किन आजै सरकारमा जान चाहेन जसपा ? यस्तो छ तयारी
फाइल फोटो

सोमबार सर्वोच्च अदालतले गरेको फैसलाका कारण मंगलबार प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाको आज साँझ शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपतिबाट आह्वान भए अनुसार गत जेठ ७ गते देउवाले पाँच दलका १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी गरेका थिए । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गर्दै राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिदिइन् । 

यसपछि ५ दलका १४६ सांसद सर्वोच्चमा रिट दायर गरेका थिए । प्रतिनिधिसभा विघटनको निर्णय बदर र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिन रिटमा माग गरिएको थियो । 

यही रिटका आधारमा सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको थियो । अहिले देउवाले शपथ लिनुअघि उनको सरकारमा सहभागी हुने मन्त्रीको बारेमा चर्चा चलिरहेको छ ।  ५ पुसमा संसद विघटन भएदेखि ओलीका कदमको विपक्षमा जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव समूह थियो । 

पार्टीसँग विभाजनको संघारमा पुग्दा पनि ओलीका कदमको विपक्षमा रहेको जसपाको यादव समूहको देउवालाई प्रधानमन्त्री बनाउनमा ठूलो भूमिका छ । 

आज सरकारमा नजाने 



आफ्नै समर्थनमा देउवा प्रधानमन्त्री भएपनि जसपा तत्काल सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागी हुनेबारे पार्टीमा छलफल भइनसकेकोले पहिलो चरणको मन्त्रिमण्डलमा जसपाको सहभागिता नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । सरकारमा भने सहभागी हुने यादवले बताए । 

‘आज हामी सरकारमा सहभागी हुँदैनौँ’ जसपा अध्यक्ष यादवले फरकधारसँग भने, पार्टीमा त्यसबारे छलफल भएको छैन ।, तर २/३ दिन भित्रमा हामी सरकारमा सहभागी हुने तयारीमा छौं।’ 



पार्टीमा केही कुराहरुमा अझै मिलाउनु पर्ने भएकाले तत्कालै सहभागी नहुने रणनीति पार्टीले लिएको उनको भनाइ छ।  सत्ता समीकरणकै विषयमा विवाद बढ्दै गएपछि अहिले पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा अड्किएको छ।

जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष यादव समूह दुईवटै आफ्नो पक्ष नै आधिकारिक रहेको प्रमाणसहित निर्वाचनमा आयोगमा निवेदन दिएका छन्। 
। निर्वाचन आयोगले मेलमिलापका लागि दुवै समूहलाई बोलाएर छलफल पनि गराइसकेको छ । तर दुवै समूहले आफूहरु नमिल्ने भनेर निर्वाचन आयोगमा कानुन बमोजिम अगाडि बढ्न आग्रह गरिसकेका छन्। 

आयोग स्रोतका अनुसार जसपा विवादबारे आयोगले सम्भवत साउनको पहिलो सातासम्म फैसला सुनाउने तयारी गरेको छ । जसपाका एक नेताका अनुसार यो कारणले पनि उपेन्द्र समूह तत्कालको सरकारमा सहभागी नभएको हो । निर्वाचन आयोगको फैसलापछि सरकारमा सहभागी हुने जसपाको आन्तरिक तयारी छ। 

जसपा स्रोतका अनुसार त्यसका बाबजुद पनि सरकारमा सहभागी हुने बारेमा अहिले पार्टी कार्यालय बालकुमारीमा छलफल भइरहेको छ । अहिले जसपा कार्यकारिणी समितिको बैठक चलिरहेको  । त्यहाँबाट आउने निर्णय बमोजिम नै जसपा अगाडि बढ्ने यादव समूहका एक नेताको भनाइ छ।

  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १५:२७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया