विष्णु महर्जनले यसरी फिर्ता ल्याइन् महालक्ष्मी विकास बैंकबाट २५ तोला सुन

ललितपुरकी बिष्णु महर्जनको फोन हिजो आज निकै व्यस्त हुन्छ । फोन उठाउने वित्तिकै सबैले एउटै कुरा भन्छन्– ‘बधाई छ’ । 

उनले बधाई खाने कारण अरु केही नभएर धितो राखेको सुन घर ल्याउनु हो । आफैले बैंकमा राखेको सुन आफ्नै घरमा ल्याउँदा उनलाई बधाईको ओइरो लागेको छ । 

आफ्नै सुन आफ्नै घरमा ल्याउँदा बधाई किन त ? 

यस पछाडि कारण छ ।  

ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी महर्जनले महालक्ष्मी विकास बैंकमा राखेको सुनमा बैंकले बदमासी गरेपछि प्रहरीसम्म पुगेकी थिइन् । केही दिनको निरन्तर छलफलपश्चात महर्जनले आफूले बैंकमा राखे बराबरको सुन शुक्रबार मात्रै पाएकी हुन् । 

सुन पाउँदा उनले आफूले राखेका गरगहना भने पाइनन् । त्यसको सट्टामा उनले आफ्नो गहनाको तौल बराबरको सुन पाइन् । 



कुरा पाँच वर्ष अघिको हो । 

विष्णु महर्जनले २०७२ साल चैतमा महालक्ष्मी विकास बैंकमा केही सुन धितोमा राखेर ऋण लिएकी थिइन् । त्यसपछि २०७३ वैशाखमा थप गरी २५ तोला सुन धितो राखी ऋण लिएकी थिइन् । 



त्यसपछिका हरेक वर्ष महर्जनले ऋणको ब्याज तिर्दै आएकी थिइन् । यही भदौ ९ गतेसम्म ८ लाख ५४ हजार ऋण तिर्न बाँकी थियो । 

सुन धितो राखेको पाँच वर्षपछि महर्जन गत भदौ १० गते बैंकको बाँकी सबै ऋण र व्याज तिर्न कुमारीपाटीस्थिति महालक्ष्मीको शाखा कार्यालय पुगेकी थिइन् । 
त्यो दिन उनी आफूले दुःख गरी जोडेका गरगहना फिर्ता ल्याउने रहरले बिहानै बैंकमा पुगिन् । तर, अवस्था भने अर्कै भइदियो । 

पहिला त बैंकले रकम तिर्दा सुन दिन आनाकानी ग¥यो । घण्टौं कुरेपछि सुन दिने भने पनि कार्यालयमा नखोली बाहिर गएर खोल्न दबाब दियो । 

बैंकले आफ्नो सामान चेकजाँच गरेर लैजान नदिदा शंका लागेपछि महर्जनले प्रहरीलाई फोन गरिन् । प्रहरी आएपछि बैंक म्यानेजर सुनिल नेपालले सुन नक्कली भएको बताए । त्यसपछि मात्रै बैंकले सुनमा झुक्याउन लागेको महर्जनले थाहा पाइन् । 

त्यसपछिका ८ दिन महर्जनले प्रहरी र बैंकको कार्यालयदेखि धाउँदैमा बिताइन् । प्रहरीले पहिलो दिनमै कागज गरेर महर्जनलाई छाडेको थियो ।  

मुद्दा प्रहरीसम्म पुगेपछि बैंकका सिइओ बोधराज देवकोटाले पनि २ दिनको समय माग गरे । तर, चार दिनसम्म पनि बैंकले महर्जनको मुद्दामा ध्यान दिएन । बरु उल्टै बैंक म्यानेजर र सुन शाखा प्रमुखले उनलाई धम्काए ।  

प्रहरी कार्यालयले बैंकका शाखा म्यानेजर, सिइओ र महर्जनलाई भदौ १५ बोलायो । दिनभरी उनीहरुलाई कुरेर बसिन् महर्जन। तर, सो दिन बैंकका तर्फबाट कोही गएनन् । 

 

याे पनि पढ्नुहाेस्— 

महालक्ष्मी विकास बैंकले धितोमा राखेको सुन ऋण चुक्तापछि नक्कली दियो, तौल कम भन्यो

 

उक्त मुद्दा प्रहरी कार्यालय हुँदै मिडिया र नेपाल राष्ट्र बैंकसम्म पुग्यो । ठूलो दवाब सृजना भएपछि बैंकले विष्णुलाई उनले राखे बराबरको तौलको सुन फिर्ता गर्यो । 
‘मैले राखेको सुनको गरगहना दिएन । सोही गरगहना बराबरको सुन दियो,’ महर्जनले फरकधारसँग भनिन् । 

यति भइसक्दा पनि बैंकले सुरुमा सुन नक्कली दिन खोजेको भन्ने स्वीकार गरेको छैन । बरु एक विज्ञप्ती जारी गर्दै बैंकले महर्जनको बुझाइमा फरक परेको भन्दै आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयास गरेको छ । विज्ञप्तीमा उक्त विषयमा बैंक र महर्जनको गल्ती नभइ बुझाइमै फरक परेकाले भ्रममा नपर्न आग्रह गरेको छ ।  

तर, बैंकको कुमारीपाटीका शाखा प्रबन्धक सुनिल नेपालले भने महर्जनले आफ्नो कुरा माथि राख्दै बैंकलाई गलत आरोप लगाएको बताए । फरकधारसँग कुरा गर्दै नेपालले भने, ‘उनले आफ्नो कुरा माथि राखेकी हुन् । यो सबै मान्छेको स्वभाव नै हो, आफूलाई माथि पार्नु । हामीले सुन दिइसकेका छौं । बाँकी कुरा केन्द्रीय बैंकमा सोध्नु ।’ 

नेपाल राष्ट्र बैंकले यो विषयमा छानबिन भइरहेको बताएको छ । 

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १६:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया