आधुनिकताको छायाँमा ऐतिहासिक चित्लाङ, घरका छानामा बेलायती महारानीको चित्र

ऐतिहासिक बस्ती चित्लाङमा अब तीनवटा मात्रै पुराना घर बाँकी छन् । त्यो पनि भग्नावशेषको रूपमा । नेपालका केही पुराना बस्तीमध्ये मकवानपुरको चित्लाङ झट्ट सम्झनामा आउँछ । तर, ऐतिहासिक महत्वको चित्लाङ केही समयदेखि आधुनिकताको छायाँमा पर्दै आएको छ । अहिले त्यहाँ पुरानो बस्तीको प्रमाण दिनेखालका कुनै पनि संरचना बाँकी छैनन् । 

लिच्छवीकालीन समयका अभिलेखले पनि चित्लाङको ऐतिहसिकता झल्काउँछ । नेपाल संवत् ४५ को मानदेवको अभिलेखमा चित्लाङको वर्णन गरेको पाइन्छ । सबैभन्दा पुरानो भनेपछि त्यहाँको रहनसहन, भेषभुषा, रीतिरिवाज पनि अरू भन्दा फरक हुने नै भयो । यतिमात्र नभएर त्यहाँका भौतिक संरचना पनि परम्परागत शैलीकै हुनुपर्छ ।


 
तीन सय वर्षभन्दा पुरानो घर अहिले भग्नावशेषको रूपमा छ । पुण्यराज बलामीको पुर्खाले बनाएको घर नै सबैभन्दा पुरानो घर हो । त्यसबाहेक अहिले सबैको घर आधुनिकखालका बनेका छन्, बन्ने क्रम जारी छ । पुरानो तथा ऐतिहासिक महत्वका संरचनालाई समेत ओझेलमा पार्दै गएको देखिन्छ । जसले गर्दा त्यस क्षेत्रका अग्रज तथा जानकारहरूलाई चित्लाङको अस्तित्व मेटिने हो कि भन्नेमा चिन्ता छ । 

चित्लाङबारे जानकार रहेका पुण्यराज बलामी अहिले सबै घरहरू आधुनिक किसिमको बनिरहेको बताउँछन् । ‘पुरानो भन्ने घर एउटै छैन । सबैले नयाँनयाँ त्यो पनि आधुनिक किसिमले बनाइरहेका छन्,’ बलामी भन्छन्, ‘यो ऐतिहासिक चित्लाङको लागि राम्रो संकेत होइन ।’ 

पुरानोको नाममा बलामी जन्मिएको घर मात्र बाँकी छ । त्यो पनि भग्नावशेषको रूपमा । ‘कात्तिक नाच नचाउने डबलीसँगै रहेको घर नै अहिलेको सबैभन्दा पुरानो घर हो । त्यो घरलाई रेट्रोफिटिङ गरेर जोगाउन खोेजिएको थियो । तर, सम्भव भएन,’ उनले भने ।


 
सबैभन्दा पुरानो तथा ऐतिहासिक भनिएको चित्लाङ आधुनिकतातर्फ मोडिनुको कारण अर्कै छ । त्यसको कारण भनेको प्राकृतिक विपत्ति हो । धेरै वर्षपहिला चित्लाङको सातधारानजिकै पहिरो गएको थियो । पहिरोले पूरै बस्ती बगायो । त्यसको विकल्पमा अहिले बसिरहेको ठाउँमा मानिसहरू सरे । 



नयाँ ठाउँमा सर्दा पुरानौ सबै संरचना भत्किएर र नयाँ तथा आधुनिकखालका बन्न थाले । ‘सातधाराबाट नजिकै पुरानो बस्ती थियो, जुन पहिरो गएपछि अर्को ठाउँमा सारिएको हो । पहिरो गएपछि पनि दुईवटा पुराना घर थिए,’ उनले भने, ‘अहिले ती भत्किसकेका छन् । अहिले सबै नयाँ घरहरू बनाइरहेका छन् । अहिलेका सबै नयाँ संरचना हुन् ।’ 

नेवार समुदायको बसोबास रहेको चित्लाङका घर आधुनिक किसिमको बनेको प्रमाण अर्को पनि छ । नेवारको घरमा आँखीझ्याल हुन्छ, जुन परम्परादेखि नै चलिआएको चलन हो । तर, अचेल कुनै पनि घरमा आँखीझ्याल छैनन् । 
‘जुन घरमा आँखीझ्याल हुँदैन, त्यो घर पुरानो होइन । नेवारको घरमा आँखीझ्याल हुन्छ नै,’ उनले भने, ‘अहिलेको नयाँ घरमा त्यो आँखीझ्याल हटिसकेको छ । आधुनिकताको सिकार हामी बन्न पुगेका छौं ।’ चित्लाङमा गोपाली बस्तीलाई अहिले पनि पुरानो भनिन्छ । जहाँ अझै पनि पुरानैखालका संरचनाहरू छन् ।



घरका छानामा बेलायती महारानीको चित्र

चित्लाङका केही घरहरूका छाना बेलायती महारानी एलिजाबेथको चित्र अंकित टिनका पाताले छाइएका छन् । त्यसको रोचक पक्ष छ । नेपाल भ्रमणमा आउने बेलायती पाहुनाहरूले कुनै समय आफ्नो खाना र खाजा बोकेर ल्याएका टिनका बाकसहरू चित्लाङमा छोडेका थिए । त्यही टिनका बाकसलाई गाउँलेले पाता बनाएर घरको छाना छाएका थिए ।  

यसरी आधुनिकताले परम्परा लोप हुँदै गएकोमा कात्तिक नाचका गुरु समेत रहेका अग्रज रामकृष्ण बलामी गुनासो गर्छन् । उनलाई अहिलेको नयाँ पुस्ताले परम्परालाई स्वीकार गर्न नसक्दा चित्लाङको अस्तित्व लोप हुनेमा चिन्ता छ । 
कात्तिक नाच पनि चित्लाङको चर्चित नाच हो । जुन नाच पाटनमा एक महिना नचाइन्छ भने चित्लाङमा तीन रात नचाइन्छ । पुरुषलाई विभिन्न तान्त्रिक विधिमार्फत् महिला तथा नारीको भेषमा नचाइन्छ । त्यसका लागि एक महिनादेखि नै तयारी गर्नुपर्ने अग्रज रामकृष्ण बताउँछन् ।


 
चित्लाङको आफ्नै इतिहास र विशेषता छ । अहिलेको चित्लाङलाई पहिला चित्रापुर भनिन्थ्यो । चैत्य जाने बाटो भएकाले चैतलाङ हुँदै पछि यसको नाम चित्लाङ रहन पुगेको रामकृष्ण बताउँछन् । चित्लाङकै बाटो प्रयोग गरेर सबैभन्दा पहिला काठमाडौंमा गाडी भित्राइएको थियो ।

चित्लाङबाट गाडी काँधमा बोकेर काठमाडौं पुर्‍याइएकाे थियो । राणाहरूले प्रयोग गर्ने गाडी बाटो अभावका कारण भीमफेदीदेखि काठमाडौंसम्म बोकेरै पुर्‍याइएकाे थियो । उक्त गाडी बोक्नेमध्येका अधिकांश चित्लाङकै थिए । चित्लाङका धनबहादुर गोले, मार्खुका जयबहादुर घिसिङ, सर्वाङका कान्छा वाइबालगायतले कयौं दिन लगाएर राणाको गाडी बोकेर काठमाडौं पुर्‍याएका थिए।

काठमाडौंबाट तराई आउजाउ गर्नको लागि चित्लाङको बाटो प्रयोग गरिन्थ्यो । मल्लकालीन राजादेखि राणाहरूसमेत तराई आउजाउ गर्न चित्लाङकै बाटो प्रयोग गर्थे । आउजाउ गर्दा रात परेपछि चित्लाङमा बास बस्थे । चित्लाङलाई राजा अंशु वर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ पनि भनिन्छ । सप्तश्री धारा पनि चित्लाङको निकै नै महत्वपूर्ण सम्पदा हो । जुन द्वापरयुगमा सप्तऋषिहरूले नुहाउनको लागि बनाएका थिए । 

चित्लाङको इतिहास

चित्लाङ उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत शृंखलाको बीचमा अवस्थित छ । मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिका-१० मा रहेको चित्लाङ गाउँ लिच्छवीकालदेखिकै परिचित गाउँ हो ।  चित्लाङ अशोक चैत्य, महाककवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता रचेको ठाउँलगायतका थुप्रै ऐतिहासक सन्दर्भसँग जोडिएको स्थान हो । अशोक चैत्यबारे भने इतिहासकारबीच नै मतभिन्नता छ । कसैले सम्राट अशोक चित्लाङमा पुगेको भनेका छन् त कसैले त्यसलाई झुटो बताएका छन् । 

पुण्यराज बलामीले चित्लाङमा बनाइएको चैत्य सम्राट अशोक नेपाल आएको बेला नबनाएको दाबी गरे । ‘अशोक चैत्य सम्राट अशोक नेपाल आएको पालामा बनाइएको हैन, त्यो संवत् ४४२ र ४४७ उल्लेख छ । जसले गर्दा पनि त्यो अशोक चैत्य सम्राट अशोकले बनाएको होइन भन्ने देखिएको छ,’ उनले भने ।  
सम्राट अशोक लुम्बिनीसम्म आएर आफैंले स्तम्भमा लेखेर गएको कुरा साँचो भए पनि काठमाडौं नै आएकोबारे अझै मतान्तर रहेको उनको भनाइ छ । अहिले पनि चित्लाङमा रहेको अशोक चैत्य चर्चित नै छ । त्यस्तै लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘यात्री’ कविता त्यहाँ लेखेको भन्ने कुनै आधार फेला नपरेको उनको भनाइ छ । 

इतिहासकार बुद्धरत्न मानन्धरले नै यो विषयको प्रचार गरेका थिए । यस विषयमा सोध्दा मानन्धरले भनेका थिए, ‘त्यो फर्केला र भन्ने कथामा यात्री भन्ने पात्र रहेछ । भवानी भिक्षुको उक्त कथामा पात्रको नाम यात्री रहेछ, त्यसलाई नै आधार मानेर चित्लाङमा कविता रचिएको भनिएको रहेछ ।’ यात्री कविता त लक्ष्मीप्रसाद देवकोटाले मैतीदेवीमा रहेको आफ्नै घरमा रचेको उनको दाबी छ । चित्लाङको अर्को ऐतिहासिक सम्पदा भनेको स्वच्छन्द भैरव हो । स्वच्छन्द भैरवलाई चित्लाङको ऐतिहासिक सम्पदा मानिन्छ । 

चित्लाङको सौन्दर्य


 

चित्लाङको आफ्नै मौलिक परम्परा छ । ऐतिहासिकता, प्राकृतिक सुन्दरता, सभ्यता र संस्कृतिको भण्डार रहेको चित्लाङलाई प्रकृतिले समेत साथ दिएको छ । बाह्रै महिना चिसो भइरहने यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । गाउँमा आउने पर्यटकका लागि केही वर्ष अघिदेखि खोलिएको होमस्टेले न्यानो स्वागत तथा सत्कार गर्ने गरेका छन् । होमस्टेसँगै यस क्षेत्रमा सुविधासम्पन्न रिसोर्टहरू पनि खुलेका छन् । 

चित्लाङमा लोकल बाख्राको दूधबाट बनेको चीज पनि चर्चित नै हो । तर, अचेल यो पनि लोप भइसकेको छ । अचेल चीज बनाउने कमै छन् । मानिसहरू चीज खानको लागि त्यहाँ जाने गरे पनि त्यो पाउनै मुश्किल छ । 
चित्लाङमै उत्पादित ट्राउट माछा पनि चर्चित छ । अहिले यो पनि व्यावसायिक रूपमा अगाडि बढिरहेको छ । 

चित्लाङको पदमार्ग पनि ऐतिहासिक नै हो । तर, त्रिभुवन राजपथ बनेपछि यो पदमार्ग ओझेलमा परेको छ । थुप्रै ऐतिहासिक र सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण चित्लाङ आधुनिकताको सिकार बन्न थालेपछि अब चित्लाङमा पर्यटकलाई देखाउने के भन्ने प्रश्न पनि उठ्न थालेको छ । 

पर्यटकहरूले समेत चित्लाङमा के हेर्न आउने भन्न थालेका छन् । त्यसका लागि ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको संरक्षण तथा सम्बर्द्धनमा लागिपरेको थाहा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष परशुराम श्रेष्ठ बताउँछन् । लिच्छवीकालीन र मल्लकालीन शिलालेखहरूको संरक्षणमा पनि जोड दिइएको उनले बताए । ‘पुरातत्व विभागसँग समन्वय गरेर यस क्षेत्रका ऐतिहासिक सम्पदा संरक्षण गर्ने काम भइरहेको छ,’ वडा अध्यक्ष श्रेष्ठले भने ।

  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १२:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया