अपराधमा महिला : सामाजिक, लागुऔषध र कर्तव्य ज्यानमा सबैभन्दा बढी !

नेपाल प्रहरीको आँकडाले मुलुकमा पछिल्लो समय अपराधको ग्राफ उकालो चढिरहेको देखाउँछ । जघन्य र गम्भीर प्रकृतिका अपराध तथा महिलासँग सम्बन्धित, लागूऔषधजस्ता अन्य अपराधको रफ्तार पनि बढ्दै गएको छ ।

प्रहरी मुख्यालयको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा गम्भीर प्रकृतिका अपराधमा कर्तव्य ज्यान २५.५८, ज्यान मार्ने उद्योग २०.९४, जबरजस्ती करणी १८.१९ प्रतिशतले बढेको छ । यसैगरी जबरजस्ती करणी उद्योग ६.९९ र लागू औषध ४.४४ प्रतिशतले बढेको छ ।

महिला तथा बालबालिकासँग सम्बन्धित अन्य अपराधको अवस्था पनि बढ्दो क्रममै रहेको प्रहरी मुख्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७७/०७८ मा अघिल्लो आवको तुलनामा महिलासँग सम्बन्धित अपराधमा बाल यौन दूराचार २०.२५, घरेलु हिंसा २१.२४ र बोक्सी आरोपको घटना ७९.४१ प्रतिशत बढेको छ । 

मुलुकमा अपराधको ग्राफ उकालो लाग्दा एकातिर सर्वसाधारणमा त्रास बढेको छ भने सुरक्षानिकायलाई चुनौती थपिएको छ । सुरक्षाविद्हरु यसलाई अत्यन्तै नराम्रो संकेत मान्छन् । कारण- आपराधिक कार्यमा युवा वर्गको संलग्नता बढी हुने गर्छ, अनि यो वर्ग भनेको देशको मेरुदण्ड हो । पछिल्लो समय आपराधिक क्रियाकलापमा महिला संलग्नतासमेत वृद्धि हुन थालेपछि चिन्ता झनै बढेको छ । 

महानगरीय अपराध महाशाखाले ४ साउनमा तीन जना महिलासहित चार जनालाई पक्राउ गर्यो । आजभन्दा १६ दिन अगाडि अपराध महाशाखाले जापान पठाइदिन्छु भनी रकम ठगी गर्ने तीन महिलासहित चार जनालाई राजधानीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौंको नयाँ बजार बस्ने शुभद्रा परियार, नयाँ बानेश्वर बस्ने पूजा राई, भक्तपुर खरिपाटी बस्ने दीपिका केसी र कपन बस्ने राजेन्द्र ढकाल रहेका छन् । 

उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा ‘टिएएनएकेएवाइओकेए’ नामबाट साथी बनाएर जापानमा ‘वर्किङ’ भिसामा पठाइदिने प्रलोभन दिँदै ठगी गरेका थिए । उनीहरुले साढे ३९ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।



यसैगरी मकवानपुर प्रहरीले २३ किलोग्राम गाँजासहित चार महिना अगाडि अटो चालकसहित २ महिलालाई पक्राउ ग¥यो । चेकजाँचको क्रममा मकवानपुर ११ बाट प्रहरीले अटो चालकसहित मकवानपुरकै निर्मला तामाङ र माया तामाङलाई नियन्त्रणमा लियो । प्रहरीले पक्राउ गरेका सबैलाई लागू औषध मुद्दामा म्याद थप गरी कारबाही अगाडि बढायो ।

यो घटनाको ठीक एक महिनाअघि बारा जिल्लाबाट पनि प्रहरीले लागू औषधसहित एक महिलालाई पक्राउ गरेको थियो । बारा प्रहरीले ९ चैतमा लागू औषध गाँजासहित मीना देवीलाई पक्राउ गरेको हो । 
पर्साको जिराभवानीपुर गाउँपालिका ४ बस्ने ५० वर्षीया मीना देवीलाई १२ किलोग्राम गाँजासहित जीतपुरबाट बारा प्रहरीले पक्राउ गरेको थियो । जीतपुर हुँदै पर्सा जाने क्रममा शंकास्पद गतिविधि गरेपछि चेकजाँचको क्रममा उनको साथबाट प्रहरीले लागू औषध बरामद गरेको थियो । 



प्रहरी मुख्यालयको तथ्यांक हेर्दा विभिन्न आपराधिक गतिविधिमा महिला संलग्नता बढ्दै गएको पाइएको छ । प्रहरी तथ्यांकमा आपराधिक गतिविधिमा ६ दशमलव २८ प्रतिशत महिला संलग्न रहेको देखिन्छ । तर, महिलाको तुलना पुरुषको संख्या निकै बढी छ । ९३ प्रतिशत भन्दा बढी पुरुष आपराधिक गतिविधिमा संलग्न छन् ।

प्रहरी आँकडा
प्रहरी प्रधान कार्यालयको आँकडामा दुई वर्षमा आपराधिक गतिविधिमा संलग्नता रहेको आरोपमा ४,१५५ जना महिला पक्राउ परेका छन् । यही अवधिमा ६६,११३ जना पुरुष पक्राउ परेका छन् । 

आव ०७७/०७८ मा ३३,०५० जना महिला र पुरुष विभिन्न मुद्दामा पक्राउ परेका छन् । जसमध्ये महिला १,७५७ जना मात्रै रहेको रेकर्ड छ  भने ३०,८९३ जना पुरुष पक्राउ परेका छन् । 
यसैगरी, ०७६/०७७ मा ३८,३५१ जना विभिन्न मुद्दामा पक्राउ परेको तथ्यांक छ । जसमध्ये २,३९८ जना महिला छन भने बाँकी सबै पुरुष छन् ।

कुनकुन अपराधमा संलग्नता बढी ?
प्रहरी तथ्यांकअनुसार दुई वर्षयता ४,१५५ जना महिला विभिन्न अपराधमा संलग्न रहेको पाइयो । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको अपराधमा १,२७३ महिला संलग्न रहेका छन् । 

याेबाहेक दोस्रोमा लागुऔषधमा ३९५ जना र तेस्रो नम्बरमा कर्तव्य ज्यानमा २३९ जना महिला पक्राउ परेका छन् । साथै लुटपाट, चोरी, अवैध सामान ओसारपसारलगायतका कार्यमा पनि महिलाको संलग्नता देखिएको प्रहरीको तथ्यांक छ । 
प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म लागू औषध, हत्या, अपहरणजस्ता गम्भीर प्रकृतिका अपराधमा कम महिलाको संलग्नता छ ।  

आव ०७६/०७७ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको अपराधमा ८९९, लागू औषधमा १९२ र कर्तव्य ज्यानमा ११९ जना महिला पक्राउ परे । यसैगरी, ०७७/०७८ मा यसै सन्दर्भमा ३७४, लागू औषधमा २०३ र कर्तव्य ज्यानमा १२० जना महिला पक्राउ परेका छन् ।

किन बढ्यो महिला संलग्नता ?
समाजमा महिला प्रतिको विश्वास निकै बढी छ । आपराधिक क्रियाकलापमा महिला संलग्नता पत्याउन निकै गाह्रो हुन्छ । तर, पछिल्लो समय विभिन्न प्रलोभनमा परेर महिलाहरू आपराधिक  कार्यमा संलग्न हुने गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी मुख्यालयका प्रवक्ता वसन्तबहादुर कुवँरले आर्थिक अवस्था कमजोर तथा पारिवारिक समस्याका कारण पछिल्लो समय महिलाहरू आपराधिक क्रियाकलापमा संलग्न हुने गरेका बताए । अर्को कारणमा, बदलाको भावनाले पनि महिलाहरु आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको उनको भनाइ छ । सामाजिक सञ्जाल र प्रविधिका कारण पनि महिलाहरु अपराधमा लाग्न थालेको प्रवक्ता कुँवरको दाबी छ । 

बढी स्वतन्त्र महिला आपराधिक गतिविधिमा संलग्न हुने गरेको सुरक्षाविद्हरुको बुझाइ छ । महिलाहरु बढी ‘एक्सपोजर’ पाएर अपराधमा संलग्न हुने गरेको सुरक्षाविद् पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन् । सुरक्षा एजेन्सीहरुको कमीले पनि महिलाहरु आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको मल्लको भनाइ छ । 

उनी भन्छन्, ‘हाम्रा सुरक्षा एजेन्सीहरु खाली पुरुष अपराधीमा ध्यान दिन्छन्, जसले गर्दा महिला अपराधी छायाँमा पर्छन् । अनि तिनीहरुको अपराधमा संलग्न बढ्दै जान्छ । त्यसकारण महिलातर्फ पनि सुरक्षा निकायको ध्यान हुनुपर्छ ।’ अपराधमा न्यूनीकरणका लागि नैतिक शिक्षा बढी उपयोगी हुने उनको भनाइ छ । 

  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १६:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया