निर्माण सम्झौता भएको दशक बित्यो तर बनेन पुल
पैसा तिरेर नदी तर्छन् स्थानीय

हुलाकी सडक अन्तर्गत कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ र ५ जोड्ने पुल निर्माण सुरु भएको एक दशक पुग्यो। कान्द्रा नदीमा उक्त पुल निर्माण भइरहेको हो। पुलमा चारमध्ये दुई स्ल्याबको काम मात्र सकिएको छ। वर्षा लागेपछि फेरि निर्माणको काम रोकिएको छ।

तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा पुल कहिले सम्पन्न हुन्छ भन्ने अझै अनिश्चित छ। यो पुल निर्माणका लागि सरकारले ३१ जेठ २०६८ मा लामा-शाल्पा-शेर्पा-बिरुवा जेभीसँग सम्झौता गरेको थियो। सम्झौताको १० वर्ष नाघ्दा भौतिक प्रगति अहिलेसम्म ७० प्रतिशत मात्र छ।  

४ करोड ४३ लाख रुपैयाँ लागत रहेको पुलको लम्बाइ एक सय मिटर र चौडाइ ७.२ मिटर रहने इस्टिमेट छ। पुल निर्माणको काम अहिले पनि ठप्प छ। ठेकेदारले दशकसम्म काम अलपत्र पार्दा सम्बन्धित निकायले समेत पुल निर्माणमा चासो नदेखाएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्न थालेका छन्।

भजनी नगरपालिका-५, का स्थानीय गणेश बुढाले पुल निर्माण नहुनुमा ठेकेदारको मात्र नभई सरकारी निकायको समेत लापरबाही रहेको बताए। ‘सय मिटर लामो पुल १० वर्षसम्म नबन्दा हुलाकी राजमार्ग आयोजना कार्यालय के हेरेर बस्यो’ एमाले स्थानीय नेतासमेत रहेका उनले भने, ‘कि ठेकेदारलाई कारबाही गरेर अर्कालाई ठेक्का दिनुर्पथ्यो कि त्यसैबाट काम गराउन सक्नुर्पथ्यो।’ आयोजना प्रमुखहरुले आर्थिक लाभ लिएर काम नगर्ने ठेकेदारलाई उन्मुक्ति दिने गरेको बुढाको आरोप छ। 

कान्द्रा नदीमा पुल नभएकै कारण धनगढीदेखि टीकापुरसम्म हुलाकी राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन। धनगढीबाट भजनी-टीकापुर पुग्न पूर्व-पश्चिम राजमार्ग भएर भन्दा हुलाकी राजमार्ग छोटो पर्छ। तर, नदी तर्न नसकिने हुँदा हुलाकी राजमार्गमा यातायात चल्न नसकेका स्थानीयले बताए।



पुल निर्माणको काम लामो समयदेखि ठप्प रहेकोमा भजनीका स्थानीय तुलाराम भण्डारी पनि चिन्तित छन्। हरेक वर्ष केही दिन काम गरेर ठेकेदार गायब हुने गरेको उनको आरोप छ। ‘काम भइरहेको छ, छैन भनेर न सरकारी मान्छे हेर्न आउँछन्, न ठेकेदारलाई मतलब छ।’ भण्डारीले भने, ‘पुल बन्न थालेको १०-११ वर्ष भइसक्यो, कहिले सकिन्छ भन्ने टुंगो छैन।’ 

पुल बन्न सुरु हुँदा नदी पार गर्दाका दुःखका दिन जाने भए भनेर खुसी भएका स्थानीय ढिलासुस्तीले निराश र आक्रोशित छन्। ‘दश वर्षमा आधा सकियो, यही हिसाबले काम हुने हो भने अझै १० वर्ष लाग्ला। हाम्रा दुःख उस्तै छन्।’ भण्डारीले भने।



पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता

निर्माणाधीन पुलले भजनी नगरपालिका-३, ठेकी र वडा नम्बर ५ नयाँबस्तीलाई जोड्छ। नौवटा वडा रहेको भजनी नगरपालिकाका ५, ७, ९ नम्बर वडा कान्द्रा नदीपारि पर्छन्। नदीमा पुल नहुँदा ५ र ७ वडाका बासिन्दाले वर्षायाममा भजनी बजार, नगरपालिका कार्यालय र नगरका अन्य गाउँ पुग्न सास्ती खेप्नुपर्छ।

वर्षा लागेसँगै पानी बढेको छ। गाई-भैंसी पानीमा पौडेर वार-पार गर्छन्। गोठालाहरू दस रुपैयाँ तिरेर डुंगा चढ्छन्। चारपाङग्रे निजी सवारी साधन अरुबेला चले पनि बर्खामा बन्द हुन्छन्। खेतीपाती वारिपारि हुनेले वर्षायामका तीन महिना निकै सास्ती भोग्नु परेको भजनी-३ की हरिदेवी साउद बताउँछिन्।

‘विद्यार्थीलाई स्कुल आउन समस्या छ, पुल बनाउन बनाइएको ड्यामले नदी बन्द भएर बाढी आउने गरेको छ,’ उनले भनिन्। हुलाकी राजमार्गको निर्माणाधीन पुलभन्दा करिब ५०० मिटर उत्तरमा सानो काठको पुल राखिएको छ। जहाँबाट नदी तरेको पैसा तिर्नुपर्छ।

नगरपालिकासँगको सम्झौतामा ठेकेदारले काठको पुल राखेर आउजाउ गर्नेबाट पैसा असुल गर्छन्। वर्षाले नदीमा बाढी आएको दिन भने आवतजावत नै बन्द हुन्छ। कतिपय ठाउँमा डुंगाबाट नदी तर्ने गरिएको छ।

काठको पुलबाट नदी तर्दा मान्छे र साइकलको १०÷१० रुपैयाँ तथा मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्ने भजनी-५, का स्थानीय कहरसिंह कडायतले बताए। ‘बर्खामा बाढी आएको दिन थुनिएर बस्नुपर्छ, पारि जान पाउदैनौँ।’ उनले भने, ‘पुल बनेको भए सजिलो हुन्थ्यो।’ ९ नम्बरमा भने झोलुंगे पुल छ।

भजनी नगरपालिका-९ पृथ्वीपुरका मनोज यादव दूध बेच्न दैनिक बजार जान-आउन ८० रुपैयाँ तिरेर डुंगा तर्छन्। ‘आउँदा ४०, जाँदा ४० तिर्नुपर्छ,’ उनले भने। १२ भैंसी पालेका मनोज अरु किसानको दूध पनि खरिदेर भजनीसम्म बिक्री गर्न आउँछन्। नदीमा पुल नभएकाले  उनले डुंगा चलाउने ठेकेदारलाई त्यो पैसा तिर्नुपर्छ।

‘अन्त बाटो छैन। नआउँ भने व्यवसाय चल्दैन, तर्नैपर्छ। नदिएर जान पाइँदैन। समस्या छ किसानहरूलाई,’ उनले भने।

के भन्छ हुलाकी कार्यालय ?

हुलाकी कार्यालय धनगढीका इन्जिनियर पदम मडैले सुरुको फाउन्डेसन फेर्नु परेपछि केहि ढिलो भएको बताउँछन्। उनका अनुसार फाउन्डेसन फेर्न सुरूदेखि प्रक्रियामा जानुपर्यो। त्यसमा साढे तीन वर्ष गयो।  पाँच वर्षपछि २०७३ सालमा डिजाइन रिभ्यू भयो। ठेकेदारलाई काम सक्न फेरि ३० महिना दिइयो। २०७५  असारसम्म निर्माण कार्य सक्ने म्याद थियो।

‘उसले काम सिध्याएन। कारबाहीमा जाने भन्ने भयो। तर खरिद ऐनले भनेपछि  फेरि एक वर्ष मौका दिइयो,’ उनले भने। निर्माण सक्ने म्याद थप भएर २०७७ फागुन एक वर्षसम्म पुग्यो। यस अवधिमा पनि काम सकिएन। त्यसपछि कोरोना महामारी फैलिएपछि काम नसकिएको भन्दै फेरि ६ महिना थपियो। 

अहिले २०७८ भदौ १ सम्म भनिएको म्याद वर्षातमा काम बन्द हुने भएकाले सकिएसरह भएको मडैले बताए। ‘बजेट भाषणमा अवधि थप्ने भनिएको छ, परिपत्र त आएको छैन, म्याद थप हुनसक्छ। काम गर्न कात्तिकबाट सुरू हुन्छ,’ उनले भने।

कोरोना महामारीका बेला पुलको काम नरोक्न प्रशासनले निर्देशन दिएको थियो। जसरी पनि सक्नुपर्ने भन्ने प्रशासनको निर्णय भए पनि यसपटक भने ठेकेदारको लापरबाहीले काम भएन। ‘७० प्रतिशत काम सकिएको छ। अब लगातार काम गरे चार महिनामा सकिन्छ,’ मडैले भने।

उक्त पुलको ठेक्का पाएका दुई कम्पनीले काम छोडिसकेका छन्। कालोसूचीमा पनि परेका लामा र साल्पा शेर्पा निर्माण कम्पनीले यो पुलको काम छोडेका हुन्। विरूवा निर्माण कम्पनीले भने आफ्नो इज्जत राख्न भए पनि काम जारी राखेको छ।

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १२:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया