र्यापर भिटेन : चर्चा, विवाद र रहस्य

यस्तो लाग्छ- र्यापर भिटेनलाई विवादमा आउन खुबै मन पर्छ, किनकि विवाद र भिटेन एकअर्काका परिपूरक जस्तै बनेका छन् । स्वच्छन्द शैलीका र्‍याप गाएर उनी बेलाबेला प्रहरी खोरमा समेत पुग्ने गरेका छन् । उनको असली नाम समीर घिसिङ हो । समीर कसरी भिटेन बने ? यसको बेग्लै कथा छ ।

रौतहटमा जन्मिएका समीरको सानै उमेरदेखि एकजना निकै गरिब र टुहुरो साथीसँग संगत भयो । उनीहरू असाध्यै मिल्ने साथी बने । तिनै साथीले समीरलाई भिटेन भनेर सम्बोधन गर्थे । तर, त्यतिखेर साथीले भिटेन भनेको उनलाई पटक्कै मन परेको थिएन ।

समय आफ्नै गतिमा चल्दै गयो । त्यही समयले समीर र उनका साथीको बाटो अलग गरायो । साथी हराए । समीर र्‍याप गीत गाउन थाले । साथीको यादले उनलाई पछ्याउन छाडेन । अन्ततः समीरले ती अति मिल्ने बालसखालाई समर्पण गर्दै आफ्नो नाम नै ‘भिटेन’ राखे । गीत गाउँदै जाने क्रममा भिटेनले थाहा पाए, ती साथी गाडीमा ‘खलासी’ बनेका रहेछन् । उनै साथीको नाममा भिटेनले गीत गाए ‘खलासी ।’

भिटेनका केही रोचक तथ्य  

पहिलो गीत नै हिट

गरिब परिवारमा जन्मिएका भिटेनले किशोरावस्थाबाटै खानका लागि संघर्ष गर्नुपर्‍याे । गरिबीकै कारण उच्च शिक्षा पढ्न पाएनन् । त्यही भोगाइलाई गीतमा पोखेर ‘गरिब...’ गीत गाए । भिटेनको पहिलो रेकर्ड भएको गीत नै यही हो । आफैले लेखेको यो गीतले भिटेनलाई  र्‍यापका पारखीमाझ चिनायो । 



थांका पेन्टिङ

र्‍यापर भिटेन कुनै समय थांका पेन्टिङ गर्थे । २०७२ सालको भूकम्पअघिसम्म उनी थांका पेन्टिङको काम गर्थे । १६ वर्षको उमेर घर छोडेर हिँडेका उनले बाँच्नका लागि त्यो काम गर्दागर्दै पनि र्‍याप भने गाइरहेका थिए । तर, उनको र्‍याप आमस्रोताको कानसम्म पुग्न सकिरहेको थिएन । भिटेनलाई सार्वजनिक रूपमा र्‍यापर बनेर बाहिर आउन कठिनाइ भइरहेको थियो । 



यहीबीच भूकम्प गयो । भिटेनले थांकाको काम पाउन छोडे । उनले कोठाभाडा तिर्न पनि सकेनन् । बिहान-बेलुकाको छाक टार्न मुस्किल थियो । धेरै दिन साथीकोमा गएर बसे । त्यसपछि भिटेनले सोचे, ‘जे पर्ला-पर्ला र्‍यापमै लाग्छु । कम्तीमा पेट नभरिए पनि मन त भरिन्छ ।’ भिटेनको जीवनमा यही सोच नै ‘टर्निङ प्वाइन्ट’ बनिदियो । त्यसपछि उनका गीत चर्चामा आए । उनी चर्चित भए । 

भिटेनलाई मन नपराउने पनि प्रशस्तै

भिटेनलाई माया गर्ने फ्यान मात्रै होइन, मन नपराउने र ‘हेट’ नै गर्ने पनि छन् । स्याडी पोपट र डिजे सेभेनले भिटेनविरुद्ध ‘डिस सङ’ नै गाएका थिए । र्‍यापरकाे उल्लीबिल्ली गर्दै गाइएको गीतलाई ‘डिस सङ’ भन्ने गरिन्छ ।
 
दर्शकका ढुंगा

भिटेनले गीत गाउँदागाउँदै स्रोताले उनलाई स्टेजमै ढुंगा नै हानेका छन् । कुनै समय उनी पोखरामा आयोजित एक कन्सर्टमा गीत गाउँदै थिए । उनीमाथि ढुंगा प्रहार भयो । उनलाई जोगाउन प्रहरीलाई पनि हम्मेहम्मे परेको थियो । भिटेले आफूमाथि ढुंगा बर्साउनेप्रति आक्रोशित हुँदै त्यहीँ  ‘साइफर...’ गीत गाएका थिए । 

नयाँ यमबुद्ध

र्‍याप गायनमा धेरैले माया गरेको नाम हो यमबुद्ध । यमबुद्ध र भिटेनको नाम झण्डै एकै समय चर्चामा आयो । यमबुद्धको मृत्युपछि धेरैले भिटेनलाई ‘नयाँ यमबुद्ध’ भने । भिटेन आफैं भने कुनै कोणबाट यमबुद्धसँग तुलना गर्न लायक नभएको बताउँछन् । 

सन्देशमूलक गीत

अश्लील र अभद्र गीत गाएको आरोपमा भिटेन समयसमयमा विवादमा आउने गरेका छन् । उनलाई गीत गाएकै आरोपमा प्रहरीले समेत समातेको छ । तर, उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने कयौं सन्देशमूलक गीत गाएका छन् । ‘बैनी...’, ‘लफंगा...’, ‘चुरोट...’, ‘हालखबर...’, ‘कथा...’, ‘मान्छे खत्तम...’ लगायत उनका सन्देशमुलक गीत हुन् ।
 

  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १४:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया