हरियो उलार
फरकधार / १६ साउन, २०७८

यो हरियो महिनामा प्रेमललवाको टाँगा उसैगरी नेपालगञ्ज सहरको कुनै कुनामा उलार भएर पल्टिरहेको होला । टाँगाका वरिपरी हरिया लेउ लागेका होलान्। सहरको अलि परतिर बालीनाली पूरै हरिया भएका होलान् । ‘उलार’ ले त नेपाली पाठकबाट आजभन्दा झण्डै अढाइ दशकअघि नै हरियो झण्डा पाएकै हो । हरियो झण्डा उसै गरी अहिले पनि फर्फराइरहेको छ, उलारको स्वीकृतिमा। नयनराज पाण्डेको आख्यानकारिताको अनुमोदनमा।



२०५३ साल असारको अन्तिम कुनै दिन । ‘तन्नेरी’ साहित्यिक द्वैमासिकको नयाँ वर्ष अङ्क निकाल्न ढिलो भइसकेको थियो । त्यो बैशाख–जेठ अङ्क थियो, तर महिना भने साउन लागिसकेको थियो । द्वैमासिक भने पनि पत्रिका अनियतकालीन जस्तै थियो ।

वर्षमा बढीमा चार अङ्क निस्कन्थ्यो, कहिलेकाहीँ त तीनमात्रै । उक्त अङ्कका लागि रचनाहरुको जोरजाम त गरिसकेको थिएँ, तर प्रकाशक विदुर गौतम थप विज्ञापनको खोजमा दौडिरहेका थिए। 

साहित्यिक पत्रिकाले विज्ञापन पाउनु उसै पनि सहज काम थिएन, अहिले पनि छैन । म भने उक्त पत्रिकाको प्रधानसम्पादकका नाताले समयमा स्तरीय ढङ्गमा पत्रिका निकाल्न हतारिएको थिएँ । छिटो प्रेस पठाउन प्रकाशकलाई दबाब दिइरहेको थिएँ । बैशाखमै निकाल्नु पर्ने अङ्क असारको अन्तिम भइसक्दा पनि प्रेसमा गएको थिएन।



नयाँ सडक–पीपलबोट दैनिक भेटघाटको चौतारी थियो त्यसबखत । त्यहाँ दिनहुँ पुग्ने लेखकमध्ये म पनि एक थिएँ । त्यो दिन पनि म पुगेँ अलि चाँडो, परैबाट नयनराज पाण्डे हातमा केही बोकेर आउँदै गरेको देखेँ ।

‘एउटा उपन्यास लेखेँ यार, निकै चाँडो तयार भयो । सानो छ, लघुउपन्यास हो यो,’ उनले भने र हरियो गाता भएको कापी मलाई देखाए।

‘छोटो नै रहेछ यार, तन्नेरीमा छापुम् यसलाई । यही अङ्कमा हाल्छु,’ मैले भनेँ । तयार भइसकेका अरु रचना अर्को अङ्मा राखुँला, यसमा तिम्रो उपन्यास हालुँ । नयन केही उत्साही भयो । हातका औंला पड्काउँदै भन्यो, ‘पत्रिकामा पूरै उपन्यास छाप्दा राम्रो होला र ?’  

नियमित चिया खाने ठाउँमा केही लेखक आउन थालिसकेका थिए । म र नयन मोटरसाइकलमा पुतलीसडकतिर हुइँकियौं । एउटा रेस्टुराँमा बसेर उनको उपन्यास तन्नेरीमा प्रकाशित गर्नेबारे हाम्रो सहमति भयो । त्यो दिन नयन निकै उत्साहित देखिन्थ्यो भने म खुसीले पुलकित थिएँ ।

हरियो गाता भएको कापीको भित्रका कथाले मेरो मनमा हरियाली ल्याइदिएको थियो । उलारका केही पृष्ठ पुतलीसडकको रेस्टुराँमै बसेर मैले पढिसकेको थिएँ । जतिजति पृष्ठ पल्टिँदै जान्थ्यो उतिउति मलाई कथाले तानिरहेको थियो । मलाई रक्सीले भन्दा प्रेमललवा र द्रोपदीको प्रेमले लठ्याइरहेको थियो ।
‘अब घर गएर पढ यार,’ नयन बोल्यो । मैले कापी बन्द गरेँ ।

घर पुगेको आधा घण्टामा उपन्यास पढिसिध्याएँ । ‘क्या चिज लेखिस् यार,’ मैले हातले कापी सुम्सुम्याएँ र एक पटक चुमेँ ।
भोलिपल्ट हामी उसै गरी नयाँ सडकमा भेटियौं । उसलाई तन्नेरीमा उलार छापिने बताएँ । ‘छाप्ने भयौ खुसी लाग्यो, अब त्यो पहिला पत्रिकामा निस्कियोस् अनि त्यसले पुस्तकको रुप पनि लिओस् ।

त्यो कामको जिम्मा तिम्रो । अनि पुस्तकमा चाहिँ दुई जनाको भूमिका चाहिन्छ मलाई । एउटा तिम्रो र अर्को श्यामल दाइको,’ उसले सर्त राख्यो । सर्त झनै बढी प्रेमिल थियो । नयनको उपन्यासमा भूमिका लेख्न पाउनु मैले आफूले पाएको एउटा सुनौलो अवसर महसुस गरेँ । 

साउनको तेस्रो सातातिर तन्नेरी निस्क्यो । म कहिले तन्नेरी हात पर्ला भनेर व्यग्र थिएँ । कभर अलि अघि नै तयार पारिसकिएको थियो । त्यसको मूल चित्र पनि हरियो रङकै थियो, पृष्ठभूमि भने रातो । आवरणकार थिए, पोखरेली कलाकार रमेश श्रेष्ठ ।

साउन रित्तिँदै थियो र प्रकृतिमा हरियो झनै गाढा बन्दै थियो । राजधानीका घर अन्य भौतिक संरचना बनेर बचेखुचेका ठाउँमा हरिया वनस्पति हलक्कै बढेका थिए । नयाँ सडकको बूढो पीपलको बोटमा पनि चिल्ला पातहरु पलाएका थिए । 

केही महिनापछि उलार पुस्तकाकारमा निकाल्ने प्रक्रिया अघि बढ्यो । समयमै मैले भूमिका तयार पारेँ, छोटो । केही दिनमा कवि श्यामलको भूमिकासहित उलार पुग्यो प्रेसमा । उलारको आवरण उनै प्रतिभाशाली कवि श्यामलले बनाएका थिए । 

अचानक प्रकाशकले खबर ल्याए– भूमिका हरायो । उनले आफ्नो ब्यागबाट हामी दुवैजनाले लेखेको भूमिका कतै खसालेका थिए । मलाई दिक्क लाग्यो, उनको हुस्सुपना देखेर झोँक पनि चल्यो । फेरि अर्को भूमिका लेख्ने जाँगरै चलेन । त्यो जाँगर नचल्नु भनेको एकातिर मेरो लेख्न अल्छी मान्ने स्वभाव थियो भने अर्कोतिर सुनौलो अवसर खेर फाल्नु थियो । तर श्यामलले भने बडो जाँगरका साथ अर्को भूमिका लेखे । 

पुस्तक पनि निस्क्यो । तर, उलारले नेपाली साहित्यका पाठकबाट तन्नेरीमा निस्कँदा नै चर्चा पाउन थालिसकेको थियो । पुस्तकमा निस्केपछि झनै त्यसको चर्चा बृहत् बन्दै गयो । 

नयनको उपन्यासले जम्माजम्मी ४५ पृष्ठ ओगटेको थियो, त्यसमा पाँच पृष्ठभन्दा बढी त विज्ञापन नै थिए । पुस्तकमा निस्कँदा त जम्माजम्मी ४० पृष्ठ ! एउटा लामो कथा जत्रो थियो त्यो सुन्दर उपन्यास । तन्नेरीमा केही अन्य रचनाहरु त थिए नै अघिपछि जस्तै त्यस अङ्कमा पनि, तर उलार विशेष थियो । उलारले त्यस अङ्कका अन्य रचनालाई थिचिदिएको थियो । ठूला रुखले सानाको अस्तित्व लुटेको जस्तै हुन पुगेको थियो, त्यो अङ्क । 

त्यसबखत तन्नेरी नेपाली साहित्यिक पत्रिकाजगत्मा सफलताको सिँढी उक्लने क्रममा थियो । हुलाकमार्फत् नयाँ–पुराना र स्थापित लेखकहरुका रचना प्रशस्तै आउँथे । तर, नयनको उपन्यास नै छापिएपछि अन्य केही लेखकले पनि आफ्नो उपन्यास छापिदिन अनुरोध गर्न थाले । 

नयनको उलारको चर्चा त्यसबेलै निकै भएको थियो । चर्चा अहिले पनि कायम छ । पत्रिकाको त्यो अङ्क बजारबाट अघिपछि भन्दा निकै चाँडो सकिएको थियो । नवोदित र स्थापित लेखकहरुबीच उलारबारे चर्चा बाक्लिन थाल्यो । जति हुनु पथ्र्यो, त्यति त भएको थिएन तर त्यसबखतको अवस्थाअनुसार त्यसले चर्चा पाएको थियो । 

कुनै एक जना स्वनामधन्य कवि÷समीक्षकबाहेक सबैले उलार मन पराएका थिए । ती समीक्षक विशेष गरी परपीडक थिए, उनलाई आफूबाहेक अरु लेखक नै लाग्दैनथ्यो । धेरै वर्षपछि उनै समीक्षकले आफ्नो पुरानो मान्यता भत्काउँदै मसँग भनेका थिए– ‘राम्रो रहेछ उलार । नयनले योचाहिँ राम्रै लेखेछ ।’ उलारले आजभन्दा अढाइ दशकअघि नै पाठकको मन जितेको हो। 

उलार नेपाली उपन्यासमा सर्वाधिक रुचाइएका आख्यानहरुमध्येको एक हुन सफल भएको छ । यसलाई अहिले प्रकाशन संस्था फाइन प्रिन्टले विभिन्न संस्करणमार्फत् बजारमा ल्याएको छ । उलारपछि नयनले लू, घामकीरी र सल्लिपिर, यार (संस्मरण), जियरा (कथासंग्रह), निदाएँ जगदम्बा (कथासंग्रह) चकलेट (कथासंग्रह), लेखिसकेका छन् । उनको लेखनयात्रा निकै गतिमय छ । उपन्यासका साथै कथासङ्ग्रह र संस्मरण पनि उनले लेखिसकेका छन् । 

उलारले समातेको तराई–मधेसको पृष्ठभूमि र राजनीतिक विषय आख्यानकार पाण्डेको ‘सिग्नेचर’ बनेको छ । पाण्डेले जेसुकै लेखे पनि उनका नियमित पाठक यही सिग्नेचर पछ्याइरहेका छन् र यसैलाई प्रेम गरिरहेका छन् । एउटा लेखकको सिग्नेचर बन्नु उसै पनि ठूलो प्राप्ति हो । बनेको सिग्नेचर भत्काउने छुट लेखकलाई त छ, तर पाठकले त्यसलाई स्वीकार नगर्न पनि सक्छन् । पाण्डेको सिग्नेचर आफैंमा बलशाली देख्छु म ।

एउटा लेखकले जीवनमा लेखेका सबै रचना उत्तिकै स्तरीय हुँदैनन्, त्यो सम्भव नै छैन । हामी सम्झौं न– महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजा, भूपि शेरचन वा कतिपय लेखकलाई । तिनका थोरै रचनामात्रै हामी स्मरण गर्न सक्छौं । जुन रचनालाई मथिंगल हल्लाउन सक्यो, सम्झने त्यही हो । 

लेखकका सबै रचनाले मथिंगल हल्लाउन कहाँ सक्छ र ! लेखकका विभिन्न सीमा पनि हुन्छन् । पाठकका रुचि पनि फरकफरक हुन्छन् । कसैलाई एकथरि लेखन मन पर्ला, कसैलाई अर्को । तर, उलारले सबैथरि पाठकको मन जित्न सकेको देख्छु । उलार नेपाली राजनीतिको विद्रुप तस्बिरको कथा हो । त्यो विद्रुपता कम हुने कुनै छाँट छैन । राजनीति झनै बढी ‘उलार’ हुन पुगेको छ । 

त्यो राजनीतिक उलारलाई जनताले मनभित्रबाट कहिल्यै हरियो झण्डा देखाएका छैनन् । उनीहरु त्यसलाई रातो झण्डा देखाउन चाहन्छन्, तर समाजका अधिकांश मानिस सोही उलार भएको राजनीतिमा आफ्नो फाइदा देख्छन् । रातो कतै अदृश्य हुन पुग्छ, नक्कली हरियोको भीडमा । उलार राजनीतिलाई मेरो सधैं रातो झण्डा, तर नयनको उलारलाई हरियो । 

नयनको उलारका निम्ति हरियो झण्डा बोकेर अढाइ दशकअघि माथि उचालिएका मेरा हातहरु अहिले पनि त्यो प्रिय पुस्तक देख्दा त्यसै गरी उचालिन पुग्छन् । 

मलाई हरियो महिनामा कुनै दिन नेपालगञ्ज पुग्ने मन छ । र, प्रेमललवा, द्रोपदी, राजिन्दरबाबु, शान्तिराजा, कलुवासँग भलाकुसारी गर्ने ‘बहुत’ इच्छा छ । मुख्य कुरो त, नेपालगञ्ज बजार आसपास उलार भएर पल्टिरहेको हरियो लेउ लागेको प्रेमललवाको टाँगा हेर्नु छ मलाई । 
 

  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार ७:४९:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया