क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो जितेर पनि हारे !

क्यानडामा सोमबार सम्पन्न निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रूडोको दल लिबरल पार्टीले थुप्रै सिटमा जिते पनि अधिकांश क्षेत्रमा अनुमान मुताबिक नतिजा आउन सकेको छैन । यसकारण पनि त्यहाँ ट्रूडोको जितलाई ‘हार’का रूपमा हेरिएको छ ।

लिबरल पार्टीले अन्य पार्टीको तुलनामा अधिक सिटमा अग्रता हासिल गरेको छ । ट्रूडोले २०१५ मा सम्पन्न निर्वाचनमा आफ्ना दिवंगत पिता एवं पूर्वप्रधानमन्त्री पियरे ट्रूडोको लोकप्रियताका कारण सहजै जित हासिल गरेका थिए ।

उनले पुनः पार्टीको नेतृत्व गर्दै पछिल्ला दुई निर्वाचनमा जित हासिल गरेका हुन् । लिबरल पार्टी १४८ सिटमा अगाडि बढेको छ । कन्जर्भेटिभ पार्टी १०३ मा अगाडि छ, ब्लक क्युबेकोइस २८ र वामपन्थीको न्यु डेमोक्रेटिक पार्टी २२ सिटमा अगाडि रहेका छन् । अहिलेको अवस्था हेर्दा के देखिन्छ भने, ट्रूडोले पर्याप्त सिटमा जित हासिल गर्न सक्ने छैनन् । र, उनले अन्य दलको सहयोगविना कुनै पनि कानुन पारित गर्न सक्ने पनि छैनन् । तर, उनले यति सिटचाहिँ जित्ने देखिएको छ कि उनलाई सरकारबाट हटाउन कठिन छ । 

क्यानडाका विपक्षी दलले दुई वर्षअघि निर्वाचन गराउनुलाई ट्रूडोको मूर्खता भएको आरोप लगाएका छन् । उता, ट्रूडोले भने क्यानाडेली जनताले महामारीको अवधिमा कन्जर्भेटिभको सरकार नचाहेको दाबी गरेका छन् ।

क्यानडामा कोरोनाविरुद्धको पूर्ण डोज भ्याक्सिन अधिकांश नागरिकलाई लगाइसकिएको छ । तर, यसले मात्र ट्रूडोका प्रशंसा गर्न नमिल्ने त्यहाँका राजनीतिक विश्लेषकहरू बताउँछन् । टोरन्टो विश्व विद्यालयमा क्यानाडेली इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक रोबर्ट बोथवेल भन्छन्, ‘ट्रूडोले स्थितिलाई बुझ्नै सकेनन् र मूर्खतापूर्ण काम गरे ।’

ट्रूडोले स्थिर अल्पमतको सरकार बोकेर निर्वाचनमा प्रवेश गरेका हुन् । उनको सरकार गिर्ने कुनै सम्भावना पनि थिएन । निर्धारित मितिभन्दा दुई वर्षअघि नै मध्यावधि निर्वाचन गराएका ट्रूडोमाथि विपक्षीले निरन्तर आलोचना गरिरहेका छन् । निजी महत्वाकांक्षा पूरा गर्न प्रधानमन्त्रीले निर्वाचन गराएको उनीहरुको आरोप छ ।



ट्रूडोले भने महामारीविरुद्ध देशको लडाइँलाई कमजोर पार्न विपक्षी उद्यत् रहेको बताएका छन् । उनले भने, ‘क्यानडाका नागरिकका निम्ति यस्तो सरकार आवश्यक छ, जो विज्ञानमा विश्वास गर्छ ।’ 

उनले आइतबार मन्ट्रियलमा आयोजित चुनावी प्रचार अभियान सम्पन्न गर्दै भनेका थिए, ‘हामीलाई कन्जर्भेटिभ पार्टीको सरकार चाहिएको छैन, जो खोप अभियानको क्षेत्रमा नेतृत्वदायी काम गर्न सक्दैन । विज्ञानमा विश्वास नगर्ने पार्टी पनि हामीलाई आवश्यक छैन ।’



  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १७:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया