दर्जनौँ पानीट्यांकी उपयोगविहीन, तर खानेपानीको समस्या झेल्दै ठोरीबासी

पर्साको ठोरी गाउँपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव सिर्जना भएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जभन्दा पश्चिममा अवस्थित ठोरी गाउँपालिका क्षेत्रमा वर्षौंदेखि खानेपानीको चरम अभाव हुँदै आएको छ । सरकारी वितरण प्रणालीमा पानी उपलब्ध नहुँदा गाउँवासी खानेपानीबाट वञ्चित भएका हुन् ।  

स्थानीय तह गठन भएपछि स्वच्छ पिउने पानी प्राप्त हुने आशामा रहेका पर्साको ठोरी गाउँपालिकाका ३ र ४  नै वडा, निर्मलबस्ती, मिलन बस्ती, ब्रह्मनगर, बुद्धनगर, सिकारीवास र ओडारका बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । उनीहरु एक किलोमिटरभन्दा टाढाबाट पानी ल्याउनुपर्ने बाध्यतामा छन् । 

खानेपानी प्रयोजनको लागि मात्र बोरिङबाट पानी ल्याइन्छ बाँकी कामको लागि बोरिङबाट पानी ल्याउन समस्या छ । एक सय घरपरिवार दुईवटा बोरिङमा आश्रित भएकाले खानेपानीबाहेक अन्य कार्यको लागि खोलाकै भर पर्नुपर्छ ।

लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको भनाइ छ । स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरु मारमा परेको ठोरी वडा ४ मिलन बस्तीको स्थानीय कृष्णबहादुर श्रेष्ठले बताए । 
शुद्ध खानेपानीको अभाव झेलिरहेका यस क्षेत्रका स्थानीय अहिले खोला तथा कुवाको पानी खाँदा बिरामी पर्न थालेका छन् । पिउने पानीको अभाव भएको छ । खाना बनाउने खाने तथा सरसफाइ गर्ने र पशु चौपायलाई पनि त्यही पानी खुवाउने गरिएको छ । 

‘पानी फोहर भएका कारण स्वास्थ्य समस्या देखा पर्न थालेको छ,’ स्थानीय श्रेष्ठले भने,’ ‘अहिले तलबाट खानेपानी निकालेका छौँ, मोटरबाट तानेर त्यही खाने गरेका छौँ ।’ गाउँमा दुई ठाउँमा विद्युतीय मोटरबाट खानेपानी निकाल्ने गरेकोमा त्यसबाट बिहान २ घण्टा र बेलुका २ घण्टा पानी आउने उनले सुनाए । कहिलेकाही त्यो पनि ब्रिगिँदा पानीको हाहाकार हुने गरेको उनले सुनाए । 

ठोरी गाउँपालिका–३ सिकारीवासका बासिन्दा पनि खानेपानीका लागि चार किलोमिटर दूरी तय गर्न बाध्य छन्  । सिकारीवासमा ४५ घरपरिवार छन्, स्थानीय तह गठन भएको करिब चार वर्ष बितिसक्दा पनि उनीहरुले स्वच्छ खानेपानी पाएका छैनन् । सिकारीवासका महिला, तथा बालबालिका वीरगन्ज–ठोरी सडकखण्डदेखि करिब पाँच किलोमिटर टाढा चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्रको कुलोको पानी पिउन बाध्य छन् । 



स्थानीयका अनुसार उनीहरु गाउँभन्दा चार किलोमिटर टाढा चिलमेररा खोलाबाट कुलो बनाई गाउँसम्म ल्याएको पानी पिउन बाध्य छन् । पर्सा र चितवन राष्ट्रिय निकुञ्जको बीचमा सिकारीवास बस्ती पर्छ । खोलाबाट कुलो बनाएर ल्याएको पानीमा जीवजन्तु र पशुपक्षी पनि आश्रित छन् । तराईमा खानेपानी अभाव भन्ने सुन्दा अचम्म लागे पनि सो क्षेत्रमा खानेपानी समस्या पुरानै रहेको छ । 

खानेपानीको अभाव भएपछि स्थानीयबासी दुई घण्टा पैदल हिँडेर पानी भर्न जाने गरेको स्थानीयबासी राहुल लामाले गुनासो गरे । खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरबाहीका कारण ग्रामीण क्षेत्रमा खानेपानीको अभाव भएको लामाको छ । बिरामी र स्वास्थ्यकर्मीलाई पानी चाहियो भने गाउँमा गएर ल्याउनुपर्ने अवस्था रहेको लामाले बताए । उनले भने, ‘पानीको निकै अभाव छ । विद्यालयमा बालबालिकाले पिउने पानी पाएका छैनन् । स्कुलमा पढ्न आउँदा घरबाटै पानी बोकेर ल्याउनुपर्छ ।’



स्थानीय तह निर्वाचनअघि सबै राजनीतिक दलले स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । तर, स्वच्छ पानी पिउन पाउने अधिकारबाट अहिलेसम्म वञ्चित पारिएको छ । सामान्य अवस्थामा कुलोको पानी हेर्दा सफा देखिन्छ र सोही पानी पिउनका लागि पनि प्रयोग गरिन्छ । तर, वर्षायाममा सो पानी पिउन नसकिने गरी धमिलो हुने गरेकोले यहाँका बासिन्दा एक घण्टा लामो दूरी तय गरी पानी ल्याउन बाध्य छन् ।   

ठोरी गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठ जिल्लाको खानेपानीको अवस्थालाई सहज गरी ग्रामीण क्षेत्रमा पहुँच पुर्याउन आफू प्रतिबद्ध रहेको बताउँछन् । ‘पानी अभाव नहुने गरी योजना बन्दै छ । हाल सबै ठाउँमा पानीको अभाव भएको छैन । केही गाउँमा मात्र पानीको समस्या देखिएको हो,’ उनले भने,’‘अब छिटो पानीको समस्यालाई अन्त्य गर्नेछु ।’ 

पालिकामा एउटा खानेपानी ट्यांकर छ । वडा नं ४ विजयबस्तीमा रहेको ट्यांकरले सो वडा पनि थेग्न सक्दैन । यो समस्या आजको होइन, तर अहिलेसम्म समाधान भएको छैन । पर्सामा ८० प्रतिशत खानेपानीको पहुँच पुगेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले तथ्यांकमा देखाएको छ । 

खानेपानीका ट्यांकी उपयोगविहीन

जिल्लामा स्वच्छ खानेपानी आपूर्तिको लागि बनाइएका करोडौँका संरचना उपयोगविहीन बनेका छन् । एक महानगरपलिका, तीन नगरपालिका र नौ गाउँपालिका रहेको पर्सामा वीरगन्जबाहेक सबै ठाउँका खानेपानीका ट्यांकी उपयोगविहीन छन् । स्थानीय तह, उपभोक्ता समिति र खानोजानी तथा सरसफाइ डिभिजन कार्यालयको लापरबाहीले ट्यांकी प्रयोगमा आउन सकेको छैन ।
पर्सामा खानेपानी आपूर्तिका लागि करोडौँ लगानीमा बनेका १२ वटा खानेपानीका ट्यांकी उपयोगविहीन बनेका छन् । 
पानीट्यांकी निर्माण सम्पन्न भएको २० वर्षसम्म सञ्चालनमा छैन । उपभोक्ता समिति र उपभोक्ता दुवैको बेवास्ताले खानेपानीको ट्यांकी सञ्चालनमा आउन सकेको छैन । ट्यांकीबाट उपभोक्ताको घर–घरमा पानी आपूर्तिका लागि विछ्याइएका पाइप सडक फराकिलो पर्दा भत्केको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले उपभोक्ता समितिलाई हस्तान्तरण गरेको पानीट्यांकी सञ्चालनमा नआउँदा स्थानीय चापाकलको आर्सेनिकयुक्त पानी पिउन विवश रहेकोे स्थानीयहरु बताउँछन् । 

प्रतिट्यांकी निर्माणमा एक करोडसम्मको लागत परेको छ । यहाँका पोखरिया, भिषूवा, झौवागुठी, पकहमैनपर, बिन्दवासिनी, परशुरामपुर बहुअर्वाभाठामा खानेपानीको टंयाकी निर्माण भइसके पनि सञ्चालनमा छैनन । अझै पनि टंयाकी निर्माणको काम जारी नै छ । पर्सामा बनेका ओभर हेड टंयाकीको क्षमता १ लाख लिटर रहेको छ । जसबाट पाँच सय घरधुरी सम्मलाई स्वच्छ पिउने पानीको आपूर्ति हुन सक्छ । पानी आपूर्ति नभए पनि ०५० सालदेखि निर्माण भएका टंयाकीको मर्मत हरेक वर्ष भइरहेको छ । मर्मतसम्भारको शीर्षकमा राज्यको रकम खर्च भइरहेको छ भने ओच्छयाएका पाइपको नामोनिशान छैन । 

निर्माणसम्पन्न भएका खानेपानी ट्यांकी सञ्चालनमा नआउनुमा उपभोक्ता समिति नै मुख्य दोषी रहेको छ । उपभोक्ता समितिले चाहेमा पानी ट्यांकी निर्माणका लागि जुनसुकै दबाब दिएर भए पनि सम्पन्न गर्न सक्छन् । उपभोक्ता समितिका पदाधिकारीको गैरजिम्मेवारीकै कारणले खानेपानी सञ्चालनमा आउन नसकेको हो । तर, उपभोक्ता समितिको र स्थानीय तहको समन्वय नहुँदा समस्या भएको छ । 

उपभोक्ता समितिको चरम लापरबाही र अनियमिता देखिएको छ । राज्यको करोडौँ रुपैयाँ खर्च भएको छ । तर, त्यसको प्रतिफल उपभोग गर्नबाट नागरिक वञ्चित छन् । नागरिकको करबाट बनाइएका योजना सञ्चालनमा ल्याउन नपर्ने र त्यसको जवाफदेहितामा सरोकारवालाको उदासीनताले राज्यको करोडौँ खेर गइरहेको छ । 
 

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार २०:१४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया