दसैं: घर फर्किनेका लागि खुसी, मुलुक छाड्नेका लागि दुःख

काठमाडाैं- देशभर दसैंको माहोल छाएको छ । लामो समय घरबाहिर रहेकाहरु पनि घरतर्फ फर्किंदै छन् । देशभित्र र देशबाहिर कामका लागि गएकाहरु हौसिँदै घर फिर्दै छन् । तर, दसैंको यही मेसोमा कोही भने घरपरिवार र देश छाडेर विदेश पनि जाँदै छन् । घरपरिवारसँग जमघट गरेर दसैं मनाउनुपर्ने समयमा बाँच्नकै लागि विदेश जानुपर्ने बाध्यता पनि छ ।

चाडबाड परिवारसँगै बिताउन मन भए पनि विदेश हान्निँदै छन् चितवनका विकास विक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर गेटमा भेटिएका विकास कोरिया जाँदै छन् । एक वर्षअघि कोरिया गएका उनी एक महिनाको बिदामा नेपाल फर्किएका थिए । ‘दसैंको समयमा परिवार छाडेर जान त कसलाई मन हुन्छ र ?’ हातमा पासपोर्ट खेलाउँदै विकास भन्छन्, ‘परिवार पाल्न कमाउनैपर्छ ।’

विकास अझै आठ वर्ष कोरियामा बस्नेछन् । चितवनमा विकासको चारजनाको परिवार छ । दसैंको बेला परिवार छाडेर जानु पर्दा जानेहरु मात्रै होइन, नेपालमा बस्नेको पनि मन दुख्छ । ‘विदेशमा त्यसै पनि घरको नियास्रो लाग्छ । झन् चाडबाडमा परिवार छाडेर जाँदा त मर्नुजस्तै हुन्छ,’ मलीन स्वरमा विकास भन्छन्, ‘भनेको समयमा बिदा पनि पाइँदैन ।’ 

विदेशमा रहेका नेपालीहरु साथीसँग मिलेर दसैं मनाउँछन् । तर, सबै कम्पनीले बिदा नै दिन्छन् भन्ने छैन । देशबाहिर गएर काम गर्न सजिलो नभए पनि विकासजस्ता धेरै युवालाई विदेश जानुपर्ने बाध्यता छ ।

२९ वर्ष पुगेका विकासलाई नेपालमा भन्दा विदेशमा धेरै आम्दानी हुन्छ जस्तो लाग्छ । ‘१६ घण्टा काम गर्नुपर्छ, पैसा पनि राम्रै आम्दानी हुन्छ,’ विकास सुनाउँछन् । विदेशमा गर्ने जति काम नेपालमै गर्न सकिए पनि नेपालमा आम्दानी हुँदैन जस्तो लाग्छ विकासलाई । ‘नेपालमै राम्रो कमाइ हुने भए किन विदेश जान्थ्यौं र ? विदेश जान कसलाई पो रहर होला र ?’ 

चाडबाडको समयमा घर छाडेर कतार जान लागेका छन् गुगली महरा । धनुषाका गुगली छोरी, श्रीमती र आमालाई घरमा राखेर दोस्रोपटक विदेश जाँदै छन् । गुगली दुई महिनाअघि नेपाल फर्किएका थिए । तीन वर्षमा एकपटक नेपाल आएका गुगलीले यो वर्षको दसैं, तिहार, छठ परिवारसँग बसेर मनाउन पाएनन् । ‘गरिबको जिन्दगी यस्तै हो, दिवाली, छठ केही भन्न पाउँदैन,’ डिपार्चर लाइनमा उभिएका महराले सुनाए । ३८ वर्ष पुगेका महराले चार वर्ष भयो परिवारसँग बसेर छठ नमनाएको, दसैं नमनाएको छ ।



महरा विदेश जानुअघि नेपालमै काम गर्थे । तर, भनेजति आम्दानी नभएपछि ८५ हजार रुपैयाँ तिरेर विदेश गएका हुन् । धनुषामा महराको पाँच धुर मात्र जमिन छ । ‘खान–लाउन पनि पुग्दैन, परिवार पाल्नुपर्छ ।’ महराले बिदेसिनुपर्ने बाध्यता सुनाए । ‘छोराछोरी, माईबाप, श्रीमतीसँग बस्न त मन लाग्छ,’ महराको बुझाइमा मन लागेर मात्र केही नहुने रहेछ किनभने मनभन्दा ठूलो त पैसा रहेछ । ‘विदेश भनेपछि त, मुर्दा पनि नाघेर जानुपर्छ ।’ महराले पैसा नभए जीवन पनि चलाउन नसक्ने यथार्थ सुनाए ।

तीन वर्षअघि मनाएको दसैं र छठको सम्झना मात्रै छ महरासँग । त्यही सम्झना बोकेर उनी यस वर्षको दसैं, छठ, तिहार विदेशमै मनाउनेछन् । उनलाई नेपालमा बस्न मन नभएको पनि होइन । ‘नेपालमै बस्न त मन छ, तर चार दिन काम पाइन्छ अरु दिन काम नगरी बस्नुपर्छ,’ महरा सुनाउँछन् ।



दसैं, दिपावली, छठमा परिवारलाई दुःखी बनाएर विदेश जानु पर्दा महरालाई गरिबी अभिशापजस्तो लाग्छ । ‘धन–दौलत भएको भए थोडी हामी विदेश जान्थ्यो,’ महरा सुनाउँछन्, ‘नसिबमै गरिबी लेखेको रैछ ।’

महरालाई लाग्छ, गरिबका लागि कुनै चाडबाड हुँदैन । त्यही भएर त उनी मन दुःखाउँदै विदेश जाँदै छन् ।

घर फर्किनेको खुसी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन दुखाउँदै र आँसु बगाउँदै विदेश जानुको जति दुःख छ त्यति नै खुसी भेटिन्छ अराइभल गेटमा गएपछि । वर्षौं विदेशमा मजदुरी गरेर फर्केकाहरु अनुहारमा नेपाली भूमि टेक्न पाउँदाको खुसी  प्रस्ट देखिन्छ । 

तीन वर्षपछि नेपाल फर्किएका भोजराज भुसाल नेपाल आउन पाउँदा खुसी छन् । ‘विदेशमा गर्नुपरेको सबै दुःख बिर्सिंदो रहेछ नेपाल आउन पाउँदा,’ भुसालले हाँस्दै सुनाए । विमानस्थलबाहिर ट्याक्सी पर्खिरहेका भुसाल तीन वर्षअघि साउदी अरेबिया गएका थिए । पर्वत फलेवासका भुसाल यस वर्ष दशैंकै लागि भनेर घर फर्किएका हुन् । यसअघिका तीन वर्षको दसंै उनले विदेशमै बिताएका थिए । ‘यतिका वर्षपछि घर आउँदा त स्वर्गै पुगेजस्तो हुने रैछ,’ भुसाल मुस्कुराउँदै भन्छन्, ‘घरपरिवारसँग भेट हुन्छ भन्ने कल्पनाले मात्र खुसी लाग्ने ।’

यो वर्षको दसैंमा भुसाल पुरानो न्यास्रो पनि मेट्नेछन् । साथीसँगी, बुबाआमा र परिवारसँग बसेर दसैंको टीका थाप्नेछन् । यसअघिका तीन दसैं, तीन तिहार सबै काममै बितेका छन् । ‘चाडबाडमा एक दिन बिदा देऊ भन्दा पनि मालिकले बिदा दिँदैनथ्यो, भयो दुःखका कुरा नगरांै ।’ भुसाल अहिले विदेशका दुःख सम्झिन चाहन्नन् । तर, उनको यो खुसी धेरै दिन टिक्नेछैन । ४० दिनको बिदा लिएर आएको भुसाल फेरि विदेश फर्किनेछन् । 

यस्तै, सात वर्षपछि नेपाल फर्किएका तीर्थराज गदाईली पनि परिवारसँग दसैं मनाउन पाइने आशामा खुसी छन् । झापाका गदाइली सात वर्षदेखि दुबईमा काम गरिरहेका छन् । विमानस्थलबाहिर पुग्नासाथ उनलाई कतिखेर झापा जाने गाडी चढौं र घर पुगौंजस्तो भइसकेको छ । ‘सात वर्षपछि घर आएको छु । कतिखेर घर पुगँुलाजस्तो भइसक्यो,’ उनले भने । उनी यसपटक दसैंकै लागि भनेर नेपाल आएका हुन् । 

त्यसो त यसअघिका वर्ष पनि उनले घर आउन खोजेका थिए । तर, बिदा नपाएपछि उनी आउन सकेनन् । यसपटक बिदा मिलाउन पनि उनले एक वर्ष अगाडिदेखि नै बिदाको निवेदन दिएका थिए । ‘एक वर्षअघि नै बिदा मागेकाले यस वर्ष आउन पाएको हुँ,’ गदाइलीले सुनाए । 

झापामा गदाइलीलाई पाँचजनाको परिवार पर्खिरहेको छ । गदाईलीले ५० दिनको बिदा पाएका छन् । यी ५० दिनमा गदाइली सात वर्षदेखि भेट्न नपाएका आफन्त, साथीभाइसँग भेटघाट गर्ने योजनामा छन् । त्यसपछि उनी फेरि लाग्नेछन् दुबई । 

  • प्रकाशित मिति : असोज ३१, २०७५ बुधबार ७:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया