सिने उद्योगमा टिक्न नसकेका चर्चित अभिनेता

अभिनेता सुमन सिंहले १० वर्षमा झण्डै ८० वटा चलचित्रमा अभिनय गरे । ६० को दशकका निक्कै व्यस्त यी अभिनेताका त्यो समय कहिलेकाहीँ महिना दिन नबित्दै चलचित्र लाग्थे । नेपाली सिने उद्योगमा चल्दा चल्दै सुमनले अमेरिकाको बाटो रोजे । त्यसपछि उनी फेरि यो उद्योगमा फर्किएनन् । ८ वर्ष भयो सुमनको नेपाली सिने उद्योगसँग साइनो टुटेको ।

अभिनेता जीवन लुईँटेल नेपाली सिने जगतका सफल अभिनेता हुन् । उनले अभिनय गरेका अन्दाज, नाई नभन्नु ल, रिदम, नोटबुक लगायतका चलचित्र चलचित्र बक्स अफिसका सफल चलचित्र हुन् । यी बाहेक जीवनले दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरे । फिल्मी करिअर ओरालो लाग्न थालेको संकेत पाएसँगै जीवनले पनि अमेरिकाको बाटो रोजे । उतै रमाए ।

जीवनका लागि अहिले नेपाली सिने उद्योग विरानो प्राय: भइसकेको छ । अमेरिका पसेको लामो समयसम्म जीवन सामाजिक सञ्जालमा पनि देखिएनन् । गत वर्षको कोरोनापछि भने उनी नियमित रूपमा सामाजिक सञ्जालमा अप्डेट हुने गरेका छन् । 

अर्का अभिनेता राजवल्लभ कोइरालाले पनि चलचित्रमा माग हुँदा हुँदै अमेरिकाको बाटो रोजे । रेडियोकर्मी हुँदै चलचित्र नगरीमा आएका कोइरालाले ‘पर्खी बसेँ’, ‘छाडी गए पाप लाग्ला’,  ‘ऋतु’, ‘किन लाग्छ माया’ लगायतका चलचित्रमा अभिनय गरे । उनले अभिनय गरेका प्राय: चलचित्र सफल पनि भए । उनले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा समेत अभिनय गर्न भ्याए ।

यही अंग्रेजी चलचित्रको सुटिङका क्रममा अमेरिका आउजाउ गरेका उनले आफ्नो कर्मथलो उतै बनाए । त्यसपछि उनले नेपाल फर्किने जाँगर चलाएनन् । उतै बसोबास गर्दै आएकी एक नेपाली युवतीसँग विवाह गरेर बसेका राजवल्लभ अहिले अमेरिकामा नै छोरीसँग रमाइरहेका छन् । 

थिएटर हुँदै फिल्ममा आएका अभिनेता सुवास थापा पनि नेपाली फिल्म उद्योगमा टिक्न सकेनन् । उनी आफैंले निर्माण गरेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’को प्रदर्शनका लागि अमेरिका गएपछि उतै बसे । नेपाल फर्किएनन् ।



अभिनेता धिरेन शाक्य लामो समदेखि चलचित्रको पर्दामा देखिएका छैनन् । चट्टान, सिमाना, मैले भुल्नै सकिन, दाग, जमिन, दुस्मनी, ज्वालामुखी लगायतका चलचित्रमा अभिनय गरेका धिरेन म्युजिक भिडियोमा पनि निक्कै जमेका कलाकार हुन् । फिल्म र म्युजिक भिडियो दुवैमा दर्शकले अत्याधिक रुचाएका धिरेन पनि लगभग गुमनाम बनिसकेका छन् ।

अभिनेता निखिल उप्रेती नेपाली सिनेमाका सफल अभिनेता हुन् । पिँजडा फिल्मबाट स्टन्ट हिरोका रूपमा उदाएका निखिलले त्यसपछि लामो समय नेपाली चलचित्रमा राज गरे । उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । जोखिमयुक्त एक्सनका दृश्य जमेका निखिललाई ठिकैको अभिनय गर्दा पनि दर्शकले मन पराए । उनले अभिनय गरेका चलचित्रले निर्मातालाई मुनाफा दियो । उनी निरन्तर फिल्ममा देखिए । 



चलचित्रका सफल यी अभिनेताले आफ्नो घर व्यवहार भने सफल बनाउन सकेनन् । पहिली श्रीमतीलाई अलपत्र छोडेर निखिलले अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरे । दोस्रो बिहेपछि मुम्बई हानिएका निखिलले केही वर्ष बलिउड करिअर सुरु गर्नका लागि  भरमग्दुर प्रयास गरे । तर, उनको प्रयास सफल हुन सकेन । उनी अन्ततः नेपाल नै फर्किए ।

दोस्रो बिहेसँगै धर्मराएको निखिलको करिअर नेपाल आउने बित्तिकै पुनः गति लिने अवस्थामा थिएन । त्यसैले उनले भारतीय नागरिक रतन दारुवालालाई निर्माता चलचित्र ‘भैरव’ निर्देशन गरे । जुन फिल्ममा निखिल आफैं शीर्ष भूमिकामा देखिए । यो चलचित्रले उनको करिअर पुन:स्थापित गर्न केही सहयोग गर्‍यो ।

यसपछि उनले लगातार चलचित्र लुटेरा, रुद्र, संरक्षण, निर्भय, राधे, भिलेनलगायतका चलचित्रमा अभिनय गरे । सबै चलचित्र सिने उद्योगमा असफल भए । अहिले निखिल अध्यात्ममा लागेका छन् । 

निखिलकै समयमा उदाएका अर्का अभिनेता हुन् : विराज भट्ट । भट्ट पनि एक समय एक्सन हिरोका रूपमा निक्कै चर्चामा थिए । नेपाली फिल्ममा अत्यधिक माग भइरहेका बेला विराजलाई भोजपुरी सिनेमाको भूत चढ्यो । विराजले केही वर्ष भोजपुरी सिनेमामा राम्रै काम गरे । जब भोजपुरी फिल्ममा उनको मार्केट खस्कियो, फेरि नेपाली फिल्म उद्योलाई सम्झिएर फर्किए ।

विराजलाई रोज राणाले ‘जय पर्शुराम’बाट ‘कमब्याक’त गराए । विारजको कमब्याकले कमाल गर्न सकेन । त्यसपछि उनले ‘साङ्लो’ नामक चलचित्र बनाए । साङ्लो पनि नेपाली सिने उद्योगको फ्लप फिल्म बन्न पुग्यो । त्यसपछि विराज अहिले नेपाली चलचित्रबाट पलायन जस्तै भएका छन् । 

होम प्रोडक्सनको चलचित्र ‘माया नमार’ मार्फत् सिने उद्योगमा देखा परेका रमित ढुङ्गाना त्यसपछि केही वर्ष निक्कै चले । उनका अधिकांश फिल्म सफल भए । रमितको यो सफलता लामो समय टिक्न पाएन ।

उनले अभिनय गरेका चलचित्रले निर्मातालाई मुनाफा दिन छोडे । निर्माताले उनलाई चलचित्रमा लिन छोडे । करिअर धर्मराएपछि रमितले अमेरिका राजे । केही वर्ष अमेरिका बसेका फर्किएका रमितले‘ बुद्ध बर्न इन नेपाल’ नामक चलचित्र निर्माण गरेर च्यारिटी गर्दै हिँडे । तर, यो चलचित्रले उनको क्रेज फर्काउन सकेन । उनी पुनः नेपाली सिनेमाको पर्दाबाट हराए ।

कुसुमे रुमाल-२ बाट सिने उद्योगमा आएका नीरज बराललाई पनि लामो समय यस क्षेत्रमा टिक्न सकेनन् । ब्रेकफेल, थ्री लभर्स, स्टार, लभ फरएभरलगायतका चलचित्रमा अभिनय गरेका निरजलाई दर्शकले निक्कै रुचाएका थिए । उनले आफ्नै लगानीमा चलचित्र ‘स्टुपिड मन’ बनाए । अभिनेता हुँदै निर्माता बनेका निरजबाट सिने उद्योग आशावादी रहेकै बेला निरजले पनि अमेरिकाको बाटो रोजे । त्यसपछि नेपाल फर्किने जागर चलाएनन् । 

नेपाली चलचित्रका सफल अभिनेता रमेश उप्रेती दशकभन्दा बढी अमेरिका बसेर नेपाल फर्किए । आफैंले लगानी गरेको चलचित्र ‘ऐश्वर्य’ मार्फत् पर्दामा फर्किए । दर्शकले उनलाई पत्याएनन् । फिल्ममा गरेको लगानी डुब्यो । त्यसपछि रमेश यसै थन्किएर बसेका छन् ।

नेपाली सिने उद्योगका प्रिय अभिनेता दिलीप रायमाझी स्थायी रूपमा अमेरिकामा नै बसोबास गर्दै आएका छन् । उनी बेलामौकामा नेपाल आएर चलचित्रमा अभिनय त गर्छन् तर उनका फिल्म हलमा लागेको र उत्रिएको दर्शकले पत्तो समेत पाउँदैनन् । दिलीप पनि अहिले सिने उद्योगबाट पलायन जस्तै छन् । अभिनेता सुशील क्षेत्री अमेरिका उडेको पनि लामै समय भयो । विमलेश अधिकारी, गणेश उप्रेती, सुशांक मैनाली लगायतका अभिनेता अहिले गुमनाम जस्तै छन् ।

  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १४:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया