महिला फुटबल : एसियन कपका लागि २८ खेलाडी छनोट
फाइल तस्बिर

एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । 

राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक टोलीबाट १७ खेलाडी बाहिरिँदा यसअघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको बताएको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । तर, परीक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ ।

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमण दरका कारण तटस्थ स्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ । 

छनोट खेल १३ देखि २५ सेप्टेम्बरसम्म हुँदैछ ।  २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन् । 





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १६:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया