नवराज लम्सालको ‘अग्नि’ बजारमा

साहित्यकार डा. नवराज लम्सालको नयाँ कृति सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनको पछिल्लो महाकाव्य ‘अग्नि’ सार्वजनिक गरिएको हो । 

राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयत्री डा गीता त्रिपाठीले संयुक्त रूपमा लम्सालको ‘अग्नि’ महाकाव्य सार्वजनिक गरेका हुन् ।

मुलुकको राजनीति र इतिहासमा पछि परेका सिमान्तकृत वर्ग समुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको सार्वजनिक महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरवारको चर्चा गरिएको छ ।

राज्यशक्तिको बलमा सीमान्तकृत समुदायलाई कसरी दमन गरिन्छ भन्ने कुरा यो महाकाव्यमा समेटिएको छ । महाकाव्यमा तत्कालीन समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको उक्त महाकाव्यमा समाज शुद्धीकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ ।

महाकाव्य सार्वजनिक कार्यक्रममा लेखक आहुतीले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भइहाल्छ भन्ने अवस्था नरहेको बताए ।

समालोचक डा. रामप्रसाद ज्ञवालीले युग विशेषमा सीमान्तकृत जाति, वर्ग समुदाय कसरी सामाजिक र सांस्कृतिक शोषणमा परे भन्ने विषयवस्तु काव्यका माध्यमबाट समाजमा सुसूचित गराउन साहित्यकार लम्साल सफल भएको धारणा व्यक्त गरे ।



कवयित्री त्रिपाठीले सीमान्तकृत समुदायको पीडा र भोगाइलाई गहिराइसम्म पुगेर तयार गरिएको महाकाव्यमा नेपाली समाज, संस्कृति र जातीय विभेद्सँग जोडिएका घटना मौलिक र स्वतन्त्ररुपमा राखिएको टिप्पणी गरिन् ।

कृतिकार लम्सालले जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरेको बताए । लम्सालका यसअघि कर्ण र धरा महाकाव्य प्रकाशित भइसकेका छन् । यो उनको तेस्रो महाकाव्य हो ।



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ८:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया