डडेल्धुरा कांग्रेसले भन्यो : सुरक्षा घेराभित्र एकलौटी गरिएको अधिवेशन मान्दैनौँ

नेपाली कांग्रेस डडेल्धुराले निर्वाचन अधिकृतले कुनै समन्वय नगरी एकलौटी रुपमा गरेको वडा अधिवेशन स्वीकार नगर्ने स्पष्ट बताएको छ । आइतबार पार्टी कार्यालय पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्य समितिको समन्वयमा गरिएको अधिवेशनलाई मात्रै स्वीकार गर्ने जनाएको हो ।

डडेल्धुरा पार्टी सभापति कर्णबहादुर मल्लले एक विज्ञप्ति नै जारी गर्दै अन्यायमा परेका क्रियाशील सदस्यको पीडामा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा कहीँकतै संवेदनशील नदेखिएको आरोप लगाएका छन् ।

‘जिल्ला कार्य समिति डडेल्धुराको अधिक लचकताका साथ राखिएको प्रसतावलाई समेत साथीहरुले अवज्ञा गर्दै यही भदौ २५ गतेका दिन राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै केन्द्रीय सभापतिज्यूको हस्तक्षेपमा पार्टीभित्रको आन्तरिक अधिवेशन कडा सुरक्षाको घेराभित्र सीमित राखी केही सीमित क्रियाशील सदस्यहरुको मात्र उपस्थितिमा कथित वडा अधिवेशनमा प्रवेश गर्नुभयो । उक्त प्रक्रिया पूर्ण अवैधानिक, एकपक्षीय अलोकतान्त्रिक रहेको नेपाली कांग्रेस डडेल्धुराको ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

साथै मल्लले डडेल्धुराका लागि खटाइएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले कार्य समितिसँग एउटा फोनसमेत नगरी निर्वाचन प्रक्रिया अघि बढाएको बताए ।

विज्ञप्तिमा भनिएको छ,  ‘वडा अधिवेशन गर्न नसकिने भनी नेपाली कांग्रेस डडेल्धुराको मिति ०७८ भाद्र २२ गतेको निर्णय तथा मिति ०७८ भाद्र २३ गतेको वडा सभापति र पालिका सभापति ज्यूहरुको बैठकले समेत क्रियाशील सदस्यताको विवाद सामाधान गरेर मात्र अघि बढ्न र तत्काल अधिवेशन स्थगन गर्ने भनी निर्णय गर्दागर्दै पनि एकथरी साथीहरुले निर्वाचन अधिकृतलाई आफ्नो अनुकूल बनाई अज्ञातस्थलबाट निर्वाचनको सूचना जारी गर्न लगाउनुभयो ।’ 

साथै, कांग्रेस डडेल्धुराले विधिवत् रुपमा वडा अधिवेशन नभएसम्म कार्यसमिति मातहतका सम्पूर्ण समिति यथावत् रहने जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १९:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया