दार्चुला तुइन प्रकरण : प्रत्यक्षदर्शी ३ जनालाई सदरमुकाम झिकाइयो
फाइल तस्बिर

दार्चुलामा महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे थप अनुसन्धान गर्न प्रत्यक्षदर्शी तीन जनालाई सोमबार जिल्ला सदरमुकाम खलंगा झिकाइएको छ । 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीन जना प्रत्यक्षदर्शीलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको हो । यसअघि, सशस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा एउटा टोली र नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर घटनाको बारेमा अध्ययन अनुसन्धान गरेको थियो ।

दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम जान लागेका स्थानीय ३३ वर्षीय धामी शुक्रबार तुइन तर्दै गर्दा नदीमा खसेर बेपत्ता भएका थिए । 

अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल, एसएसबीले तुइन काटेर ‘हत्या’ गरेको आरोप लागेको छ । स्थलगत अध्ययनमा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएको हो कि होइन, धामी नदीमै डुबेर बेपत्ता भएको हो कि होइन भन्ने खुलेको छैन ।

प्रत्यक्षदर्शीले भने तुइन नजिकै हातमा आरा लिएका भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरू देखेको र उनीहरुले नै तुइन काटिदिएको हुनसक्ने दाबी गर्दै आएका छन् । तुइन काटिएको सम्बन्धमा भारतीय सीमा सुरक्षा बल, एसएसबीले अनभिज्ञता जनाउँदै आफ्नो संलग्नताबारे इन्कार गरिसकेको छ । 

यसअघि पनि भारतीय एसएसबीले तुइन काट्ने गरेकाले त्यस समयमा पनि तुइन तर्दै गर्दा काटिदिएको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । घटनालाई नजिकबाट देखेका व्यक्तिलाई सदरमुकाम बोलाइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिइन् ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १५:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया