कोरोना महामारीका बेला राजनीतिको वितण्डा : फेरि जनताले दुःख पाउने !
आफ्नो ज्यानको भन्दा देशको माया बढी भएकाले सडकमा आयौं : विद्यार्थी नेता तामाङ

कोरोना महामारीको दोस्रो लहर ओरालो लाग्न थालेसँगै विरोध, प्रदर्शन सुरु हुन थालेका छन् । राजनीतिक दलहरूले आफ्ना विरोध प्रदर्शनका कार्यक्रमलाई फेरि सुरु गर्न थालेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण कम भए पनि जोखिम कम नभएको भन्दै सचेत गराउँदै आइरहेको छ । तर, पनि राजनीतिक दलहरूले विरोध प्रदर्शनलाई भने तीब्रता दिन थालेका हुन् ।

विरोध प्रदर्शन गर्नेमा नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठनदेखि लिएर सत्तारुढ दलकै विद्यार्थी संगठनसम्म रहेका छन् । 

विपक्षी गठबन्धनमा आबद्ध दलहरू निकट विद्यार्थी संगठनहरूले असार १० गते काठमाडौंमा प्रदर्शन गरे । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गरेका थिए ।

सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेको भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।

असार १२ गते जनकपुरमा विपक्षी गठबन्धन र सत्तारूढ दल एमालेका युवा सडकमा आमनेसामने भए । विपक्षी गठबन्धले गरेको प्रदर्शनको प्रतिकारमा एमाले सम्बद्ध युवाहरू पनि सडकमा उत्रिएका थिए । २०/२५ जनाको समूहमा रहेका विपक्षी गठबन्धनका प्रदर्शनकारीको प्रतिकारमा १०० जनाभन्दा बढी युवा संघका कार्यकर्ता सडकमा उत्रिएका थिए । बाक्लो संख्यामा रहेका सुरक्षाकर्मीले दुवै पक्षलाई रोकेपछि सम्भावित झडप टरेको थियो । 



पछिल्ला केही दिनदेखि फेरि विरोध प्रदर्शन सुरु हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने चिन्ता व्यक्त गरेको छ ।

नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले यस्तो समयमा सडकमा आउनु आफूहरूको बाध्यता रहेको बताउँछन् ।



सरकारकै कारण आफ्नो ज्यानको बाँजी थापेर सडकबाट खबरदारी गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘सरकार महामारी नियन्त्रणभन्दा पनि निषेधाज्ञाको बाहनामा संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिरहेको छ । यस्तो अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरेर सडकमा आउनुपरेको हो’, अध्यक्ष तामाङले भने ।   

संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरू जस्तो सुकै कदम पनि चाल्न बाध्य हुने उनको भनाइ छ । 

‘सरकार कोरोनाको बहाना बनाएर जनतालाई घरभित्र थुन्ने । आफू भने संविधान, लोकतन्त्रमाथि नै प्रहार गर्न तिर लागिरहेको छ । अब सबैजना घरभित्रै बसिराख्यौं भने त यो अलोकतान्त्रिक सरकारले जे पनि गर्न सक्छ’, अध्यक्ष तामाङले भने ।  

‘हामीलाई पनि त आफ्नो ज्यानको माया छ, घर परिवारको माया छ । तर, त्यो भन्दा पनि ठूलो कुरो देशको माया छ । त्यसैले कोरोनाको डरैडरकाबीच पनि सडकमा आएर खबरदारी गरिरहेका छौं’, तामाङले भने । 

विरोध प्रदर्शनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै आएको उनको भनाइ छ । 

पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी भने यस्तो खालको विरोध प्रदर्शनबाट संक्रमणको जोखिम झन् बढ्ने बताउँछन् । ‘महामारी नियन्त्रणको दायित्व सरकारको मात्र होइन, त्यसमा सरकार र नागरिक उत्तिकै जिम्मेवार हुन्छन् । फेरि विरोध प्रदर्शनका कार्यक्रम सुरु भइसकेका छन् । यसले त फेरि भयावह अवस्था ल्याउन सक्छ’, त्रिपाठीले भने । 

महामारी नियन्त्रणका लागि विश्वव्यापी मान्यतालाई नै सबैले लागू गर्नुपर्ने उनको भनाइ छ । ‘भौतिक दूरी कायम गर्ने, अनिवार्य मास्कको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्ने गरियो भने महामारी नियन्त्रणका लागि अरू केही पनि गर्नैपर्दैन’, त्रिपाठीले भने । 

सरकारले अझै पनि भीडभाड हुने कुनै पनि गतिविधि गर्नमा पूर्ण रोक लगाएको छ । भीडभाड हुने गतिविधि गरेको खण्डमा कानुनअनुसार कारबाहीको चेतावनी सरकारले दिँदै आएको छ । तर, यो चेतावनी राजनीति गतिविधिमा गौण देखिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले राजनीतिक गतिविधिमा प्रहरीले हस्तक्षेप गर्न नसक्ने बताए । ‘राजनीतिक गतिविधिमा अवरोध गर्न खोज्यो भने फेरि अर्को लफडा आउँछ । त्यसैले हामीले उनीहरूलाई अनुरोध गर्दै आएका छौं’, प्रवक्ता कुँवरले भने ।

राजनीतिक विषय भएकाले उनीहरूको विरोध प्रदर्शनलाई हिंसात्मक हुनबाट बचाउनेतिर लाग्नुपरेको उनको भनाइ छ । ‘यो विषय त जनतालाई कोरोना लाग्ने, राजनीतिक दलका नेता कार्यकर्तालाई नलाग्ने भन्ने हुँदैन । हामीले त सबैलाई अनुरोध गर्दैआएका छौं’, प्रवक्ता कुँवरले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने जोखिम अझै कम नभएकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले महामारी नियन्त्रणमा नआउँदासम्म जोखिम अन्त्य नहुने भन्दै यसरी भीडभाड हुने कुनै पनि गतिविधि नगर्न सबैलाई अनुरोध गरे ।

  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार ११:५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया