जनकपुरधाम उपमहानगरको बजेट १ अर्ब ५३ करोड ८७ लाख
तालिम, बैठक भत्ता, सवारीसाधन खरिदमा विशेष जोड

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । केही कार्यपालिका सदस्य र वडाध्यक्षहरुको विरोधका बाबजुद उपमहानगरपालिकाले बजेट ल्याएकाे हाे ।

बिहीबार सम्पन्न सातौँ नगरसभाबाट उपमहानगरले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट ल्याएको हो । 

उपमहानगरले चालूतर्फ ६२.२३ प्रतिशत अर्थात् ९५ करोड ७५ लाख ६१ हजार र पुँजीगततर्फ ३७.७७ प्रतिशत अर्थात् ५८ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरले ल्याएको बजेटमा चालू खर्च बढी रहेकाले विकास निर्माणको कार्यलाई वास्ता नगरिएको अर्थविद्हरुले आरोप लगाएका छन् । 
 
कोरोना महामारीको त्रास कायमै रहेको समयमा स्वास्थ्य, शिक्षा तथा कृषिमा बजेट बढी केन्द्रित हुनुपर्नेमा तालिम, बैठक भत्ता, सवारीसाधन खरिदमा विशेष केन्द्रित रहेको देखिएको छ ।  

बजेटमा आगामी आर्थिक वर्षमा सवारीसाधन खरिदका लागि ३ करोड २२ लाख र सवारीसाधन मर्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

त्यस्तै, पदाधिकारी बैठक भत्तामा १ करोड १० लाख, कर्मचारी बैठक भत्तामा १६ लाख, महँगी भत्ता ३३ लाख, कर्मचारी प्रोत्साहन तथा पुरस्कारका लागि ७ लाख, पदाधिकारीको अन्य सुविधामा २ करोड ५० लाख रकम विनियोजन गरिएको छ । विभिन्न कार्यक्रमको शीर्षकमा समेत बजेट छुट्याइएको छ । 

त्यस्तै, युवाका लागि सीप विकास तालिममा ९९ लाख, कार्यक्रम खर्च शीर्षकमा ५ करोड ३८ लाख ७१ हजार, सार्वजनिक सम्पति मर्मत सम्भारका लागि २ करोड ५५ लाख, विद्युत संरचना निर्माणका ५ करोड ६१ लाख तथा अन्य सार्वजनिक निर्माण शीर्षकमा १ करोड बजेट छुट्याइएको छ ।
 
नगरस्तरीय पूर्वाधार योजनाका लागि ९ करोड र वडास्तरीय पूर्वाधार योजनाका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ भने स्थानीय भत्ता शीर्षकमा ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।



बजेट आएकै दिन यसको आलोचना सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले ठूलै हिनामिना गर्नका लागि यस प्रकारको बजेट ल्याइएको आरोप लगाए । 

समग्र विश्व कोरोना महामारीको चपेटामा परेको बेलामा समेत जनकपुरधाम उपमहानगरपालिकाले बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि केही खुलाएको छैन । त्यस्तै, फोहोर मैला व्यवस्थापनका लागि बजेट उल्लेख गरिएको छैन भने सो शीर्षकमा चालू आर्थिक वर्षमा समेत कति रकम खर्च गरियो भन्ने विषयमा समेत केही उल्लेख गरिएको छैन ।



  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १९:२७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया