सरोज खनाल भन्छन्- राजेश हमालजी सिरियस नहुँदा सिनेमाले फड्को मारेन

नेपाली सिनेमा आज पनि उद्योगको रुपमा स्थापित हुन सकेको छैन । तीन दशकअघि नै बामे सर्न थालेको यो उद्योग अझै पनि राम्ररी उभिन नसकिरहेको चलचित्रकर्मीहरू बताउँछन् । 

९० को दशकमा भारतीय सिनेमाहरूसँग निर्धक्क प्रतिस्पर्धा गरेर नेपाली चलचित्र निर्माताले मुनाफा कमाउँथे । २०/३० वटा हलमा ५१ दिन मनाउँथे । अहिले बलिउडका कुनै पनि सिनेमासँग नेपाली निर्माता-निर्देशक डराउँछन् । नेपाली चलचित्रले एउटा सिनेमा घरमा मात्रै पनि ५१ दिन मनाउन अब मुस्किल छ ।

त्यो समय निर्देशकको नामबाट सिनेमा चल्थे । कलाकारको भन्दा स्टारडम निर्देशकको हुन्थ्यो । कलाकारको नामले सिनेमा चल्न सुरु गरेको निकै समयपछि हो । कलाकारको नामबाट सबैभन्दा धेरै बिकेका सिनेमा राजेश हमालका हुन् । निर्माता-निर्देशकले सबैभन्दा धेरै कलाकारको स्टारडमले मुनाफा कमाए भने त्यो राजेश हमालका कारण नै हो । 

नेपाली चलचित्रको विकासक्रममा देखा परेका हमाल सिरियस नभएका कारण नेपाली सिनेमाले फड्को मार्न नसकेको उनका समकालीन अभिनेता सरोज खनालको आरोप छ । एक समय थियो राजेश र सरोज नेपाली चलचित्रका पर्दामा हाराहारीजस्तै देखा पर्थे । सिनेमा यात्रा चल्दाचल्दै सरोज अमेरिका उडे । राजेशले नेपाली चलचित्रमा एकछत्र राज गरे । 

सरोज भन्छन्, ‘नेपाली चलचित्र जगतमा राजेश हमालको जस्तो उचाइ आजका मितिसम्म अर्को कुनै कलाकारले बनाउन सकेको छैन । त्यो समय उहाँले जति गर्नुभयो त्यो भन्दा धेरै गर्न सक्नु हुन्थ्यो ।’ 

त्यो समय नेपाली सिनेमाले फड्को मार्ने समय रहेको उल्लेख गर्दै सरोज अगाडि भन्छन्, ‘त्यो बेलाका निर्देशकले राजेशजीलाई अभिनय सिकाउने हिम्मत नै गर्न सकेनन् । तपाईंले गरेको यो राम्रो भएन, यसो गर्नुस् भन्न सकेनन् । उहाँले जे गर्नुभयो त्यसैमा सबैले ताली बजाउनु भयो । जसले गर्दा राजेशजीलाई लाग्यो- मैले जे गरे पनि हुने रहेछ ।’



त्यो समय हमाल थोरै सिरियस भइदिएका भए नेपाली सिनेमाले फड्को मार्ने सरोजको धारणा छ । ‘त्यो बेला राजेशजीले जे पायो त्यही सिनेमा बनाउनु हुँदैन, राम्रा मात्रै बनाउनु पर्छ भनेर निर्माता-निर्देशकलाई भन्न सकेको भए नेपाली सिनेमा धेरै स्तरीय हुन्थ्यो,’ सरोज थप्छन्, ‘त्यतिबेला उहाँले बेवास्ता गर्दिनु भयो ।’



  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १७:८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया