संखुवासभा हत्याकाण्ड : डाक्टर र कुकुरसहितको टोली घटनास्थल पुग्दै

संखुवासभामा बिहान साढे ९ बजे एकै परिवारका ६ जनाको हत्या भएको स्थललाई प्रहरीले कडा निगरानीमा राखेको छ । 

संखुवासभाको मादी नगरपालिका– १ को उम्लिङ भन्ने स्थानलाई कडा निगरानीमा राखेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरेर घटना घटाइएको प्रदेश–१ का डिआइजी अरुणकुमार बिसीले जानकारी दिएका छन् । मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ । 

कार्कीसहित ८० वर्षीया पार्वता कार्की, ५८ वर्षीया तेजबहादुर कार्की, उनकी श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

घटनास्थल कडा निगरानीमा 

प्रदेश १ प्रहरी कार्यालयका अनुसार एकै परिवारको आधा दर्जनको हत्या भएको खबर प्रहरीमा साढे ९ बजेतिर आयो । प्रहरीलाई यो सूचना आउना साथ प्रहरी घटनास्थलतर्फ गयो । 



मादीमा रहेको स्थानीय प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ लाग्यो । घटनास्थलतर्फ पुगेका प्रहरीले त्यहाँको सबै वस्तुस्थितिबारे माथिल्लो निकाय जानकारी गराए । उनीहरुले दिएको जानकारीपछि तत्कालै घटनास्थल सुरक्षित राख्न प्रदेश प्रहरी कार्यालयबाट निर्देशन दिइएको डिआइजी बिसीले बताए । 

करिब साढे तीन घण्टादेखि अहिले घटनास्थललाई निगरानीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी अधिकारीहरुकै उपस्थितिमा घटनास्थललाई निगरानीमा राखिएको प्रहरी बताउँछ । 



डिआइजी बिसीका अनुसार अहिलेसम्मको प्रहरी रिपोर्टिङमा धारिलो हतियार प्रहार गरेर हत्या गरेजस्तो देखिएको छ । थप अनुसन्धानका लागि अहिले डीएसपी लालध्वज सुवेदीसहितको टोली घटनास्थलतर्फ गइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

कुकुरसहितको टोली घटनास्थलतर्फ  

बिहानै एकै परिवारका आधा दर्जनको वीभत्स हत्या भएपछि घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ । घटनाका दोषी उम्किन नपाउँन भनेर प्रारम्भिक अनुसन्धानदेखि नै प्रहरीले सबै उपाय अपनाउने कोशिसमा छ । 

घटनाका दोषीलाई चाँडै कानुनी कठघरामा ल्याउन प्रहरीले कुकुरसहित रिट (डाक्टर) टोली परिचालन गरिएको डीआईजी बिसीले जानकारी दिएका छन् । 

घटनाको ‘क्लु’ पत्ता लगाउन तालिम प्राप्त कुकुरसहिको टोली संघीय प्रहरी एकाई कार्यालयबाट पठाइएको उनी बताउँछन् । यसको साथै सदरमुकामबाट डाक्टरको टोली पनि खटाइएको उनी बताउँछन् ।  यो दुई वटा टोली घटनास्थलमा पुगेपछि अनुसन्धान गर्न मद्दत मिल्नेछ’, उनले भने ।


 

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १३:३७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया