राष्ट्रिय एकता अभियानद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेलगत्तै मुख्यमन्त्रीको राजीनामा माग गरिएको छ । 

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका हुन् । 

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विषयमा राष्ट्रिय एकता अभियानको ध्यानाकर्षण भएको जनाएका छन् । 

विज्ञप्तिमा संघीयतालाई धरापमा पार्ने किसिमले मुख्यमन्त्री राउतले प्रदेशको मन्त्रीहरूलाई पनि भ्रष्टाचार गर्न प्रेरित गरेको र आफू पनि भ्रष्टाचार गर्न लिप्त रहेको आरोप लगाइएको छ । 

‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारी केही कागजातहरू जफत हुनु यसलाई पुष्टि गर्दछ । प्रदेश सरकार भ्रष्ट रहेको कुरा राष्ट्रिय एकता अभियानले महिनौंदेखि उठाउँदै आएको सर्वविदित नै छ । यस्ता किसिमको गतिविधि गरी प्रदेश-२ का जनतालाई बदनाम र जनताको करबाट उठेको पैसाको दुरुपयोग भइरहेको राष्ट्रिय एकता अभियानको ठहर छ’,‘विज्ञप्तिमा भनिएको छ ।

अख्तियारले छानविन पूरा नगरेसम्म मुख्यमन्त्री राउतको राष्ट्रिय एकता अभियानले राजीनामा माग गरेको छ । राउतले राजीनामा दिई अख्तियारको छानबिनमा सहयोग गर्न अभियानले आग्रह गरेको छ । 



मुख्यमन्त्री राउतले राजीनामा नदिई अख्तियारको छानबिनमा अवरोध पुर्‍याए राष्ट्रिय एकता अभियान चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ। 
 
प्रदेश-२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमका लागि साइकल खरिद तथा वितरण कार्यमा अनियमितता गरेको विषयलाई लिएर बुधबार दिउँसो अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेकाे हाे ।



 

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १६:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया