फरक दृश्य
‘लावारिस’ सरकारी भवन : अपराधको अड्डा

देशकै सुन्दर सहरमध्ये बागमती प्रदेशको राजधानी हेटौंडा पनि एक मानिने गरेको छ । हरित नगरीका रूपमा रहेको हेटौंडाको एक फरक दृश्यले डरलाग्दो अवस्था देखाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको मुख्य क्षेत्र मानिने हुप्राचौरमा रहेको वासुदेव सभागृह हेर्दा लाग्छ, यो कुनै डरलाग्दो चलचित्रको सुटिङ गर्ने स्थान हो । सभाहलको उत्तरपट्टी हेटौंडाको लोकतान्त्रिक हुप्राचौर रहेको छ । दक्षिण र पूर्वी क्षेत्रमा बाक्लो बस्ती छ । हेटौंडाको सबैभन्दा विकसित वडाको मध्यभागमा रहेको उक्त सभाहलमा दिउँसै पनि एक्लै कोही जाने आँट गर्दैनन् । सरकार र हेटौंडाबासीको चरम बेवास्तामा रहेको यो सरकारी भवनमा दिउँसै अपराधका घटना हुने गर्छन् । 

निर्माणको प्रारम्भमा दीपेन्द्र सभागृहका नामले परिचित यो सभाहल हाल सहिद वासुदेव सभागृहको नाममा परिचित छ । यो सभाहलको चारैतिर पर्खाल र चारवटा ठूला-ठूला गेट छन् । चारवटै गेटको अवस्था जीर्ण छ । उक्त कम्पाउन्डभित्र सामान्य मानिस प्रवेश नै गर्दैनन् ।

भवनभित्र लागुऔषधका बोतलहरू, सिरिन्जहरू, गाँजा खाएर फालिएका ठुटाहरू, कन्डम यत्रतत्र छरिरहेका देख्न सकिन्छ । यसका अतिरिक्त लागुऔषध सेवन गर्दै यौनजन्य क्रियाकलापमा सहभागी हुनेहरूका लागि सुरक्षित स्थान बनेको छ, यो भवन ।

सभाहलमा फैलिँदै गरेको विकृतिबारे कम्पाउन्डभित्र पुगेर कसैले विरोध गर्न सक्दैनन् । प्रहरी, प्रशासनले समेत यो भवनमा हुने गरेका क्रियाकलापप्रति बेवास्ता गरेको पाइन्छ । कोही विरोधमा उत्रिहाले पनि तिनै अनैतिक क्रियाकलापमा संलग्न हुनेको आक्रमणमा पर्ने त्रास छ ।



सभाहलको ‘अन्डरग्राउन्ड’ हलमा रगतका टाटा, चक्कु, ब्राउन सुगर प्रयोग गर्ने प्लेट, सिरिन्ज देखिन्छन् । पहिलो तल्लादेखि तेस्रो तल्लासम्मको अवस्था पनि उस्तै छ । वर्षायाममा चारैतिर झाडी हुने भएकाले उक्त क्षेत्र झनै डरलाग्दो देखिन्छ ।



एक्लै सभाहलको कम्पाउन्डमा पस्नै डर लाग्ने स्थानीय पारस नेपाली बताउँछन् । उनी भन्छन्, ‘सभागृह क्षेत्रमा कहिलेकाहीँ छिर्दा नि डर लाग्छ, आँखै अगाडि अनैतिक काम भइरहेको हुन्छ, सुई हानिरहेका हुन्छन् । कति विरोध गर्ने, प्रहरीले बेवास्ता गर्दा यो त अपराधको अड्डा नै भइसकेको छ ।’

१६ वर्षदेखि अलपत्र : सहिदकै नाम अपमान

विसं २०६२ मा स्थानीय जनप्रतिनिधिहरू नहुँदा सर्वदलीय बैठकबाट सभागृह बनाउने निर्णय कार्यान्वयनमा आएको थियो । यो सभागृह नेपाल सरकारको जगेडा कोषबाट १ करोड १५ लाखमा १० कठ्ठा क्षेत्रफलमा निर्माण भएको हेटौंडा उपमहानगरपालिका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण साहले जानकारी दिए । 

सभागृहमा तत्कालीन गृहमन्त्री कमल थापाले राजा वीरेन्द्रको सालिक राखेपछि विवाद सुरु भएको थियो । जनआन्दोलन चरण उत्कर्षमा पुगेका बेला सभागृह निर्माण भएकाले राजतन्त्र र गणतन्त्रको झगडाले सभागृह सञ्चालनमा आउन सकेन । दीपेन्द्र सभागृहका नाममा निर्माण भएको भवनलाई गणतन्त्र प्राप्तिपछि जनआन्दोलनका मकवानपुरे सहिद वासुदेव घिमिरेको नाममा परिवर्तन गरियो । सहिदको नाममा नामकरण भए पनि भवन विस्तारै ‘बेवारिसे’ बन्दै गएको सभागृह कालान्तरमा ‘अपराधको अड्डा’ बनेको छ । 

बहुउद्देश्यीय भवन बन्दै  

यो विषयमा कुरा गर्दा हेटौंडा उपमहानगरपालिकाले वासुदेव सभागृहको सबै संरचना भत्काएर बहुउद्देश्यीय भवन बनाउने जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सिटी भ्यू टावरसहित बन्ने बहुउद्देश्यीय भवनमा होटल, बैंक लगायत अन्य व्यावसायिक सटरहरू हुने र अन्डर ग्राउन्ड पार्किङको व्यवस्थापन गर्ने योजना तयार पारिएको बताए । 

‘यो सभागृहका कारण जनताको चर्को गुनासो पनि छ । हामीले विभिन्न ढंगले प्रयोग गर्न खोजे तापनि सकेनौं’, उनले भने, ‘अब हेटौंडा उपमहानगरको आफ्नै आयस्रोत वृद्धि गर्ने लक्ष्य सहित बहुउद्देश्यीय भवन निर्माण गर्न लागेका छौं । अहिलेसम्म सिटी भ्युटावरको डिपिआर सम्पन्न भइसकेको छ ।’ 

उनले करिब ९६ करोडको लागतमा बन्न लागेको भवनको टेन्डर आह्वानको क्रममा रहेको बताए । यसअघि सोही ठाउँमा भ्यू टावर निर्माण गर्न बागमती प्रदेश सरकारले आव ०७५-७६ मा १ करोड बजेट समेत विनियोजन गरे तापनि भ्यूटावर बन्न सकेन । सुविधा सम्पन्न व्यवस्थित सभा हल निर्माण गरिए तापनि सभा हलको मापदण्ड पूरा हुन सकेको थिएन ।

  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार ७:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया