अमर न्यौपानेका ५ कविता

प्रेमगीत 

मेरो मनको गीत
तिम्रो बगैँचाका चराहरूले गाएको 
सुन्यौ कि ? 
सुनेको भए 
मेरो ढुकढुकी सुन्यौ तिमीले
बुझेको भए
मेरो अन्तरआवाज बुझ्यौ तिमीले
नबुझेर केवल आनन्दित मात्र भएको भए 
मलाई प्रेम गर्‍याै तिमीले
चराहरूको आवाज कर्कस लागेर
बारबार धपाएको भए
मलाई घृणा गर्‍याै तिमीले
जति धपाए पनि हानेर
ढुंगाले
गुलेलीले
बन्दुकले
लुकीलुकी भए पनि चराहरू
आउन छोड्ने छैनन् तिम्रो बगैँचामा
र,
गाउन छाड्ने छैनन् प्रेमको गीत
मेरो मनको गीत 
तिम्रो बगैँचाका चराहरूले 
गाएको सुन्यौ कि ?

लेख्न मन लाग्दैन कविता

हिजोआज लेख्न मन लाग्दैन कविता
लेख्न खोज्छु नदीको कविता
कविताभन्दा गहिरो लाग्छ नदी
लेख्न खोज्छु हिमालको कविता
कविताभन्दा अग्लो लाग्छ हिमाल
हिजोआज लेख्न मन लाग्दैन कविता
लेख्न खोज्छु प्रेमको कविता
कविताभन्दा पवित्र लाग्छ प्रेम
लेख्न खोज्छु तिम्रो कविता
कविताभन्दा सुन्दर लाग्छ्यौ तिमी
हिजोआज मलाई लेख्न मन लाग्दैन कविता ।

प्रेम परिक्रमा

यस्तो प्रेम गर्न सकूँ तिमीलाई
जस्तो हिउँले हिमाललाई गर्छ
नदीलाई किनारले गर्छ
तिमीभित्र अझै भित्र छिरेर
यस्तो प्रेम गर्न सकूँ
जस्तो जराले जमिनलाई गर्छ
जमिनलाई पानीले गर्छ
एकअर्कामा विलीन भएर
यस्तो प्रेम गर्न सकूँ
जस्तो समुद्रलाई नदीले गर्छ
नदीलाई खोलाले गर्छ
तिम्रो जीवनको लयमा डुबेर 
यस्तो प्रेम गर्न सकूँ
जस्तो बाफले बादललाई गर्छ
बादललाई आकाशले गर्छ
कुनै दिन टाढा भए पनि तिमीबाट
यस्तो प्रेम गर्न सकूँ
जस्तो सूर्यलाई पृथ्वीले गर्छ
पृथ्वीलाई चन्द्रमाले गर्छ
अहँ
यस्तो प्रेम कहिल्यै नगरूँ
जस्तो पुतलीले बत्तीलाई गर्छ
शीतका थोपालाई बतासले गर्छ
यस्तो प्रेम गर्न सकूँ तिमीलाई
जस्तो हिउँले हिमाललाई गर्छ
नदीलाई किनारले गर्छ । 



पुल

मान्छेहरू भन्छन्
नदीमा पुल छैन पुल राख्न पर्‍याे

नदीभरि नदीलाई नै ढाक्नेगरी
पुलैपुल देख्छु
पानीको
पुल नभएको भए नदीमा
कसरी चल्थे डुंगा
वारिका पारि
पारिका वारि
कसरी पौडेर पुग्थे मान्छे
पारिका वारि
वारिका पारि
मान्छेको मनमा पनि पुल हुन्छ
नत्र किन आउँथ्यो यसरी घरीघरी
मलाई तिम्रो याद
तिमीलाई मेरो याद
मान्छेहरू भन्छन् नदीमा पुल छैन पुल राख्न पर्‍‍याे ।



भीड

सहरको भीडमा मलाई 
जन्ती र मलामी उस्तैउस्तै लाग्छ 
जन्ती र मलामी हिँड्ने बाटो एउटै छ 
मन्दिर र घाट सँगसँगै छन्
मानिस र मृत्यु सँगसँगै छन्
एउटा पहाडी थुम्कोमा बसेर हेर्छु आर्यघाटतिर
लाखबत्ती र लासको धुँवा उस्तैउस्तै लाग्छ
महाराज र भिखारीको ओछ्यान उस्तैउस्तै भए पनि
चिता त उस्तैउस्तै लाग्छ 
सहरको भीडमा मलाई 
बगरे र जल्लाद उस्तैउस्तै लाग्छ
जन्ती र मलामी उस्तैउस्तै लाग्छ । 

 

  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार १०:२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया