एमालेमा ओली-नेपाल लडाईँ वैचारिक थियो ?
‘आ-आफ्नो इन्ट्रेस्टका लागि हो, केही वैचारिक छैनन्’

गत ९ माघमा भृकुटीमण्डपमा आयोजित विरोधसभामा सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए, ‘हामी मूल्यको राजनीति गर्छौँ, विचारको राजनीति गर्छौँ ।’ प्रधानमन्त्रीले गरेको संसद विघटनको विरोधमा आयोजित त्यो सभामा उनले त्यतिमात्र भनेनन्, केपी ओली सिद्धान्तनिष्ठ मान्छे नभएको तर्क पनि गरे । 

ओलीप्रति खरो रुपमा प्रस्तुत भएका नेता नेपालले कतिपयको मनमा कम्युनिस्ट कम्युनिस्ट मिल्ने त होइनन् ? भन्ने शंका रहेको भन्दै प्रष्ट पारेका थिए, ‘ओलीसँग सँगैसँगै जाने स्थिति बन्ला भन्ने भ्रम कसैले नपाले हुन्छ ।’

ओलीले संसद विघटन गरेपछि लगातार एकपछि अर्को जटिलता खेप्दै आएका नेपाल अन्ततः ओलीसँग हात मिलाएर अघि बढ्न सहमत भएका छन् । लामो संवादहीनतालाई तोड्दै निर्णायक परिस्थितिमा एकाएक भएको ओली–नेपाल भेटले एमाले एकता सम्भव भएको छ । 

एमालेमा आन्तरिक विवाद यति उत्कर्षमा पुगेको थियो कि ओलीलाई पदबाट अपदस्थ गर्नैका लागि माधव नेपाल समूहका नेताहरु सामूहिक राजीनामा हातमा लिएर बसेका थिए । विपक्षी गठबन्धनलाई फाइदा पुग्नेगरी नेपाल समूहले दिन लागेको राजीनामाले ओलीलाई केही ‘ब्याक’ गरायो । 

तर, विवाद साम्य भएसँगै यत्रो समयदेखि जारी नेपाल र ओलीबीचको लडाईँ कुन प्रकारको थियो भन्ने प्रश्न पनि उब्जन थालेको छ । नेता नेपालले भनेजस्तै उनीहरुको लडाईँ वैचारिक थियो भने यत्रो समय जुट्न नसकेको सहमति अहिले एक्कासी कसरी जुट्यो ?

के भन्छन् विश्लेषक ?
नेपाल र ओलीमा देखिएको विवाद पहिल्यैदेखि वैचारिक नभएको र अहिले त्यो पुष्टि भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओली र नेपालबीचको वैचारिक लडाईँ हुँदै नभएको तर्क गर्छन् । फरकधारसँग कुराकानी गर्दै श्रेष्ठ भन्छन्, ‘वैचारिक लडाईँ त हुँदै होइन नि यो ।’



वैचारिक वा सैद्धान्तिक लडाईँ भएको भए पार्टी फुट्दै नफुट्ने तर्क गर्दै उनले अघि भने, ‘वैचारिक, सैद्धान्तिक लडाईँ भएको भए त पार्टी यसरी फुट्दै फुट्दैनथ्यो । एमाले र माओवादी जोडिँदै जोडिँदैनथ्यो । बढी भए गठबन्धन तयार हुन्थ्यो ।’

यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा नै सैद्धान्तिक आधारमा नजोडिएको श्रेष्ठको भनाइ छ । उनले भने, ‘नेकपा भन्ने पार्टी नै सैद्धान्तिक आधारमा जोडिएको थिएन । अहिलेको यो ओली र नेपालबीचको लडाईँ पनि वैचारिक होइन । यो चाँही पदीय भागबण्डा मिल्यो, जिम्मेवारी विभाजन मिल्यो भने कुरा मिल्छ ।’



अर्का राजनीतिक विश्लेषक राजेन्द्र महर्जन पनि ओली र नेपालले कहिल्यै वैचारिक लडाईँ नगरेको बताउँछन् । उनले भने, ‘वैचारिक त कोहीपनि देखिएको छैन । वैचारिक लडाईँ थियो भने उहिल्यै ओलीसँग विच्छेद भइसक्थ्यो । ओलीको प्रवृत्ति देखेर यो समूहले पहिल्यै राजीनामा दिन्थ्यो होला ।’

वैचारिक रुपमा नेपाल समूह आफैँ पनि स्पष्ट भइनसकेको टिप्पणी गर्दै महर्जनले भने, ‘नेपाल समूह कति कम्युनिस्ट, कति वामपन्थ भन्ने आफैँमा पनि छँदै छ । ओली समूह झनै बढी हो, त्यसकारण वैचारिक आन्दोलन त छँदै थिएन ।’

एमालेको साइनबोर्डमा भएको चिन्हले मान्छेहरूलाई अझै झुक्याइरहेको भन्दै महर्जनले विचार र सिद्धान्तको हिसाबले कुनै एजेन्डा नै नभएको तर्क गरे । उनले भने, ‘यो त त्यहाँ भित्रको भाग पाउने, सत्ता शक्तिमा साझेदारी हुन्छ वा हुँदैन भन्ने स्पष्टै थियो नि ।’ सत्ता साझेदार बनेर ‘टालटुल’ हुने बताउँदै महर्जन भन्छन्, ‘मैले सुरुमा पनि प्रश्न उठाएको थिएँ, यो वैचारिक द्वन्द्व होइन भनेर, अहिले फेरि पनि त्यसलाई पुष्टि हुनेगरी देखिँदैछ ।’

त्यस्तै, अर्का राजनीतिक विश्लेषक लोकराज बरालको पनि तर्क उही छ । उनले भने, ‘यी सबै आ–आफ्नो इन्ट्रेस्टका लागि हो । केही वैचारिक छैनन् ।’ भागबण्डाकै मात्र लडाईँ पछिल्ला केही महिना देखाएको भन्दै उनले भने, ‘माधव नेपालहरुलाई अलिअलि पेलिएको थियो, ओलीले अलिकति नरम भइदिएको जस्तो देखाए । पहिला नै लचिलो भइदिएको भए, यति विवाद हुँदैनथ्यो, त्यो अलिकति गल्ति भयो ।’

साथै, माधव नेपालहरु पनि ‘मर्ता, क्या नहीँ कर्ता’ कै अवस्थामा पुगेको बताउँदै अघि भने, ‘आज (बिहीबार) बिहान ओलीले त्यो ठ्याक्क मिलाइदिए त्यत्ति हो । खास केही सैद्धान्तिक लडाईँ थियो जस्तो लाग्दैन मलाई ।’ ओलीको सर्वसत्तावादी र व्यक्तिवादी चरित्रलाई पार्टीभित्र भएन भन्ने गुनासोमात्र भएको भन्दै उनले भने, ‘उही ओलीको सर्वसत्तावादी र व्यक्तिवादी चरित्रलाई पार्टीभित्र भएन भन्ने गुनासोमात्र भएको हो । अरु केही होइन ।’

अर्का विश्लेषक मीना पौडेल पनि ओली-नेपालबीच वैचारिक लडाईँ नभएको बताउँछिन् । ‘केपी ओलीको त आफू केन्द्रित लडाईँ मात्र थियो । तर, माधव नेपालहरु भने अलिकति प्रगतिशील, देशभक्त बनाउँदै जान्छन् कि अब भन्ने थियो, त्यो चाँही सकियो ।’ 

अब सबै पार्टीमा देशभक्ति वा जनता प्रति उत्तरदायी समूह चाँही अब कित्ता छर्लङ्ग भएको उनी बताउँछिन् । 

  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार १०:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया