देउवाको गृह प्रदेशमा महाधिवेशनको चहलपहल
जिल्लामा सभापतिका आकांक्षी धेरै

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिमका जिल्लामा पनि चहलपहल बढेको छ। केन्द्रमा सभापतिका लागि आ-आफ्नो दाबी प्रस्तुत गरिरहँदा जिल्लामा पनि जिल्ला सभापतिका दाबेदारको दौडधूप उत्तिकै छ।

काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा नेताहरु आफ्नो पद सुरक्षित पार्न केन्द्र समेत दौडधूप गरिरहेका छन्।

काँग्रेसमा  वडा तहका अधिवेशन सुरु हुन दुई हप्ता मात्र बाँकी छ। १२ साउनदेखि वडा तहको अधिवेशन सुरु हुनेछ। त्यसपछि १६ साउनमा पालिका र २० साउनमा प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने तयारी कांग्रेसको छ। 

एक निर्वाचन क्षेत्र भएको जिल्लामा २३ साउनमा अधिवेशन हुनेछ।

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन गर्नेछ। त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४औं महाधिवेशन हुने कांग्रेसको कार्यतालिका छ। सुदूरपश्चिम प्रदेश अहिलेका पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश भएको हुँदा यहाँ विशेष चासोका साथ हेरिएको छ।

कुन जिल्लामा को–को दाबेदार ?



कैलाली

सुदूरपश्चिमको राजनीतिलाई सबै भन्दाबढी प्रभावित पार्ने जिल्ला कैलाली हो। प्रदेशको राजधानीसमेत रहेको कैलालीमा अधिवेशनबाट को  सभापति हुन्छ भनेर चासोका साथ हेरिएको छ। जनसंख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा जिल्ला सभापतिका आकांक्षीको सूची लामो छ।



जिल्लामा सभापतिका लागि देउवा टिमबाट प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डाक्टर रणबहादुर रावल छन्। रामचन्द्र पौडेल समूहबाट दिनेशराज जोशी, गणेश देउवाको दावी देखिन्छ।

पौडेल प्यानलबाट जोशी र देउवाको दाबी बलियो छ। सभापति पदका आकांक्षी धेरै देखिए पनि देउवा टिममा बडुवाल र रावल प्रबल दाबेदारका रुपमा देखिएका छन्। कैलालीमा देउवा टिममा अन्तरविरोध देखिएकाले पौडेल पक्षको साथ लिएर ‘देउवा भर्सेस देउवा’ हुने अनुमान पनि गरिएको छ।


कञ्चनपुर

प्रदेशको दोस्रो धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएको कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भइसकेको छ। वर्तमान सभापति हरि बोहराले दोस्रो कार्यकाल जिल्ला सभापति हुने आकांक्षा राखेका छन्। गत अधिवेशनमा बोहोरासँग पराजित पदम बोगटी, बहादुरसिंह थापा सँगै गोपाल गुरुङको नाम चर्चामा छ। गुरुङ पौडेल पक्षधर हुन्।

यसैगरी पार्टी सभापति देउवाको गृहजिल्लामा देउवा निकट पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारिएको छ। उनलाई देउवा स्वयंको साथ छ। तर देउवा टिमकै नवलबहादुर मल्लले पनि दाबी गरेका छन्। देउवा टिमबाट सभापतिका आकांक्षी रघुवर भट्ट र गोविन्द बोहरा पनि आकांक्षी थिए। तर, देउवाले साउदलाई अघि सारेपछि भट्ट र बोहरा पछि हटेका छन्।

डोटी

डोटीमा वर्तमान सभापति प्रदीप देउवा आफैं दोहोरिने योजनामा छन्। सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू पनि डोटीको सभापति हुने लाइनमा छन्। उनीहरु सबै देउवा टिमका हुन्। डोटीमा पौडेल पक्षको उपस्थिति नगन्य छ। १३औं महाधिवेशनमा डोटीबाट पौडेल पक्षका एकजना मात्रै प्रतिनिधि आएका थिए।

अछाम

प्रदेशको पहाडी जिल्लामध्ये दुई निर्वाचन क्षेत्र भएको अछाममा पनि सभापतिका धेरै आकांक्षी देखिएका छन्। देउवा टिमबाट वर्तमान सभापति भरतकुमार स्वार दोहोरिने मनस्थितिमा छन्।  

पूर्वसभापतिद्वय पुष्पबहादुर शाह र मेघराज खड्का र नेता गणेशबहादुर विष्ट पनि आकांक्षी देखिएका छन्। पौडेल पक्षबाट कसैलाई पनि उम्मेदवारका रुपमा अगाडि सारिएको छैन। यद्यपी बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाललाई पौडेल पक्षका जिल्ला सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ।

बाजुरा

बाजुरामा सभापतिका लागि पूर्वसभापति मनबहादुर रावल र वर्तमान सभापति कविराज पण्डित दोस्रोपटक जिल्ला सभापतिमा भिड्ने तयारीमा देखिन्छन्। अघिल्लो जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित रामसिंह रावल र महासमिति सदस्य प्रेमबहादुर शाहीले पनि सभापतिका लागि कार्यकर्तासँगको सम्पर्क र केन्द्रीय नेतृत्वसँगको लबिङ तीव्र पारेका छन्।

देउवा टिमबाट पण्डित र शाही तथा पौडेल टिमबाट मनबहादुर र रामसिंहबीच जिल्ला सभापतिको उम्मेदवार बन्ने प्रतिस्पर्धा चलेको छ।

बैतडी

बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लबिङमा छन्। यस्तै, पूर्वसभापति शिवराज भट्ट पनि पुनः सभापति भन्ने दौडमा छन्। वर्तमान सभापति थापा र उपसभापति चन्द्र पौडेल टिमबाट चुनावी मैदानमा उत्रिन खोजिरहेका छन्।  देउवा टिमबाट भट्ट र विष्टले सभापतिको लबिङ गरिरहेका छन्। 

दार्चुला

दार्चुलामा दर्जन नेताहरु सभापतिका आकांक्षी देखिएका छन्। पौडेल पक्षीय केन्द्रीय सदस्य दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा देउवा पक्ष कमजोर छ। वर्तमान सभापति ललितसिंह बोहोरा, १३औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क विष्टलगायतका नेतालाई सभापतिका दाबेदारका रुपमा हेरिएको छ।

देउवा टिमबाट विक्रम धामी र जगदीश पाललाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ।

बझाङ

बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, पूर्वसभापति चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा र जगत जोशीको नामभावी सभापतिका लागि चर्चामा छ।

यस्तै गत जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी खडगबहादुर बोहरा र रमेश भण्डारी पनि सभापतिका बलिया दाबेदार हुन्। पौडेल पक्षबाट पूर्वसभापति सत्यराज भण्डारी र पूर्वसांसद चन्दा जोशीको नाम चर्चामा छ।

क्रियाशिल सदस्यतामा विवाद

कांग्रेसमा देखिएको क्रियाशिल सदस्यको विवाद सुदूरपश्चिममा पनि छ। विशेष गरी बाजुरामा क्रियाशिल सदस्यता विवाद देखिएको छ। क्रियाशिल सदस्यताको विषयमा विवाद चर्किँदै गएपछि दुवै टिमका नेताहरु काठमाडौं पुगेर आ–आफ्नै दावी गरिरहेका छन्। 

त्रिवेणीका नगरपालिकाका मेयर रामसिंह रावलले कोइराला प्यानलबाट आफू सभापतिका उम्मेदवार बताउँदै आएका र त्रिवेणीमा एकलौटी रुपमा क्रियाशिल सदस्य बाँडेको आरोप एक पक्षले लगाएको छ। 

पहिला एकलौटी सदस्यता बाँडेको भन्दै काँग्रेस देउवा प्यानलका एक नेताले पार्टीको झण्डा र विधान समेत जलाएका थिए। बाजुराबाट राजनीति गर्ने नेताले नै पार्टीका कार्यकर्ताको सदस्यता हटाउनु पर्छ भनेर लाग्नु कांग्रेस पार्टीलाई कमजोर पार्न खोज्ने काम भएको एक नेताले बताए। 

सबै प्रक्रिया पुगेका क्रियाशिल सदस्य काटिनु भनेको कांग्रेसलाई  कमजोर बनाउने खेल भएको ती नेताको भनाइ छ।

  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १२:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया