देउवा पक्षीय जिल्ला सभापतिहरुको निष्कर्ष : इतर पक्षले महाधिवेशन भाँड्न खोज्यो

नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरूले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । जिल्ला सभापतिहरूको भेलाले उक्त निष्कर्ष निकालेको हो । 

ललितपुरको समिट होटलमा बिहीबार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरूको बैठकले इतर पक्षीय सभापतिहरूको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् । 

बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४ औँ महाधिवेशनलाई फोकस गरेर छलफल भएको बताए । उनले महाधिवेशनको समय सकिन लागेको जनाउँदै दश–बाह्र दिनमै महाधिवेशन सिध्याउन सक्ने बताए । 

बोहराले भने, ‘१४ औँ महाधिवेशनलाई नै फोकस गरेर छलफल गर्यौँ, किनभने १४ औँ महाधिवेशनको समय सकिन लाग्यो, हामीले महाधिवेशन १०÷१२ दिनमै सक्छौँ, यदि कांग्रेसको क्रियाशील विवाद सकियो भने । हामीसँग अझै समय छ, छिटोभन्दा छिटो महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्छ र महाधिवेशन गर्नुपर्छ भन्ने विषयलाई नै फोकस गरियो ।’

नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेश यादवले कांग्रेसले सप्तरी र बारा जिल्लालाई पनि नयाँ क्रियाशील सदस्यता दिनुपर्ने माग राखेको बताए । उनले जिल्लाका केही वडाहरूले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राखे । 

यादवले भने, ‘देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको कांग्रेसले देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको छ, सप्तरी र बारा जस्तो जिल्लालाई नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र गरेको छ, सभापतिको भेलाले सप्तरी र बाराको नयाँ क्रियाशील सदस्यताको फाइल दिनुपर्छ भनेर एकमतले कुरा उठाएका छौँ ।’



नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले कांग्रेसको १४ औँ अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत छिटो सम्पन्न गर्नुपर्ने बारेमा छलफल गरेको बताए । उनले बारा र सप्तरी जिल्लाका केही वडाहरूमा क्रियाशील सदस्यताको विषयलाई निकालेर महाधिवेशन अल्मल्याएको आरोप लगाए । उनले महाधिवेशन टार्नका लागि शीर्ष नेताहरुले बेवास्ता गरिरहेको बताए । 

खड्काले भने, ‘यो अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्छ भन्ने ध्येयका साथ हामी छलफलमा छौँ, यही सुझावसहित केही बुँदाहरु पनि सार्वजनिक गरेका छौँ, अहिले क्रियाशील सदस्यतालाई अल्मल्याएर विशेष महाधिवेशनमा लैजाने भ्रम छ, यो भ्रममा रहनुहुँदैन, क्रियाशील सदस्यताको टुंगो लगाउन शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको छ, उहाँहरुले त्यसलाई बेवास्ता गरेको जस्तो हामीले बुझेका छौँ, बेवास्ताको पछाडि अधिवेशन अल्मलियोस्, अधिवेशन गर्ने भनेर प्रेसर दिने तर क्रियाशीलले अधिवेशनभन्दा अघिका काम रोकिराख्ने प्रपञ्चको अन्त्य होस् ।’



नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवारले क्रियाशील सदस्यहरुको विवाद नरहेको बताए । उनले सर्वपक्षीय रुपमा बनेको छानबिन समितिले सर्वपक्षीय रुपमै निर्णय गरेकोले विवाद नरहेको बताए । निर्णय भइसकेको कुरा निकाल्नु अधिवेशनलाई धकेल्ने कुरा मात्रै भएको उनको गुनासो छ ।

सुनुवारले भने, ‘क्रियाशील सदस्यहरुको विवाद छैन, विवाद भएको भए छलफल हुन्थ्यो, यसमा सर्वपक्षीय छानबिन समिति बनेको छ, यसले सर्वपक्षीय रुपमै निर्णय गरेको छ, निर्णय भइसकेको कुरा निकाल्नु भनेको अधिवेशनलाई धकेल्ने काम मात्रै हो ।’

नेपाली कांग्रेस बाराका जिल्ला सभापति जयचन चौरासियाले विधिसम्मत रुपमा बारा र सप्तरीका क्रियाशील सदस्यहरुको फाइल खोल्नुपर्ने बताए । 
उनले भने, ‘अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ । बारा र सप्तरीको क्रियाशीलका फाइलहरू खोलिएको छैन, त्यसलाई विधिसम्मत रुपमा अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ र विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना सबै सदस्यहरुलाई सदस्यता दिनुपर्छ ।’

  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १८:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया