सीमा विवादले भ्यूटावर निर्माण अलपत्र

तेह्रथुम– तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो । 

सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि कामको जिम्मा लिएको सरोज निर्माण सेवाले निर्माणका सामग्रीसमेत त्यत्तिकै छाडेको छ । दुई वर्षमा काम सक्ने गरी दुई करोड १३ लाखमा ठेक्का लिएको उक्त कम्पनीले शुरुमा करीब छ महीना ढिला गरेर काम थालेको थियो । काम थालेपछि स्थानीयवासी बीच सिमा विवाद देखिएपछि अहिले टावर निर्माणका लागि सम्झौता भएको म्यादसमेत सकिएको छ । दुई जिल्लाका बासिन्दाको आपसी मतभेदका कारण यो पर्यटकीय क्षेत्रको विकास रोकिएको स्थानीयवासी छिरिङ लामाले बताए। 

टावर निर्माणस्थल तेह्रथुमको लालीगुराँस नगरपालिका–१, साविक बसन्तपुर–४ मा पर्ने भन्दै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीले भ्यूटावर निर्माण थालेका थिए । पर्यटन मन्त्रालयको सहयोगमा बन्न लागेकोे सो टावरको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङ र तत्कालीन प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले संयुक्त रूपमा शिलान्यास गरेका थिए । तर भ्यूटावर निर्माण शुरु भएपछि उक्त जमीन सङ्खुवासभामा पर्ने र सो योजना सङ्खुवासभाले पाउनुपर्ने माग गर्दै स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताले काममा अवरोध पुर्याएका थिए । 

भ्यूटावर निर्माण र जमीनभन्दा पनि जनप्रतिनिधिको आँखा त्यसबाट आउने राजस्वमा परेको हो । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले भ्यूटावर निर्माणले दुई वटै जिल्लाको विकासमा सहयोग पुग्ने भएकाले जमिन जसको भए पनि निर्माण नरोक्न आग्रह गरे ।

निर्माण कम्पनीका सुपरभाइजर पुष्प गुरागाईँले भने मौसमका कारण वर्षामा काम गर्न नसकिएको र अब विवाद मत्थर भई काम गर्ने वातावरण बने पुनः काम सञ्चालन हुने बताए। चार तलाको सो भ्यूटावरको पहिलो तलामा सूचना केन्द्र, दोश्रो तलामा खुद्रा पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यूप्वाइन्ट बनाउने योजना छ । 





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १०:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया