किन बढे आर्थिक अपराधका मुद्दा ?

पछिल्लो समय आर्थिक अपराधका मुद्दाहरु बढिरहेका छन् । बैंक तथा वित्तीय क्षेत्र डिजिटल प्रणालीमा अगाडि बढेसँगै पछिल्ला वर्षहरुमा बैंकिङ कसुर तथा विभिन्न आर्थिक अपराधका मुद्दाहरु ह्वात्तै बढेका हुन् ।

वाणिज्य तथा आर्थिक मुद्दाहरुको सुनुवाइ गर्ने पुनरावेदन अदालत पाटनमा गठित वाणिज्य इजलासमा अहिले त्यस्ता २ सय ५० भन्दा बढी मुद्दा चलिरहेका छन् । पछिल्लो समय डिजिटल बैंकिङ प्रणलीको विकास भएसँगै बैंकिङ अपराधका मुद्दाहरु पनि उत्तिकै बढेका छन् ।  

उच्च अदालत पाटनले दिएको तथ्यांकअनुसार बैंकिङ कसुरमा अहिले १३४ वटा मुद्दा चलिरहेका छन् । तथ्यांकअनुसार बैंकिङ कसुरका मुद्दाहरुमा सबैभन्दा बढी पाँच वटा वाणिज्य बैंक मुछिएका छन् ।

नसिसी विकास बैंक, बैंक अफ काठमाडौं, महालक्ष्मी विकास बैंक, देव विकास बैंक र कृषि विकास बैंक र त्यहाँको कर्मचारीविरुद्ध बैंकिङ कसुरका मुद्दा दायर भएका छन् । उच्च अदालत पाटनका अनुसार यसबाहेक अन्य ५/५ वटा बैंकहरुले एटिएम ह्याकिङ ब्यहोर्नुपरेको छ ।  

बैंकिङ कसुरको मुद्दा परेका बैंकहरुमा कमसल धितो राखी ऋण प्रवाह गरेको, वित्तीय प्रणालीमा असर गरी रकम हिनामिना गरेको र एटिएम मेसिनबाट अनाधिकृत रुपमा निकालेका विषय छन् ।  

राजश्व हिनामिना



उच्च अदालत पाटनको वाणिज्य इजलासमा रहेका आर्थिक अपराधका मुद्दाहरु पनि उत्तिकै छन् । पुनरावेदन अदालत पाटनका अनुसार अहिले ११९ वटा मुद्दा चलिरहेका छन् ।  

आर्थिक वर्ष २०७६/०७७ मा राजश्व हिनामिनाका ७१ वटा मुद्दा अझैं फैसला हुन बाँकी छन् । सो आर्थिक वर्षमा दर्ता भएका ७४ मुद्दामध्ये ३ वटा मुद्दाको मात्रै टुंगो लागेको तथ्यांक छ । बाँकी मुद्दा गत आर्थिक वर्ष २०७७/२०७८ का लागि सारिएको थियो । गत आर्थिक वर्षमा थपिएका नयाँ ६० वटा मुद्दा गरी १३१ वटा भएका थिए । तीमध्ये जम्मा १३ वटा मात्रै किनारा लागेको उच्च अदालत पाटनले जनाएको छ । 



गत आर्थिक वर्ष बाँकी रहेका ११९ र चालू आर्थिक वर्षको पहिलो महिनामा दर्ता भएका दुईवटा गरी अहिले वाणिज्य इजलासमा ११९ वटा मुद्दा चलिरहेका छन् ।  
पछिल्ला वर्षहरुमा बैंकिङ कसुरका मुद्दा किन बढे त ? नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालको जवाफ छ, ‘कारण त विभिन्न होलान् । तर राष्ट्र बैंकले अब सतर्कता अपनाउनुपर्‍यो । नियमनमा कडाइ गर्नुपर्‍यो । हामी त्यही गर्छौं ।’

मानिसहरु कोरोना महामारीको चपेटामा पर्दा आयश्रोत घट्दा आर्थिक अपराधका मुद्दाहरु बढेको हुनसक्ने आँकलन पनि गरिएको छ । 
उच्च अदालत पाटनमा दर्ता भएका यीबाहेक अन्य अपराधका मुद्दाहरूमा ठगी, चोरी डकैती, कालोबजारी लगायतका छन् । यस्तै डिजिटल ठगी पनि पछिल्लो समय बढिरहेको देखिन्छ । 
 

  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १४:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया