अध्यादेशको विरोधमा कांग्रेस, राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको मतियार बनेको आरोप
संग्रौला भन्छिन् : राष्ट्रपतिको पदीय गरिमाको धज्जी उडाइयो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले मंगलबार जारी गरेका सातवटा अध्यादेशलाई लिएर आपत्ति प्रकट गरेको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाथ सात अध्यादेश जारी गरेपछि कांग्रेसले संसद छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको हो। 

कांग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा आयोजित पदाधिकारी बैठकमा अध्यादेश जारी गर्ने सरकारको कदमको कडा आलोचना गरेका हुन्। 

‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भइरहेका बेला संसद छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली आपत्तिजनक छ’, देउवाले पदाधिकारी बैठकमा भने, ‘संवैधानिक परिषद्सम्बन्धीसहित ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको कांग्रेस भर्त्सना गर्दछ । ’

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर सर्वसत्तावादी चरित्र उदांगो बनाएको दाबी गरेकी छन्।

‘प्रतिनिधि सभालाई हठात् बन्द गराएर चोर बाटोबाट सात-सातवटा अध्यादेश ल्याउने कामले सरकारको सर्वसत्तावादी चरित्र एक पटक फेरि उदांगिएको छ’, उनले भनेकी छन्, ‘त्यसमा पनि विवादित संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई दोश्रो पटक फेरि जारी गरिएको छ। संसदीय मूल्य-मान्यता विपरीतको कदमलाई कांग्रेस कहिल्यै स्वीकार्दैन।’

सांसद संग्रौलाले संसदमा विश्वासको मत लिने घोषणा गरिसकेपछि अध्यादेश जारी गर्न लगाएर सरकारले राष्ट्रपतिको पदीय गरिमाको धज्जी उडाएको आरोप लगाएकी छन् ।



‘म यी सम्पूर्ण अध्यादेश तुरुन्त फिर्ता गरी संसदको बजेट सत्रमा विधेयकका रूपमा पेश गर्न माग गर्दछु’, उनले अगाडि भनेकी छन्। 

कांग्रेस सांसद गगन थापाले सरकारले उक्त अध्यादेश फिर्ता गरेर सदनमा पेश गर्नुपर्ने बताएका छन् । थापाले राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु लोकतन्त्रकै दुर्भाग्य भएको बताएका छन् ।



‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक कुरा हो', उनले भनेका छन्, 'यो संविधानको मर्म विपरीत छ। राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो। अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’

  • प्रकाशित मिति : वैशाख २१, २०७८ मंगलबार २१:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया