लुम्बिनीमा विपक्षीले मागे मुख्यमन्त्री पोखरेलको राजीनामा

लुम्बिनी प्रदेशमा विपक्षी सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन्। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै विपक्षी सांसदहरुले मुख्यमन्त्री पोखरेलको राजीनामा मागेका हुन्। 

सदनमा बोल्दै माओवादी केन्द्रका सांसद एवम् प्रदेशका पूर्व सामाजिक विकास मन्त्रीसमेत सुदर्शन बरालले कानुनी रुपमा पोखरेल अल्पमतमा परिसकेकाले अब राजीनामा दिनुको विकल्प नरहेको बताए।

केही दिनअघि भएको राष्ट्रियसभा उपनिर्वाचनले पनि मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको पुष्टि गरिसकेकाले अब उनले राजीनामा दिनुको विकल्प नरहेको जिकिर गरे।

'मुख्यमन्त्री शंकर पोखरेलले नैतिकताको आधारमा राजीनामा दिनु उचित हुन्छ', उनले भने, 'विपक्षी गठबन्धनबाट हामी मुख्यमन्त्रीका कदमको राजनीतिकसहित सबै प्रतिवाद गर्ने गरी अगाडि बढ्छौँ।'

अल्पमतमा रहेको अवस्थामा पनि प्रदेश प्रमुखलाई हातमा लिएर, प्रहरी सुरक्षा घेराबीच बलजफ्तीले पोखरेल मुख्यमन्त्री बनेको बरालले जिकिर गरे।

त्यस्तै प्रदेशसभामा बोल्दै दाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद शंकर गिरीले मुख्यमन्त्री पोखरेलले अब पद छाड्नुको विकल्प नरहेको बताए। 'प्रदेशदेखि केन्द्रसम्म सरकार विफल भइसकेको छ। मुख्यमन्त्रीले अल्पमतमा रहेर पनि सदनप्रति खेलबाड गर्नुभएको छ। सत्ता सधैँ रहँदैन, बेलैमा सत्ता छाडिदिनु', उनले भने, 'यो सरकार कोरोना नियन्त्रणमा फेल खाइसकेको छ। यो अवस्थामा अब माननीय कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउँदा कोरोना पनि नियन्त्रण सम्भव हुन्छ, प्रदेशको पनि विकास अघि बढ्छ।'



उनले मुख्यमन्त्री पोखरेलसँग सदनमा बहुमत नरहेको पनि बताए। 'तपाईं १ को कि २ को मुख्यमन्त्री हो? एक को हो भने बहुमत छैन। समृद्धिको यात्रा एक्लै सम्भव हुँदैन', उनले भने, 'त्यसैले तपाईंले राजीनामा दिएर गठबन्धनका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाएर जाऊँ। त्यही यात्राले विकास पनि हुन्छ कोभिड पनि नियन्त्रण हुन्छ।'



  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १४:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया