हजारौं जिन्दगीका अस्तित्वलाई
अस्तित्व दिँदादिँदै आफैं अस्तित्वको लडाइँ लड्नुपर्ला
मलाई कहिल्यै लागेन,
बरु मैले करोडौँ चोट दिएका पत्थरहरू
शालिग्राम बनेर पूज्य भए
तर मैले जिन्दगी दिएका केही जिन्दगी
लागेका छन् मेरै विरुद्ध,
मेरो अस्तित्वको विरुद्ध ।
म समयको बहावसँगै बगेँ
समयका हर चुनौतिलाई मैले कहिल्यै नाइँ भनिनँ
तर म ‘काली’ आज उग्रकाली बनेर भन्छु
अब सुसाउने मात्र छैन म स्वाँ... गरेर,
हुँकार गरेर दिनेछु एकएक जवाफ र उभिनेछु
यो समयको खिलाप ।
अब बन्द गर्नेछु म समयसँगै बग्न
रोकिनेछु एकतमासले
आँधीपछिको सन्नाटा जसरी र आफैं डुब्नेछु
आवेग, आक्रोशको तालमा अनि बगाउनेछु
तिमीले बाँधेका म विरुद्धका बाँधहरू
प्रकृति विरुद्धका तिकडमहरू
तब भन्न पाउनेछैनौ तिमी मान्छेहरूले
‘काली’ उग्रकाली बनी भनेर ।
आगोसँगको खेल मात्र खतरनाक हुँदैन
ओ, प्रिय मान्छेहरू हो !
आगोलाई निभाउने पानीसँग खेल्नुको नतिजा
तिम्रै अगाडिको मेलम्ची हेर,
म तिम्रो प्यास मेटाउन मात्र बिल्कुल बनेको होइन साथी
जिन्दगी दिनेले जिन्दगी लिन पनि सक्छ
कसरी बिर्सियौ तिमीले यो सत्य ?
त्यसैले मलाई मेरै गतिमा बग्न देऊ,
मलाई मेरै बाटोमा हिँड्न देऊ
बाध्य नपार मलाई अस्तित्वको लडाइँ लड्न
मेरो लडाइँले मेरो अस्तित्व त जरुर जोगाउनेछु
बरु तिमी पो के गरौँला ?
मलाई तिम्रो खुब चिन्ता लाग्छ यार ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।