लापरवाही गरेको भन्दै मुटुरोग विशेषज्ञ डा. खत्री कारबाहीमा, एक वर्ष काम गर्न नपाउने

नेपाल मेडिकल काउन्सिलले उपचारमा लापरवाही गरेको ठहर गर्दै एक मुटु रोग विशेषज्ञ डाक्टरलाई कारबाही गरेको छ । काउन्सिलले नेपाली सेनाको अस्पतालमा कार्यरत मुटुरोग विशेष डाक्टर ऋषि खत्रीलाई कारबाही गरेको हो । 

नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जबराको स्वास्थ्य जाँचमा लापरवाही गरेको भन्दै काउन्सिलले डा. खत्रीलाई कारबाही गरेको हो । काउन्सिलले उनलाई एक वर्षसम्म मुटुरोग विज्ञ (कार्डियोलोजिष्ट) को हैसियतमा काम गर्न रोक लगाएको छ । 

खत्रीले एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेस गरेपछि मात्र मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय गरेको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

क्याप्टेन राणाको १० मंसिर २०७७ मा हृदयघातका कारण मृत्यु भएको थियो । ९ मंसिर २०६६ को राति मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज भएपछि राणालाई ह्याम्स अस्पताल लगिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्ट राणाको मृत्यु भएको थियो । 

राणाको मृत्युपछि उनको परिवारले स्वास्थ्य जाँचमा संलग्न डा. खत्री र नागरिक उड्डयन प्राधिकरणका नागरिक उड्डयन चिकित्सा निर्धारक डा. राजीवकुमार देवविरुद्ध उजुरी गरेका थिए । 

डा. खत्रीले उनको मुटुको परीक्षणपछि सबै अवस्था सामान्य रहेको रिपोर्ट दिएका थिए । उनले जाँच गरेपछि क्याप्टेन राणा विमान उडानका लागि गएका थिए ।



काउन्सिलले अनुसन्धानको क्रममा गलत रिपोर्ट पेस गरेको ठहर गरेको हो । राणाकी श्रीमती पुष्पा शाह राणाले ४ चैत २०७७ मा काउन्सिलमा उजुरी दिएकी थिइन् । उजुरीमाथि छानबिनको क्रममा डा. खत्रीले लापरवाही गरेको देखिएको काउन्सिलका रजिष्ट्रार डा. अधिकारीले बताए । 

काउन्सिलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत चिकित्सकको नियुक्ति तथा उनीहरूको जिम्मेवारी दिँदा विशेष ध्यान दिन निर्देशन दिएको छ । 



विमान चालक पाइलटहरूको स्वास्थ्य परीक्षण गराउँदा सम्बन्धित विषयको दर्तावाल विज्ञ चिकित्सकबाट परीक्षण गराउने, विज्ञको पहिचानमा कुनै सहयोग आवश्यक भए काउन्सिलमा सम्पर्क गर्न निर्देशन दिएको छ । 

त्यस्तै, ४० वर्ष उमेर पुगेका पाइलटहरूको स्वास्थ्य परीक्षणलाई थप कडाई गरी विषयविज्ञको राय बमोजिम गर्न समेत निर्देशन दिएको छ । 

  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १३:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया