कहाँ पुग्यो ‘फाइभ जी’ योजना ? के हुँदै छ तयारी ?

नेपाल टेलिकमले नेपालमा ‘फोर जी’ सेवा २०७३ पुस १७ गतेदेखि सञ्चालनमा ल्याएको थियो। टेलिकमले काठमाडौं र पोखराका जिएसएम पोष्टपेड प्रयोगकर्ताका लागि ‘फोर जी’ सेवा सुरु गरेको ६ वर्ष भइसकेको छ।  ‘फोर जी’ सँगै छिटै ‘फाइभ जी’ सञ्चालनमा आउने सूचना प्रविधिको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले जानकारी दिएको थियो। 

नेपाल टेलिकमका अनुसार  अहिले  ‘फोर जी’ का ग्राहक संख्या २६ लाख ६८ हजार  छन्। ‘फोर जी’ कै पूर्वाधारमा फाइभ जी सञ्चालन गर्न सकिने नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ। 

अहिले ‘फोर जी’को प्रोजेक्ट सकिएको  र ‘फाइभ जी’को तयारी भइरहेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए। ‘फोर जी’ कै पूर्वाधारमा फाइभ जी सञ्चालन गर्नका लागि सिस्टम अपग्रेड गर्ने तयारीमा रहेको जोशीले बताए।  

‘फाइभ जी’को पहिलो चरणमा एक वर्ष परीक्षणकाल हुने प्रवक्ताको भनाइ छ। यसपछि देशैभरि कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पूर्ण योजना बन्ने टेलिकम जोशीले जानकारी दिए। 

निःशुल्क परीक्षण हुने ‘फाइभ जी’का लागि शुल्क नलाग्ने ग्राहक रेडियो स्वीकृति भइसकेको टेलिकमले जनाएको छ। 

नेपालमा ‘फाइभ जी’ सेवा छिट्टै सञ्चालनमा ल्याउनु आवश्यक रहेको सूचना तथा प्रविधिविज्ञ आनन्दराज खनालले बताए।   विश्वका विभिन्न मुलुकमा ‘फाइभ जी’ सञ्चालनमा आइसकेकाले नेपालले ढिला गर्न नहुने खनालको भनाइ छ। 



फाइभ जी सञ्चालनका लागि कार्यविधि तयार भएर फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पठाइएको दूरसञ्चार प्राधिकरणका फ्रिक्वेन्सी शाखाका प्रमुख तथा निर्देशक प्रदीप पौड्यालले जानकारी दिए। 

सञ्चारमन्त्री संयोजक रहने यस  समितिले नेपाल टेलिकमलाई एक वर्ष परीक्षणका लागि स्विकृत दिइसकेको निर्देशक पौड्यालले बताए। 



विश्वका अधिकांश प्रविधि विज्ञ अहिले ‘फाइभ जी’को विकासबारे मात्र नभई सम्भाव्यताबारे पनि अध्ययन गरिरहेका छन्। ‘फाइभ जी’का लागि चाहिने भौतिक पूर्वाधारबारे पनि थुप्रै अध्ययन भइरहेको नेपाल टेलिकमका निर्देशक मीन प्रसाद अर्याल बताउँछन्। 

‘फाइभ जी’मा  सबै जेनेरेसनका विशेषतासहित अन्य प्रविधि समाहित रहेका अर्यालले जानकारी दिए। 

पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात् ‘फाइभ जी’को गति लगभग ५०० मेगाविट्स प्रतिसेकेन्ड बनाउने लक्ष्य राख्नुले नै यस परियोजना महत्वकांक्षी रहेको उनको भनाइ छ। 

‘फाइभ जी’ सञ्चालनका लागि फोरम गठन 

फाइभ–जी सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम गठन गरेको थियो। प्राधिकरणले सञ्चालक समिति सदस्य सीमणि चौलागाईंको नेतृत्वमा फोरम गठन भएको थियो।

समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधिविज्ञ आनन्दराज खनाल, उपसचिव अनुप नेपाल, प्राधिकरणका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेल सदस्य थिए। नेपाल टेलिकम र एनसेलका प्रतिनिधिसहितको फोरम बनेको थियो।  

फोरमले केही वर्षअघि नै प्रायः सबै ब्यान्डमा प्रविधि तटस्थता विधिबाट ‘फाइभ जी’ का लागि फ्रिक्वेन्सी उपयोग गर्न सकिने सुझाव पेस गरेको थियो। यसअघि प्रविधि तटस्थता विधिबाटै १८०० मेगाहर्ज ब्यान्डमा फोरजी सञ्चालनमा ल्याइएको थियो। 

‘फाइभ जी’ का लागि फ्रिक्वेन्सी 

फोरमले विभिन्न ब्यान्डमा फाइभ–जी फ्रिक्वेन्सी सञ्चालन गर्न सकिने सिफारिस गरेको हो। समितिले न्यून ब्यान्डअन्तर्गतका ७००, ९००, १८००, २३००, २६०० मेगाहर्ज सिफारिस गरेको थियो। यस्तै मध्यम ब्यान्डका ३३००, ३४००, ३६००, ४७०० मेगाहर्ज र उच्च ब्यान्डको २६ मेगाहर्ज ब्यान्डलाई फाइभ–जी प्रविधिका लागि उपयोग गर्नसक्ने गरी प्राधिकरणलाई सुझाव दिएको थियो।

समितिले यसअघि नै सिफारिस गरेका ब्यान्डअन्तर्गत सेवा प्रदायकलाई उपलब्ध गराउन सकिने न्यूनतमदेखि अधिकतम फ्रिक्वेन्सी पनि टुंगो लगाएको छ। जसअन्तर्गत न्यून फ्रिक्वेन्सी ब्यान्डहरूमा १० देखि २० मेगाहर्ज, मध्यम ब्यान्डअन्तर्गत १०० मेगाहर्जसम्म र उच्च ब्यान्डमा १०० मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन सकिने समितिको सिफारिस छ।

प्राधिकरणले आवश्यक संशोधन गरेर नेपालको उच्च निकायका रूपमा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सुझावका रूपमा सिफारिस पेस गर्नेछ।
 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार ८:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया