालप्रति लचक हुँदै गएको देखिन्छ। एमालेको आन्तरिक विवादका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेको नेपाल–खनाल पक्षका चारसांसदले ‘फ्लोर क्रस’ गरेर शाही नेतृत्वको माओवादी सरकार जोगाइदिए। पार्टीको ह्विप उल्लंघनपछि ओलीले ती चारैजना सांसदलाई पार्टीबाट र सांसदबाट समेत हटाए। 

यसअघि ओलीले पार्टीभित्र फरक पार्टीसरह गुटगत गतिविधि सञ्चालन गरेको, पार्टी फुटाउने गरी गतिविधि गरेको भन्दै नेताहरु नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए। तर, स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। त्यसपश्चात् कर्णालीमा फ्लोर क्रस भएपछि ओलीले वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहित २७ सांसदलाई स्पष्टीकरण सोधे । 

नेता नेपालसहित २७ जना सांसदले तोकिएकै समयमा स्पष्टीकरणको जवाफ फर्काएका थिए । तर, ओलीले यसपालि अनुशासनको कारबाही भने गरेका छैनन्। नेता नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यबाट प्राप्त स्पष्टीकरणबारे स्थायी कमिटीले थप अध्ययन गरी आवश्यक निर्णय लिने ओलीले जारी गरेको आन्तरिक निर्देशनमा उल्लेख  छ। यस हिसाबले पनि स्पष्टीकरणपत्र प्राप्त गरिसक्दा पनि कारबाही प्रक्रिया अघि नबढाउनुलाई ओली केही लचक भएका हुन् कि भनेर अनुमान लगाउन सकिन्छ। 

व्यक्ति रिझाउँदै ओली

कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा मुलुक निषेधाज्ञाको अवस्थामा छ। एमालेका दुवै पक्षले गतिविधि स्थगित गरेका छन्। तर, नेताहरुबीच आन्तरिक छलफल भने हुँदै आएको छ । आन्तरिक विवाद समाधान गर्न नेताहरु लागिरहेका छन्। 



खासगरी, ओलीले पार्टीको विवाद मिलाउन आन्तरिक रुपमा छलफल चलाउँदै आएका छन्। पार्टी दुई टुक्रा हुँदा अन्ततः घाटा दुवै पक्षलाई हुने निश्चित छ। त्यसैले पनि ओली अहिले लचक रुपमा प्रस्तुत हुँदै आएका छन्। 

विवाद मिलाउन ओलीले नेता नेपालसँग नागपोखरीस्थित होटल मेरियटमा दुई चरणको वार्ता गरे पनि वार्ता निष्कर्षमा नपुगेपछि ओली अहिले व्यक्तिगत तवरमा नेताहरुलाई कन्भिन्स गर्न लागिपरेका छन्। होटल मेरियटमा २ दिन र धुम्बाराहीस्थित तत्कालीन एमाले पार्टी कार्यालयमा १ पटक नेपालसँग ओलीले वार्ता गरेका थिए ।  तर, नेपाल पक्ष फागुन २८ गते ओली पक्षले गरेका निर्णय फिर्ता लिएर पुरानै अवस्थामा फर्काउनुपर्ने अडानमा रहेपछि वार्ता सफल हुन सकेन। मेरियट होटलमा भएको वार्तामा पनि यही कुरा दोहोरिएपछि वार्ता सफल भएन। 



अहिले ओली नेपाल–खनाल पक्षका नेताहरु, संघीय संसद्का सांसद, प्रदेशसभाका सांसद र प्रदेश तहका नेतासँग एक्लाएक्लै भेट्दै आएका छन्।

ओलीले नेपाल–खनाल पक्षसँग सामूहिक रुपमा भन्दा प्रत्येक नेता–सांसदसँग एक्लै वा २–४ जनासँग छुट्टै भेट्दै आएका छन्। उनले प्रत्यक्ष भेट वा फोनबाट समेत नेताहरुसँग संवाद गर्दै आएका छन्। एक्लै जाँदा पार्टीले ठूलो घाटा व्यहोर्नुपर्ने र त्यसको अपजस पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसमेतको हैसियतले ओली आफैँले लिनुपर्ने निश्चित छ । त्यसैले पनि ओलीले सकभर पार्टीको विवाद मिलाउन चाहेको एमालेका एक स्थायी कमिटीका सदस्यले बताए। 

‘पार्टी ०५४ सालमा फुट्दा कस्तो स्थिति भएको थियो भन्ने कुरा नेताहरुले बुझेकै छन्। अहिले पनि पार्टी फुटेर जाँदा कसैलाई फाइदा हुँदैन। पार्टीलाई घाटा नै हुन्छ’, ती नेताले भने, ‘त्यसैले पनि ओली अहिले पार्टीबाट कोही छुट्टिएर जाँदा पनि ठूलो पंक्ति भने एमालेमै रहोस् भन्ने चाहन्छन्। अहिले त्यहीअनुसार उनले आफ्नो गतिविधि अघि बढाएको देखिन्छ।’

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरु राजबहादुर बुढा, ध्रुव शाहीलगायत नेताहरुसँग ओलीले एक्लै बसेर छलफल गरेका थिए। अहिले ती नेता अध्यक्ष ओलीलाई साथ दिने भएका छन्। नेपालले पार्टी फुटाउन लागेकाले ओलीलाई साथ दिएको सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभाका सांसद ध्रुव शाही बताउँछन्। 

त्यस्तै, नेपालका अत्यन्त निकट पात्र रहेका एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पनि अहिले ओलीलाई साथ दिँदै आएका छन्। नेता रिजालको एमाले नेता विष्णु पौडेलसँग पारिवारिक नाता पनि छ। तर, ओली आफैँले पनि नेता रिजाललाई व्यक्तिगत तवरमै भेटेर कन्भिन्स गरेका थिए। तत्पश्चात् नेता रिजाल एमालेको बैठकमा सहभागी हुँदै आएका छन्। उक्त बैठकमा नेता रिजालसहित नेपाल पक्षका ३ जना नेता सहभागी भएर ओलीलाई साथ दिएका थिए। उनीहरुले नेता नेपालले पार्टी फुटाउन लागेकाले ओलीलाई साथ दिएको समेत बताएका थिए। 

ओलीको यो अभियान सफल बनाउन महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि लागेका छन्। यसैक्रममा महासचिव पोखरेलले सांसद जीवनराम श्रेष्ठसँग छुट्टै भेटघाट गरेका थिए। यी दुवै नेताले अहिले भेटघाट तथा छलफललाई तीव्रता दिएका छन्। पार्टी छाडेर जाँदा पनि नेताहरु माधव नेपाल, झलनाथ खनाल र भीम रावलबाहेक सो समूहका अन्य नेताहरुलाई ल्याउन सकिन्छ भन्ने ओलीको बुझाइ छ। त्यहीअनुसार उनीहरु अघि बढेका छन्। 

सरकारमा ‘कम्फर्ट जोन’मा 

पुस ५ गतेको कदम हुँदै फागुन २३ गतेको अदालतको निर्णयसँगै औपचारिक रुपमा छुट्टिएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली का‌ंग्रेस तथा जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउन हात धोएरै लागिपरेका छन्। 

तर, अहिलेसम्म सरकारबाट ओलीलाई हटाउन भने सकिरहेका छैनन्। ओली नेतृत्वको सरकारलाई समर्थन दिएको एमाओवादी केन्द्रले पनि व्यावहारिक रुपमा ओली सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छैन। त्यसो त ओलीले सार्वजनिक रुपमै समर्थन फिर्ता लिन चुनौती दिइसकेका छन्। तर, ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा सफल हुने भएमा मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने, नत्र नलिने माओवादी अध्यक्ष प्रचण्डले बताउँदै आएका छन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आफूहरुसँग मत नै नपुग्ने बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गरेर देउवाले ओलीलाई हटाउन बहुमत नपुगेको र विकल्प नभेटिएको बताएका थिए। ‘कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय त भएकै छ नि ! तर, यहाँ त संख्या पुग्नुपर्छ। संख्या नपुगी चाहेर मात्रै हुँदैन’, देउवाले भनेका छन्, ‘अहिलेसम्म ओलीलाई सरकारबाट हटाउने विकल्प देखिएकै छैन।’ 

देउवाले अहिले संसद्मा अविश्वास प्रस्तावको संख्या नपुगेकै कारण समस्या भएको बताए। ‘अविश्वास प्रस्ताव दर्ता गरेर फेल भयो भने दुई वर्षसम्म लगाउन मिल्दैन। विकल्प अहिले केही छैन। हामीले नेपालको संविधान अनुसार गर्नैपर्छ। संविधानअनुसार हुनुपर्छ’, उनले भने ‘हामीसँग संख्या पुग्दैन यो सत्य हो, माओवादीले समर्थन फिर्ता लिएको छैन। जसपाले अहिलेसम्म निर्णय गरेकै छैन। नेपालको संविधान संशोधन गर्न सकिने अवस्था अहिले छैन। त्यसका लागि दुईतिहाइ बहुमत चाहिन्छ।’ उनले आफूहरुसँग संख्या नपुगेकै कारण समस्या भएको बताएका थिए। 

अविश्वास प्रस्ताव पास गर्न पुग्दैन मत

कांग्रेस, माओवादी र जसपा मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि फेल हुने भएकाले अहिले यी दलले ओलीविरुद्ध कदम चालिहाल्ने अवस्था छैन। अहिलेसम्मको अवस्था हेर्दा जसपा पनि फुट्ने निश्चित देखिन्छ। उपेन्द्र यादव पक्षले १८ जना सांसद लिएर जाँदा पनि ओलीविरुद्ध बहुमत पुर्याउन सकिने अवस्था देखिँदैन। त्यसैले अन्य दलले बहुमत पुर्याउन नसक्दा ओली सरकार 'कम्फर्ट जोन’मा छ। 

जसपाभित्र दुई धारबीच कुरा नमिल्दा ओलीलाई राहत मिलेको छ। महन्थ ठाकुर ओलीलाई सहयोग गर्नुपर्छ भन्ने लाइन छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराईहरु ओलीलाई फाल्नुपर्छ भन्ने पक्षमा छन्। अहिले प्रतिनिधिसभामा  नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र उपेन्द्र यादव पक्षका १८ सांसद छन् । यी सबै मत जोड्दा पनि जम्मा १२८ सिट मात्र हुन्छ। यो संख्याले ओलीविरुद्ध अविश्वासको मत पुग्दैन। अहिलेको अवस्थामा अविश्वास प्रस्ताव पास हुन १३८ सिट चाहिन्छ । तर, जसपाभित्र पनि उपेन्द्र र बाबुरामले मात्र चाहेर हुँदैन। महन्थ ठाकुर ओलीको विपक्षमा देखिँदैनन् । नेता ठाकुरले ओलीलाई नै साथ दिने देखिन्छ। 

त्यसको ज्वलन्त उदाहरण लुम्बिनी प्रदेशको घटनालाई लिन सकिन्छ। ओली सरकारले ठाकुरले उठाउँदै आएको मुद्दाअनुसार मधेस आन्दोलनका १२० मुद्दा फिर्ता लिइसकेको छ। आफूले उठाउँदै आएको माग सरकारले पूरा गरिसकेकाले ठाकुर ओलीविरुद्ध जाने सम्भावना कम छ । त्यसैले पनि ओली कम्फर्ट जोनमा देखिएका छन्।

नेपाल पक्षभित्रै विवाद

नेपाल पक्षका २३ जना सांसदले अध्यक्ष ओलीको स्पष्टीकरणको जवाफ दिँदै ‘पार्टी नफुटाउने, आन्तरिक संघर्ष गर्ने’ बताएका थिए। नेपाल पक्षभित्र पनि समयक्रमसँगै दुईवटा स्वर उठ्दै जान थालेको छ। 

खासगरी नेपाल–खनाल पक्षभित्र केही नेता पार्टी फुटाउने पक्षमा कडा रुपमा प्रस्तुत हुँदै आएका छन् भने अर्को पक्ष पार्टी फुटाउन नहुने पक्षमा छन्। यो समूहभित्र पार्टी फुटाउन हुँदैन भन्ने स्वर बाक्लो बन्दै जाँदा नेता नेपाल पक्ष समस्यामा पर्दै गएको छ। खासगरी योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत प्रभावशाली नेता पार्टी फुटाउन नहुने पक्षमा छन्। यसले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई नै फाइदा हुने संकेत देखिएको छ।

  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार २०:३९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया