सुदूरपश्चिम प्रदेश : २ सय २२ जनप्रतिनिधि एमाले छाडेर समाजवादीतिर (सूचीसहित)

सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) बाट विजयी ६ संघीय सांसदसहित २ सय २२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । सुदूरपश्चिमका ९ जिल्लामा एमालेबाट विजयी २ सय २२ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । 

सुदूरपश्चिममा एमाले छाडेर एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा बढी कैलालीमा ६५ जना जनप्रतिनिधि छन् । यस्तै सबैभन्दा कम दार्चुला र डडेल्धुरामा २–२ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । 

कैलाली
कैलालीमा एमालेबाट विजयी ६५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । १३ स्थानीय तह रहेको कैलालीमा एमाले ७ स्थानीय तहमा प्रमुख–उपप्रमुख जितेको थियो । तीमध्ये घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमकुमारी थापा, गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगर सहित ६५  जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका निर्वाचन कार्यालयले जनाएको छ । 

कञ्चनपुर
कञ्चनपुरमा एमालेबाट विजयी ५१ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा गएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले दिएको जानकारी अनुसार एमालेबाट विजयी ५१ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

पुनर्वास नगरपालिकाका मेयर जीवन थापा, ११ जना वडाध्यक्ष सहित ५१ जना एमालेका जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटामा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो ।

बैतडी
बैतडीमा २३ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार एमालेबाट विजयी २३ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।



ती सबै वडाध्यक्ष र सदस्य मात्रै हुन । समाजवादीतिर जानेमा ४ जना वडाध्यक्ष र अरु सदस्य छन् । बैतडीका १० स्थानीय तहमध्ये एमालेले तीन स्थानीय तहमा दुवै पद, २ वटामा उपप्रमुख र एउटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । 

दार्चुला
दार्चुलामा एमाले विभाजनमा २ जना जनप्रतिनिधि गएका छन् । एमालेबाट निर्वाचन २ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा गएका छन् ।



अपिहिमाल गाउँपालिकाका सदस्य रुकमति जागरी र भुरी धामीले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकी हुन् । ९ स्थानीय तह रहेको दार्चुलामा एमालेले तीन स्थानीय तहमा प्रमुख(उपप्रमुख दुवै र एक गाउँपालिकामा उपाध्यक्ष जितेको थियो ।

बझाङ
बझाङमा एमालेका २५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर पन्तका अनुसार एक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित वडाध्यक्ष, सदस्य गरेर २५ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । 

१२ स्थानीय तह रहेको बझाङमा एमालेले ८ स्थानीय तहमा प्रमुख–उपप्रमुख र एक स्थानीय तहमा उपप्रमुख मात्रै जितेको थियो ।  तीमध्ये केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी र उपाध्यक्ष निशा धामी सहित २५ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

बाजुरा
निर्वाचन कार्यालय बाजुराका अनुसार ५ जना एमालेका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।  एमाले छोड्नेहरूमा  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एक(एक जना, २ जना वडाध्यक्ष र एक जना सदस्य छन् । 
बाजुराका ९ स्थानीय तहमध्ये एमालेले तीनवटा स्थानीय तहमा प्रमुख–उपप्रमुख दुवै पद र एक नगरपालिकामा उपप्रमुख जितेको थियो ।

अछाम
निर्वाचन कार्यालयका अनुसार अछाममा २७ जना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादीमा सनाखत गरेका छन् । अछामका दुई स्थानीय तहका प्रमुखले एमाले छोडेका छन् । भीम रावलको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने साँफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुँवर, उपमेयर बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउद सहित वडाध्यक्ष, वडासदस्य गरी २७ जना जनप्रतिनिधिले एमाले छोडेका हुन् ।

अछाममा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरेर जम्मा १० वटा स्थानीय तह छन् । तीमध्ये दुई नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष जितेको थियो ।

डडेल्धुरा
डडेल्धुरामा एमालेबाट विजयी २ जना जनप्रतिनिधि मात्रै एकीकृत समाजवादीतिर लागेका छन् । निर्वाचन कार्यालय डडेल्धुरा का अनुसार अमरगढी नगरपालिका–५ का वडाध्यक्ष खेमराज पाठक र भागेश्वर गाउँपालिका–४ का सदस्य प्रेम सिंह साउदले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । ७ वटा स्थानीय तह रहेको डडेल्धुराका दुई स्थानीय तहमा एमालेले प्रमुख–उपप्रमुख जितेको थियो । 

डोटी
निर्वाचन कार्यालय, डोटीका अनुसार ३ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । पूर्वी चौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्का र सायल गाउँपालिकाका एक वडाध्यक्षले एमाले छोडेका हुन् । 

१४ प्रदेश सांसद समाजवादीमा

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमाले प्रदेश सभामा चौथो ठूलो दलमा खुम्चिएको छ । एमाले विभाजन पछि नवगठित एकीकृत समाजवादीमा एमालेका १४ जना सांसदले सनाखत गरेका छन् ।

सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, राज्यमन्त्री चुनुकुमारी चौधरी, मनाकुमारी साउद, सांसदहरु अमर बहादुर साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी, बलबहादुर सोडारी, तारालामा तामाङ, प्रकाश रावल, माया भट्ट र माया तामाङ बोहराले समाजवादीमा सनाखत गरे । माया तामाङ यस अघि ओली पक्षमा थिइन् ।
१३ जना तत्कालीन माधव समूहकै थिए । 

नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भए पछि सुदूरपश्चिम प्रदेश सभामा ६ दलको प्रतिनिधित्व हुने भएको छ ।

५२ जना प्रदेश सांसद रहेको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका १३ सांसद,  नेपाली कांग्रेसका १२ सांसद, नेकपा एमाका १० सांसद तथा  जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १–१ जना सांसद छन् ।

६ संघीय सांसद

त्यस्तै ६ जना संघीय सांसद पनि नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । यसअघि एमालेका संघीय सांसद निरा जैरु, प्रेम आले, बिना बुढाथोकी, लक्ष्मी चौधरी, शेरबहादुर कुँवर र शारदा भट्टले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

माधव कुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवाद) पार्टी गठन गरेपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका एमालेका जनप्रतिनिधिलाई दिएको दल रोज्ने समयावधि सोमवार सकिएको छ । 

एमाले विभाजनपछि प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यलाई दल रोज्न एक साता दिइएको थियो । संघीय सांसदले यसअघि नै निर्वाचन आयोगमा सनाखत गरिसकेका छन् । 

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार २१:५६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया