असारको पहिलो दिन नै मनाङमा बाढीको बबण्डर
तालगाउँमा डुबान, बेलिब्रिज र विद्युत गृह बग्यो

मनाङमा असारको पहिलो दिन नै बाढीले वितण्डा मच्चाएको छ। बाढीका कारण हिमालपारिको जिल्ला मनाङको  नासो गाउँपालिका–१  तालगाउँ पूरै डुबानमा परेको छ। 

सोमबारदेखि निरन्तर पानी परेपछि तालगाउँ डुबानमा परेको हो। मर्स्याङ्दी नदीमा उर्लिएको बाढीले ताल गाउँका ६० मध्ये ३० घर डुबानमा परेका छन्। 

बाढी बढिरहेकाले अन्य घर पनि संकटमा परेका छन्। बाढी आउन थालेपछि गाउँले घर छाडेर अग्लो स्थानमा गएका थिए। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले अहिलेसम्म बाढीले मानवीय क्षति नभएको बताए। 

मर्स्याङ्दी नदीमा बाढी उर्लिएपछि बहाव रोकिन पुग्दा ताल गाउँमा पसेर डुबान भएको लामिछानेले बताए। डुबानमा परेको क्षेत्रमा प्रहरी टोली उद्धारका लागि परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए। 

जिल्ला र तालमै रहेको प्रहरी चौकीको टोली उद्धारमा जुटेका छन्। बाढीका कारण गाउँ, विद्यालय र वडा कार्यालय पनि डुबेका छन्। 

चामेमा पनि क्षति 



बाढीका कारण सदरमुकाम चामे पनि प्रभावित भएको छ। चामेस्थित तातोपानी कुण्ड क्षेत्रको बस्तीमा मर्स्याङ्दीको बाढी पसेर डुबान भएको हो। चामे हुँदै बग्ने घट्टे खोलामा उर्लिएको बाढी बस्तीमा पसेर क्षति गरेको छ। 

बाढीका कारण विद्युतगृह, बेलिब्रिज र कयौँ काठेपुल बगेका छन्। बाढीले चामे गाउँपालिका-१, तिमाङ खोलाको बेलिब्रिज बगाएर लगेको छ। तिमाङखोलास्थित ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् गृह पनि बगेको छ। बाढीले चामेका चारवटा घर क्षति भएको छ।



  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १४:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया