प्रदेशले निःशुल्क वितरण गरेको साइकलमा विद्यालयले उठायो ढुवानी खर्च
​विनारसिद ३६ छात्रासँग प्रतिव्यक्ति ३ सय रुपैयाँ असुलेको गुनासो

महोत्तरीको एक विद्यालयले विद्यार्थीसँग अवैधानिक रुपमा रकम असुलेको पाइएको छ । जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर–९ पशुपतिनाथ बनरझुलास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूसँग अवैधानिक रुपमा रकम असुलेको हो ।

प्रदेश २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयहरुमा निःशुल्क रूपमा साइकल पाउनुपर्नेमा सो विद्यालयले ३६ जना छात्रासँग साइकल ढुवानी खर्च भन्दै प्रतिव्यक्ति ३ सय रुपैयाँ असुलेको छ । 

विद्यालयले त्यसबापत आफूहरुलाई कुनै रसिद नदिएको एक छात्राले बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतोले विद्यालयमा समय–समयमा आफ्नो मनोमानी गर्दै आएको स्थानीयको आरोप छ ।
 
यस सम्बन्धमा बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले उक्त विद्यालयको आर्थिक अवस्था कमजोर रहेकाले साइकल ढुवानी खर्चबापत रकम असुल गरेको हुनसक्ने बताए । उनले यसमा आफूले कुनै कारबाही गर्न नमिल्ने बताए । 

यस सम्बन्धमा विस्तृत बुझ्नका लागि विद्यालयका प्रधानाध्यापक हरिदेव महतोसँग पटक–पटक सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेन । 

यसअघि पनि सो विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कक्षा १० मा अध्ययनरत ४५ जना विद्यार्थीसँग विद्यालय विकास शुल्कको नाममा प्रतिव्यक्ति ४ सय ५० रुपैयाँका दरले रकम असुलेको पाइएको थियो । 





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १७:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया